|

भक्तपुर : भक्तपुरको तचपालस्थित दत्तात्रेय मन्दिरअगाडिको भीमसेन मन्दिरको नजिक भएर हिँड्ने बटुवाहरू अचेल लाजले निहुरिने गर्दछन्। विशेषतः युवतीहरू लाजले अनुहार रातो बनाई हिँड्छन्। किनकि, त्यहाँ रहेको पाटीमा तीन हात लम्बाइ र ३० इन्च गोलाइको काठको लिंगको प्रतीक प्रदर्शनमा राखिएको छ।

उक्त पाटीमा बसेर भीमसेन गुठीका गायजुहरूले नेवार भाषामा ‘भीमसेन देया लज्ज खङ लो वानला! बिस्यूवाने म्वायक सो झायला!’ अर्थात् ‘भीमसेनको लिंग देखेर लोभियो कि! भाग्नु नपर्ने गरी हेर्न आउनुभयो कि!’ बोलको श्रृङ्गारिक रसका गीत गाउँछन्।

उक्त लिंगको प्रतीक फागुपर्वको शुरु भएको जनाउ दिन काठमाडौंको वसन्तपुरमा चीर स्वायगु (चीर गाडे)सँगै भक्तपुरको तचपालस्थित दत्तात्रय मन्दिर अगाडिको भीमसेन मन्दिरको पाटीमा फागुन शुक्ल अष्टमीदेखि प्रदर्शनमा राखिन्छ। लिंगसँगै यौन समागमनको दृश्य झल्कनेगरी रातो कपडाको बीचमा प्वाल पारी काठको लिंग छिराइन्छ। झुन्ड्याइएको लिंगको प्रतीक हल्लाउँदा कपडाको प्वालभित्र छिर्ने गर्दछ। यसलाई भीमसेन र द्रौपदीको यौन समागमको रुपमा लिइन्छ।

काठमाडौंको हनुमानढोकास्थित वसन्तपुरमा रंगी विरंगी कपडाहरूको ध्वजासहित तीन खण्डे चीर ठड्याइएर फागुपर्व शुरु भएको जनाउ दिने गर्दछ भने भक्तपुरमा भने तचपालमा काठको लिंगको प्रतीक प्रदर्शनमा राखेर चीर स्वायगु गरिन्छ। अन्य समयमा मन्दिरभित्र राखिने उक्त काठलाई फागुपर्वको अवसरमा सात दिन प्रदर्शन गर्ने प्रचलन रहेको संस्कृतिकर्मी हरिशरण राजोपाध्यायले बताए।

‘पहिला पहिला लिंगको प्रतीक एउटा काठको मुढा मात्र राख्ने परम्परा थियो। पछि यस्तो प्रर्दशनमा ल्याइएको हो।’ संस्कृतीकर्मी राजोपाध्यायले बताए।

वसन्त ऋतुको आगमनसँगै फागुपर्वलाई भक्तपुरमा सृष्टिलाई अभिप्रेरित गर्ने पर्वको रुपमा मनाइन्छ। यो समय कामदेव आफैं सक्रिय हुने भएकाले सृष्टिका लागि मानव जीवनमा यो अति उपयुक्त समय हो भन्ने मुख्य सन्देश यसले दिएको उनको भनाइ रहेको छ।

राजोपाध्य चीर गाड्ने कार्यलाई शिवशक्ति मिलनको रुपमा लिनुपर्ने बताउँछन्। ‘महादेवको ११औं अवतारमध्ये भीमसेन पनि एउटा रुप हो। त्यस अर्थमा यो प्रदर्शनी  महादेव र पार्वतीको प्रतीकका रुपमा पनि लिन सकिन्छ।’ उनले भने, ‘काठमाडौंमा विभिन्न रंगिन कपडाहरूसहित चीर ठड्याइन्छ, जुन यहाँकोसँग मिले पनि गोप्य छ। तर, भक्तपुरमा भने खुलारूपले प्रदर्शन गरिन्छ।’

काठको लिंगको प्रतीकलाई प्रदर्शनमा राख्नअघि दुई जनाले काँधमा बोकेर इनाचो, बाचुटोल, जेँला, जगाती, ब्रह्मायणी, च्यामासिंह हुँदै तचपालस्थित दत्तात्रय मन्दिर वरिपरि रहेको घर र पसलहरूमा घुमाउने परम्परा छ। घर र पसलमा घुमाउन ल्याएको लिंगको पूजाअर्चना गरी दर्शन गर्नाले व्यापार व्यवसायमा उन्नति हुने विश्वास रहेको छ। त्यसैले प्रदर्शनीमा राखिएको लिंगको दर्शनका लागि फागु पुर्णिमासम्म भक्तजनको घुइँचो लाग्ने गर्दछ।

फागुपूर्णिमाको साँझ लिंग आकारको उक्त काठलाई एकजनाले बोकेर ब्रह्मायणी मन्दिरस्थित खोलामा पखाली पुनः मन्दिरमा राखिन्छ। यसपछि फागुपर्व सम्पन्न हुने परम्परा छ। उक्त काठ बोक्ने व्यक्तिको छोरा जन्मन्छ भन्ने विश्वास छ।

यो परम्परा कहिलेदेखि सुरु भएको हो भन्ने यकिन मिति फेला परेको छैन। यद्यपि, भीमसेनको मन्दिर राजा जगतप्रकाश मल्लले १७औं शताब्दीमा निर्माण गरेको इतिहासमा उल्लेख भएकाले यो चलन पनि सोही समयदेखि सुरु भएको भन्ने अनुमान रहेका छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.