|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भदौ ३० गतेदेखि हुने आफ्नो भारत भ्रमणको विषयमा छलफल गर्न मंगलबार सर्वदलीय बैठक बोलाए।बालुवाटारमा पूर्व प्रधानमन्त्रीहरुसँगको छलफल सकिएपछि दिउँसो पौने १२ बजे सर्वदलीय बैठक सुरु भयो।

करिब दुई घण्टा चलेको छलफलको केही समयमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बाहिरिए। संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राई भने सबैभन्दा अन्तिममा। 

बैठक शुरु भएको ४५ मिनेटपछि अर्थात साढे १२ बजे राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बैठकस्थलबाट बाहिरिए। पत्रकारले उनीमाथि क्यामेरा तेर्स्याउने बित्तिकै बैठक जारी भएको जानकारी दिएका केसीले भारतसँगको चिसिएको सम्बन्ध तातो बनाएर आउन सुझाव दिएको बताए।

‘भारतसँग सम्बन्ध चिसियो भन्ने कुरा छ, त्यसलाई तातो बनाएर आउन सुझाव दिएँ, अनि योजना सम्झौता मात्रै गर्ने तर १४/१५ वर्षसम्म पनि कार्यान्वयन नहुने सम्झौता गर्नुभन्दा पहिलेकै योजना कार्यान्वयनमा जोड दिन आग्रह र सुझाव दिएको छु’ उनले भने। 

केसी बाहिरिएको ठीक १० मिनेटमा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो बैठकस्थलबाट बाहिरिए। प्रधानमन्त्रीज्यूलाई तपाईले के सुझाव दिनुभयो? पत्रकारको प्रश्नमा महतोले जवाफ दिए, ‘मैले सुझाव दिइनँ, संविधान संशोधन कहिले हुन्छ भनेर प्रश्न सोधे ?’

प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणअघि नै संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता हुने वचन दिएको हुनाले त्यसमा के प्रगति के भयो? भन्ने प्रश्न आफूले प्रधानमन्त्री समक्ष राखेको महतोले बताए। ‘प्रधानमन्त्रीको भारत भ्रमण र संविधान संशोधनको कुनै सम्बन्ध छैन, तर प्रधानमन्त्रीज्यूले भारत भ्रमण अघि नै संविधान संशोधनको प्रस्ताव दर्ता हुने भन्नुभएको थियो, मैले त्यसको प्रगतिबारे जवाफ मागेको छु’ महतोले भने। महतोको प्रश्नपछि प्रधानमन्त्रीले बुधबार दिउँसो १ बजे मधेसी मोर्चासहितको बैठक बोलाउने जानकारी दिएका थिए। 

महतोपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पनि कानमा मोबाइल हाल्दै बैठकबाट बाहिरिए। पत्रकारमाझ आएर उनले एमालेको तर्फबाट यसअघि बुझाएको ज्ञापनपत्रबारे थप ध्यानाकर्षण गराएको बताए। नेपाल भारतबीचको सम्बन्धमा आएको चिसोपना हटाउने र राष्ट्रको हित अनुकुल सम्झौता गर्न आफूले सुझाएको नेता नेपालले जानकारी दिए। ‘नेपाल भारतबीच कहिँ कतै समस्या छ भने समाधान गर्नुपर्‍यो र त्यसरी समाधान गर्दा नेपालको राष्ट्रिय हित, स्वतन्त्रता र सार्वभौमिकतालाई ध्यानमा राख्न जरुरी छ भन्ने कुरा मैले बैठकमा राखे’ नेपालले भने। 

नेपालपछि बैठकस्थलबाट बाहिरिएका नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले प्रधानमन्त्रीको भारत भ्रमणको कुनै नयाँ एजेण्डा नभएकोले आफू बैठक सकिनुअघि नै निस्किएको बताए। ‘भ्रमणको कुनै नयाँ एजेण्डा नभएको कुरा प्रधानमन्त्रीज्यूले राख्नुभयो, अनि तराई क्षेत्रको समेत विकास हुने गरी भ्रमणमा विकासका पुरानै एजेण्डाका बारेमा छलफल गर्न सुझाए।’ उनले भने। 

झापछि भने अरु कुनै नेता बैठकबाट बाहिरिएनन्। बैठक सकिएपछि एकै पटक सबै नेताहरु बाहिरिए। त्यतिकैमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बाहिर निस्किए। ‘प्रधानमन्त्री ज्यू के कस्तो सुझाव पाउनुभयो, जानकारी गराउनुस् न?’ पत्रकारको प्रश्नमा भुईमा खस्न नपाउँदै गाडीभित्र चढेका प्रधानमन्त्री प्रचण्डले जवाफ दिए, ‘अरु साथीहरुले भन्नुहुन्छ।’

र अन्त्यमा,

प्रधानमन्त्रीले केही नबताएपछि पत्रकारले संघीय समाजवादी फोरमका नेता अशोक राईसँग बैठकबारे जिज्ञासा राखे। उनले आफूले प्रधानमन्त्रीको भ्रमण सफलताको शुभकामना व्यक्त गरेको बताउँदै नेपाल भारत सम्बन्धमा विश्वासको आधार तयार गर्न सुझाएको बताए।

‘नेपाल–भारतबीचमा कुनै किसिमको असमझदारी नरहुन्। विश्वासको आधार तयार भयो भने विकास लगायत अन्य सहयोगहरु अघि बढाउन सकिन्छ भन्ने हिसाबले हामीले सुझाव दियौं’ उनले भने। सबैको सुझावपछि प्रधानमन्त्री प्रचण्डले सबैलाई धन्यवाद दिनुका साथै सबैको शुभकामनाका साथ आफू भारत भ्रमणमा जान लागेको बताएको राईले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.