|
File Photo

काठमाडौं : नेकपा माओवादी केन्द्रले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित ३ शीर्ष नेतालाई मन्त्री छान्ने जिम्मा दिएको छ। बिहीबार बसेको पार्टी केन्द्रीय कार्यालय सदस्यको बैठकले पार्टी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई मन्त्रीको टुंगो लगाउने जिम्मेवारी दिएको हो। 

दिउँसो ४ बजेदेखि पार्टी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको बैठक राती करिब ८ः३० बजे मात्र सकिएको थियो। मन्त्री छान्ने जिम्मा पाएका ३ शीर्ष नेताले छिट्टै मन्त्रीको टुंगो लगाउने गरी सहमति भएको केन्द्रीय कार्यालय सदस्य तिलक परियारले जानकारी दिए।

उनका अनुसार मन्त्रीका लागि केही मापदण्ड पनि बनेको छ। उनले भने, ‘मन्त्रालयको जिम्मा दिँदा सकेसम्म सातै प्रदेशकालाई समेट्ने निर्णय भएको छ’, उनले भने, ‘मन्त्रालयमा अनुभवी र पहिला मन्त्रालय सम्हाल्दा राम्रो कार्यसम्पादन गरेकालाई पनि पठाउने निर्णय भएको छ र नयाँलाई पनि अवसर दिने गरी निर्णय गर्न ३ नेतालाई जिम्मेवारी दिइएको छ।’ १८ मन्त्रालयमध्ये एमालेसँगको भागबन्डामा माओवादीले ७ मन्त्रालय पाएको छ।

पार्टी एकताका लागि भएको प्रारम्भिक आधारका बारेमा पार्टी अध्यक्ष प्रचण्डले ब्रिफिङ गरेको परियारले थाहाखबरलाई जानकारी दिए। उनले भने, ‘पार्टीको आन्तरिक बैठक थियो। यसमा अध्यक्षले एकताका लागि भएको संझौतामा भएका सैद्धान्तिक आधारहरूलाई ब्रिफिङ गर्नुभयो।’

यस्तै, पार्टीले ३ जना केन्द्रीय कार्यालय सदस्यलाई कारवाहीसमेत गरेको छ। पार्टीको निर्णयविपरीत कार्य गरेको भन्दै कार्यालय सदस्य लाेकेन्द्र विष्ट मगर, गोपाल किराती र विश्वभक्त दुलाल 'अाहुति'लाई पार्टीको साधरण सदस्यसमेत नरहने गरी निष्काशन गरेको कार्यालय सदस्य मणि थापाले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.