|

डडेल्धुरा : पर्यटकीय दृष्टिकोणले प्रदेश ७ को महत्त्वपूर्ण र प्रचुर सम्भावना बोकेको ‘आलिताल संरक्षण र संवर्द्धन गर्न नसक्दा ओझेलमा परेको छ। डडेल्धुराको भित्री मधेस आलिताल गाउँपालिका- ३ मा रहेको आलिताल सम्बन्धित निकायले संरक्षण र संवर्द्धन गर्नमा ध्यान नदिँदा ओझेलमा परेको हो।

समुद्री सतहबाट करिब ८०० मिटर उचाइमा महाभारत पर्वत शृंखलाको फेदमा रहेको ताललाई व्यवस्थित गर्न सके पर्यटकहरूको संख्या बढाउन सकिने भए तापनि कुनै निकायले पहल नगर्दा अहिले ताल ओझेलमा रहेको स्थानीयको गुनासो छ। 

एक हजार १७५ मिटर लम्बाइ तथा करिब ४०० मिटर चौडाइ रहेको ताल महाभारतको चुरेबाट विभिन्न फोहोर पदार्थ जम्मा हुँदै गएपछि अहिले साँघुरिँदै गएको छ। तालको वरिपरि बिरुवा उम्रनुका साथै फोहोर वस्तु थुपारिँदै गएको छ।

धार्मिक एतिहासिक र पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण मानिने यस तालसम्म पुग्ने सडकसमेत अधुरै अवस्थामा छ। सुन्दर यस ताललाई चुरेका डाँडाले घेरेको छ। यस तालको परिपरि सुन्दर हरियाली वनले ढाकेको छ। डडेल्धुरा जिल्ला सदरमुकामबाट यो तालसम्म पुग्न गाडीमा करिब तीनदिख चार घण्टा लाग्छ।

यस्तो छ तालको इतिहास 
करिब चार पाँच दशक पहिले यो ताल भएको ठाउँमा डेढ दर्जन परिवारको बस्ती थियो। एक दिन त्यस गाउँमा बसोवास गर्ने एक जना विवाहित महिलाले सपना देखिन्। सपनामा एउटा ठूलो राँगो ठाउकोमा दियो बालेर आएको थियो। 

महिलालाई सपनामा आएको राँगोले यस ठाउँमा भोलि पानी पर्ने र हावाहुरी पनि आउने अनि यस क्षेत्रमा ठूलो तालाउ हुने भएकाले यस क्षेत्रबाट अरू ठाउँमा बसाइँ सर्न भनेको थियो रे१ नत्र ठूलो विपद् आउने राँगोले भनेछ।

त्यसको ठीक दोस्रो दिन जुन महिलाले सपना देखेकी हुन्, उनकै घरमा रोपाइँ रहेछ। बिहान उज्यालो भएसँगै ती महिलाले राती आफूले देखेको सपना आफ्नो घरपरिवारलाई सुनाइन्।

घरका सबै सदस्यहरूले उनले देखेको सपना सुनेछन् तर यो सपना सही नभएको र यो सरासर झूटो सपना भएको भन्दै महिलालाई गाली गर्न थालेछन्। ‘तिमी खाना पकाउनु हामी भने खेतमा रोपाइँ गर्न जान्छौँ’ भनेर घरका सदस्यहरूका साथै गाउँलेहरू पनि गोरु, हलो, कुटो, कोदालो लिएर खेततिर रोपाइँ गर्न गएछन्।

ती महिला खाना पकाउनका लागि घरमै बसिछन् र उनी खान पकाउन लागिछन्। घरका परिवार र छिमेकी गाउँलेहरू रोपाइँ गर्न खेततिर व्यस्त थिए। मध्याह्नको समयमा उक्त घरमा भएकी महिला खेतमा रोपाइँ गरिरहेका मनिसको दिउँसो खाना लगेर खेतमा जाने बेला ठूलो हावा र आकाशबाट पानी पर्न सुरु भएछ। 

महिलाले खाना पुर्‍याउन खेत नजिकै पुग्ने बेला सपनामा देखेको राँगो जस्तै ठूलो राँगो विपनामै देखिछन्। त्यसपछि ती महिला त्यही ठाउँमा ढलिछन् र क्रमश: त्यो क्षेत्रमा पूरै पानी नै पानी भएछ। रोपाइँ गर्न खेतमा गएका सबै मान्छे, गोरु, घर सबै पानीमा डुबेर तालमा परिणत भएको बुढापाकाले भन्ने गरेका छन्।

‘आलितालमा तीर्थयात्रीहरू पनि आउने गर्थे। यस तालमा आएका व्यक्तिहरूले भोक लागेपछि जे खाने विचार छ, सो कुरा मनमा सोचेमा त्यो खाने कुरा तालको किनारमा आउने गर्थ्यो रे! यदि त्यो समयमा तपाईंले खानका लागि खिर, सेलरोटी जुन तपाईंलाई खान मन लागेको छ, त्यो खानेकुरा तालको किनारमा आफैँ पाकेर आउँथ्यो रे! आलिताल गाउँपालिका- ७ का वृद्ध मोहन पार्कीले भने। 

