|

दमक (झापा) : स्थानीय तहहरू स्थानीय सरकारको रूपमा स्थापित भएपछि कतिपय आवश्यक कानुनी व्यवस्था पनि आफैँ तय गर्नुपर्ने जिम्मेवारी आएको छ।केही जिम्मेवारीलाई निर्वाह गर्ने क्रममा स्थानीय सरकारहरूले आफ्ना लागि आवश्यक कानुन, नीति तथा निर्देशिका आफैँ तयार पार्न थालेका पनि छन्। 

झापाको गौरादह नगरपालिकाले विभिन्न आवश्यक कानुन, कार्यविधिहरू तयार पारेको जनाएको छ। कार्यसम्पादन नियमावली, कार्यविभाजन नियमावली, बैठक सञ्चालन नियमावली र नगरसभा नियमावली निर्माण गरिसकेको नगर प्रमुख रोहितकुमार साहले जानकारी दिए। थप केही निर्देशिका तथा नियमावलीहरू समेत बनाउनुपर्ने भएकाले त्यसतर्फ पनि काम भइरहेको उनले बताए। ‘सवै नीति, नियमहरू एकै पटक बनाउन सम्भव भएन’, उनले भने, ‘कानुनविद्‌को समेत सल्लाह, सुझाव र संवैधानिक व्यवस्थाअनुसार आवश्यक अधिकारको उपयोगका लागि कानुनहरू बनाउँदै अघि बढेका छौँ।’

यसैगरी कमल गाउँपालिकाले पनि केही कानुनहरू निर्माण गरेर कार्यसम्पादन गरिरहेको जनाएको छ। गाउँपालिका उपाध्यक्ष बेनुप्रसाद शिवाकोटीले केही आवश्यक नीति नियमहरू बनाइएको र बाँकी थप निर्माण गर्नुपर्ने बताएका छन्। तत्कालीन लखनपुर गाविसका उपाध्यक्षसमेत रहेका शिवाकोटीले भने, ‘विगतमा स्थानीय निकाय सञ्चालन गरेजसरी मात्र यस पटक नहुने रहेछ, सरकारकै रूप भएकाले आवश्यक नीति, नियम र कानुन पनि बनाउन थालेका छौँ।’ 

स्थानीय सरकार सञ्चालनका लागि आवश्यक पर्ने केही कानुन निर्माण भए पनि सबै कानुनहरू अझै पनि निर्माण भइसकेका छैनन्। आफ्ना लागि आफैँ कानुन निर्माण गर्ने क्रम चलिरहेको उनको भनाइ छ। 

दमकले जारी गर्‍यो राजपत्र

झापाको दमक नगरपालिकाले भने विभिन्न कार्यविधि, निर्देशिका तयार गरी ‘स्थानीय राजपत्र’ प्रकाशनसमेत सुरु गरेको छ। 

स्थानीय सरकारको हैसियत प्राप्त गरेपछि नगरपालिकाले आफ्नो छुट्टै ‘दमक राजपत्र’ जारी गरेको हो। संविधानले स्थानीय तहका लागि व्यवस्था गरेको अधिकारको कार्यान्वयनका लागि केही कानुन, नियम, निर्देशिका, कार्यविधिलगायत समेटी स्थानीय राजपत्र प्रकाशन गरेको नगरपालिका प्रमुख रोमनाथ ओलीले जानकारी दिए। नगर कार्यपालिकाको २०७४ पुस २८ को बैठकले ‘स्थानीय राजपत्र प्रकाशन कार्यविधि, २०७४’ पारित गरेपछि राजपत्र प्रकाशन गरेको हो। प्रकाशित राजपत्रमा नगरपालिकाले पारित गरेका ६ वटा कार्यविधि, नियमावली तथा निर्देशिका पनि छन्। 

नगरपालिकाले ‘स्थानीय राजपत्र प्रकाशन कार्यविधि, २०७४’, ‘नगरसभा सञ्चालन कार्यविधि, २०७४’, ‘भूमि व्यवस्थापन नियमावली, २०७४’, ‘दमक विपद् व्यवस्थापन कोष निर्देशिका, २०७४’, ‘नगर कार्यपालिका (कार्यसम्पादन) नियमावली, २०७४’ र ‘नगर कार्यपालिका (कार्य विभाजन) नियमावली, २०७४’ राजपत्रमा जारी गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज दाहालले जानकारी दिए।

राजपत्रमा जारी भएको मितिदेखि कार्यविधि तथा नियमावली लागू भएको नगरपालिकाका उपप्रमुख तथा प्रवक्ता गीता अधिकारीले बताएकी छन्। ‘संविधानले तोकिदिएका अधिकारबारे स्थानीय तहले आफैँ कानुन बनाउने, आफैँले कार्यान्वयन गर्ने र आफैँले नियमन गर्नुपर्ने अवस्था छ’, प्रमुख ओलीले भने, ‘त्यसैले यी सबै जिम्मेवारीलाई व्यवस्थित रूपमा सम्पादनका लागि केही कानुन बनाई राजपत्रमा प्रकाशित गरेका हौँ, बाँकी केही निर्देशिका र कार्यविधि बनाउने क्रम पनि जारी छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.