|

चितवन : चितवनको राप्ती र नारायणी नदीमा अति संकटापन्न अवस्थामा रहेका घडियाल गोहीको शुक्रबारबाट गणना हुने भएको छ। नदीलाई ११ भाग लगाएर गणना गर्न लागिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिस्ट लक्ष्मण पौडेलले जानकारी दिए।

गणनाका लागि ११ टोली परिचालन गरिनेछ। राप्ती नदीमा तीन समूह र नारायणी नदीमा ८ समूह गणनामा खटिनेछन्। समूहमा कम्तीमा ४ जना सहभागी हुनेछन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा राष्ट्रिय प्रकृति संरक्षण कोष, र जुअलोजिकल सोसाइटी अफ लण्डन तथा हिमालयन नेचरको सहकार्यमा गोही गणना हुन लागेको हो। 

गोही छुट्न सक्ने भएकाले दोहोर्‍याएर तीन दिनसम्म गणकहरु नदीमा खटिने जनाइएको छ। गणनामा राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक सहयोग रहने चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए।

गत साउनमा आएको बाढीले वन्यजन्तु र जलक्षेत्रमा बस्ने जलचर, उभयचरको बासस्थान प्रभावित बनाएको, बगेर भारत पुगेको र कतिपय मरेको समेत पाइएकाले यस पटकको गणनाले गोहीको वास्तविक अवस्था पत्ता लाग्ने राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत सन्तोष भट्टराईले बताए।

डुंगामा जाने गणकहरुले आँखाले हेरेर नै गोही गणना गर्नेछन्। यो समयमा अधिकांश गोही घाम ताप्न बाहिर निस्कने गर्छन्। गणनाका क्रममा गोहीको बच्चा, वयस्क र अर्धवयस्क कति छन् भन्नेसमेत मूल्यांकन गरिनेछ। 

चितवन राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख वेदबहादुर खड्काका अनुसार चितवनको राप्ती र नारायणी नदीमा १६६ वटा गोही छन्। सन् २०१६ को गणना अनुसार बर्दियाको बबई नदीमा ३१ र कर्णालीमा १ गरी नेपालमा १९८ गोही छन्। 
 
प्राकृतिक बासस्थानमा गोही लोप हुँदै गएका कारण चितवनमा गोही प्रजनन् केन्द्र स्थापना गरी  गोहीलाई हुर्काएर नदीमा छाड्ने गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.