‘मागेको कुरा खाइसकेपछि भने त्यो खाएको भाँडोलाई सफा गरी धोएर मात्र तालमा डुबाउनुपर्ने थियो रे१ एक दिन एक जना ऋषिले खिर खाएछन् र खाएको खिरको ताउलो सफा नगरी नै तालमा राखिदिएछन्। 'त्यस दिनबाट यस तालमा सोचेको खानेकुरा पाकेर आउन छोडेको हो भन्ने हामीले पनि सुनेको हो’, उनले भने।

तालबारे यसो भन्छन् स्थानीय
आलितालबारे प्रचार प्रसार हुन नसक्दा आन्तरिक र बाह्य पर्यटक त्यहाँ पुग्न सकेका छैनन्। थुप्रै सम्भावना बोकेको यस ताललाई प्रचार तथा संरक्षण गर्न नसकिएको आलिताल गाउँपालिका- ८ का रामदत्त जोशीले गुनासो गरे।

‘धेरै पर्यटक आउने सम्भावना रहेको यस ताललाई राज्य तथा स्थानीय निकायले ध्यान दिने हो भने आलितालवासीको आम्दानीमा वृद्धि हुन्थ्यो’, उनले भने, ‘हाम्रो घ्यु, मह बेचिने थियो, हाम्रो होटलहरूको व्यापार बढ्थ्यो होला।’ 

स्थानीय र सरोकारवाला निकायले तालको संरक्षणमा ध्यान नदिएकै कारण आलिताल ओझेलमा परेको उनको भनाइ छ। तालको संरक्षणका लागि जनप्रतिनिधिहरूले विशेष ध्यान दिनुपर्नेमा उनको जोड छ।

जिल्लाको साविकको आलिताल गाविसको र हालको आलिताल गाउँपालिकाको गोदाम बजारबाट तीन किलोमिटर टाढा रहेको यस ताललाई व्यवस्थित गरी प्रचार प्रसार गर्ने हो भने पर्यटकबाट निकै आम्दानी बढाउन सकिने स्थानीय सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक भानबहादुर सुनार बताउँछन्।

पर्यटन वर्ष २०११ मा आलिताल पर्यटन विकास समाज गठन गरिएको भए पनि हाल आएर भने बोर्ड बोर्डमै सीमित रहेको र ताल विकासका लागि कुनै ठोस योजना नबनाएको स्थानीयवासीको आरोप छ। सम्बन्धित निकायले तालको उचित संरक्षणका लागि चासो नदेखाउँदा तालले पर्यटकको ध्यान तान्न नसकेको हो। 

ताल अवलोकन गर्न आउने पर्यटकको संख्या न्यून
ताल अवलोकन गर्ने पर्यटकको संख्या न्यून रहेको छ। भित्री मधेस क्षेत्रका विद्यालयहरूका विद्यार्थी वनभोजका लागि मात्रै आउने गरेका छन्। अवलोकन गर्ने वस्तु नहुँदा अवलोकन गर्ने पर्यटकको संख्या न्यून रहेको स्थानीय बताउँछन्।

तालको गाउँपालिका तथा पर्यटन विकास बोर्डले खासै चासो नदेखाएका कारण यसको प्रचार प्रसार हुन नसकेको स्थानीयले आरोप लगाएका छन्। 

एक घन्टाभन्दा बढी पैदल हिँडेर ताल पुगेका मोरङका अशोक राई ताल पुरिने अवस्थामा रहेको बताउँछन्। ‘ताल राम्रो छ तर जति राम्रो हुनुपर्थ्यो, त्यति भएको छैन’, अशोक भन्छन्, ‘जुन आशा बोकेर म यहाँ आएको थिएँ, त्यो पाइनँ। यसलाई संरक्षण तथा व्यवस्थापन गर्न जरुरी छ।’ आलिताल भ्रमण गर्न आएका उनले अब अर्को पटक आउँदा तालमा सरकोकारवाला निकायको ध्यान गई अझ राम्रो भएको आफूले हेर्न चाहेको बताए।

के भन्छन् आलिताल गाउँपालिकाका जनप्रतिनिधिरू?
आलिताल गाउँपालिकाका अध्यक्ष बलबहादुर गुरुङ स्थानीय निकायको संरचना बनिसकेपछि आलिताललाई संरक्षण गर्न योजना बनाइएको बताउँछन्। ‘प्रदेश ७ को यो ताल क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाएर यस वर्षभित्रै अगाडि बढ्ने निर्णय गरेका छौँ’, उनले भने, ‘राष्ट्रपति चुरे संरक्षण कार्यक्रमसँग समन्वय गरी तालको चारैतिर फुटपाथ बनाउने योजना रहेको छ।’ 

उनले तालको सररफाई गरेर देवी देवताको मन्दिर निर्माण गरी ‘पिकनिक स्पोट’ निर्माण गर्ने बताए। तालको आसपासमा रहेका मगर बस्तीलाई ‘होम स्टे’ बनाउन पहल गरिने अध्यक्ष गुरुङको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.