|

काठमाडौं : संविधान संशोधनसहित आफ्ना चारबुँदे माग पूरा गरे आफू एमाले नेतृत्वको सरकारमा सहभागी हुन तयार रहेको संघीय फोरमले जनाएको छ। एमालेले उसलाई सरकारमा सहभागी हुन आग्रह गरेपछि फोरमले चारबुँदे मागका शर्त अघि सारेको हो।

स्रोतले दिएको जानकारीअनुसार फोरमले एमालेलाई दिएको चारबुँदे प्रस्तावमा तत्कालीन सरकारसँग ०६४ भदौ १३ मा भएको २२ बुँदे सम्झौता कार्यान्वयन, संविधानको धारा २७४ को उपधारा ७ मा संशोधन, संघीय सीमांकन आयोग गठनसम्बन्धी उपधारा थप गर्ने र प्रदेश २ को सरकारमा एमाले सहभागी हुनुपर्ने छन्। ‘हाम्रा माग पूरा भए सरकारमा संघीय फोरम सहभागी हुन्छ’, स्रोतले जानकारी दिएको छ।

एमालेले बुधबार फोरमलाई आधिकारिक रूपमा सरकारमा सामेल हुन आग्रह गरेको थियो। बुधबारको छलफलमा एक दुई दिनभित्रै शीर्ष तहमा बैठक गरी एउटा कार्यदलबाट संविधान संशोधनको गृहकार्य गर्ने अनौपचारिक सहमति भए पनि त्यसअनुसार काम नभएकोमा फोरम चिन्तित छ।

फोरमका महासचिव रामसहाय यादवले शीर्ष नेतृत्वसहित बैठक बसेर संविधान संशोधनको गृहकार्य अघि बढाउने भनेकोमा केही ढिलो भएको बताए। उनले भने, ‘दुई पार्टीका शीर्ष नेतृत्व र वार्ता कमिटीको बैठक छिट्टै बस्छ। संविधान संशोधन हुनेमा हामी आशावादी छौं।’
 

यी हुन् फोरमका चारबुँदे शर्त

१. ०६४ भदौ १३ गते भएको २२ बुँदे सम्झौताको कार्यान्वयन,

२. संविधानको धारा २७४ को उपधारा ७ मा संशोधन,

३. धारा २७४ मा नै उपधारा थप्दै संघीय सीमांकन आयोगको गठनसम्बन्धी प्रावधान राख्ने र

४. प्रदेश २ को सरकारमा एमाले पनि सहभागी हुनुपर्ने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.