|

दार्चुला : दुहुँ गाउँपालिकाको केन्द्र सार्ने माग सम्बोधन नभएपछि गाउँपालिकाका तीनवटा वडाकार्यालयमा ताला लगाइएको छ। केन्द्र निर्धारण संघर्ष समितिले म‍ंगलबार दुहुँ गाउँपालिका केन्द्र सबै वडालाई पायक पर्ने ठाउँमा नभएकाले केन्द्रमा  सार्न गरेको माग सम्बोधन नभएको भन्दै वडा नम्बर ३, ४ र ५ का वडा कार्यालयमा ताला लगाइएको हो।

वडा नम्बर ३ का वडाध्यक्ष लालबहादुर बमको अध्यक्षतामा रहेको संघर्ष समितिले गत फागनु १५ गते यो विषयमा गाउँपालिका केन्द्रमा ७ दिने अल्टिमेटमसहित गाउँपालिकाको केन्द्र मध्यभागमा पार्ने गरी निर्णय गर्न गाउँपालिका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीलाई ज्ञापन बुझाएको थियो। सो मागलाई दोहोर्याउँदै समितिले फागुन १८ गते जिल्ला समन्वय समितिको कार्यालय र जिल्ला प्रशासन कार्यालयमा पनि ज्ञापन बुझाएका थियो। संघर्ष समितिका अध्यक्ष लालबहादुर बमले भने, ‘सबै ठाउँमा भन्दा पनि केन्द्र मध्यभागमा सार्ने बारेमा कुनै पहल भएन। बाध्य भएर तालबन्दी गर्नु पर्‍यो।’ 

गाउँपालिकाको केन्द्र अहिले सञ्चालन भएको ठाउँमा रहँदा वडा नम्बर ४ र ५ का स्थानीयलाई निक्कै टाढा पर्ने भन्दै गाउँपालिकाको केन्द्र साबिकको धारी गाविसको धारीपाटामा कायम गर्न तीनवटै वडाका वडाध्यक्षसहितको संघर्ष समितिले संघर्ष गरिरहेको छ। दुहूँ पालिकाको भदौ २५ गते बसेको विशेष सभाले पहिलो निर्णय गर्दै पालिकाको केन्द्र वडा नम्बर २ को सिलिङचौरा वा वडा नम्बर ५ चल्लेगडामा स्थापना गरी दुवै स्थानहरूमा उपयुक्तताको आधारमा गाउँपालिका केन्द्र र विषयगत कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो। 

गाउँपालिका आफैले गरेको निर्णय कार्यान्वय नगरी मनपरी रुपमा केन्द्र सञ्चालन गरेको संघर्ष समितिका सदस्य देवबहादुर बमले बताए। भदौदेखि अहिलेसम्म केन्द्र उपयुक्त ठाउँमा सार्छन् कि भनेर चुप लागेका थियौँ।  तर पालिकाले यस बारेमा कुनै प्रक्रिया अगाडि नबढाउँदा बाध्य भएर आन्दोलन गर्नु परेको संघर्ष समितिका सचिव मनोरथ भट्टले बताए।

गाउँपालिका अध्यक्षले आफ्नै वडामा गाउँपालिका केन्द्र राख्न चाहेकाले केन्द्रको विवाद चुलिएको गाउँपालिका कार्यालय स्रोतको दाबी छ। अहिले दुहुँ पालिकाको केन्द्र वडा नम्बर २ बाट सञ्चालित छ। यो वडा अध्यक्ष कार्कीको आफ्नै वडा पनि हो।

दुहुँपालिकामा जम्मा ५ वडा रहेका छन्। तीन वटा वडामा ताला लागेपछि वडा नम्बर १ र २ को कार्यायल मात्रै सञ्चालन गरिएका छन्। केन्द्र सार्ने बारेमा उठाइएको आन्दोलन असमयमा गरिएको टिप्पणी गर्दै गाउँपालिका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीले अर्को गाउँ सभाले मात्रै यस सम्बन्धी निर्णय गर्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.