|

हेटौंडा : प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले निर्यातमुखी व्यवसायका लागि कानुन बनाएर विदेशी लगानी भित्र्याउन सकिने बताएका छन्। नेपालले व्यावसायका लागि अधिकांश कच्चा पदार्थ आयात गर्नुपर्ने समस्या रहेको भन्दै मुख्यमन्त्री पौडेलले नेपालमै उत्पादन गरिएका सामग्रीहरू अरू देशमा निर्यात गर्न सक्ने व्यावसायिक कम्पनीहरूलाई लगानीमैत्री वातावरण निर्माण गर्न प्रदेश सरकार तयार रहेको बताएका हुन्। 

बुधबार मुख्यमन्त्रीको कार्यालय हेटौँडामा कृषि तथा पशु क्षेत्रमा विभिन्न सामग्री उत्पादन गर्दै आएको जापानी कम्पनी अप्लाइड नेचुरल प्रोडक्सन कम्पनीका अध्यक्ष जोइची हट्टासँगको भेटमा मुख्यमन्त्री पौडेलले लगानीको वातावरण निर्माणका लागि आफूहरू सकारात्मक रहेको बताए। 

जापानमा विगत १०० वर्षअघिबाट कृषि मल, पशुपालन तथा पशु सामग्री उत्पादन गर्दै आएको कम्पनीले नेपालको प्रदेश ३ मा रहेको फोहोरबाट मल उत्पादन, ग्याँस उत्पादन तथा पशुपालनको सम्भावना उच्च रहेको भन्दै आफूहरू नेपालमा लगानी गर्न तयार रहेको र वातावरण सहज बनाइदिन आग्रह गरेपछि मुख्यमन्त्री पौडेलले यस्तो प्रतिक्रिया दिएका हुन्। 

नेपालमा अब औद्योगिक विकासको युग प्रारम्भ भएको भन्दै लगानीमैत्री वातावरण निर्माणमा आफूहरू सकारात्मक रहेको उनले बताए। प्रदेशमा कानुन निर्माणको चरण चल्दै गरेको भन्दै कानुन निर्माण लगानीमैत्री वातावरण निर्माण हुने पौडेलको भनाइ थियो। 

भेटमा होट्टाले आफू नेपाली कृषि उत्पादनलाई व्यावसायीकरण तथा आधुनिकीकरणका लागि नेपालकै जनशक्ति प्रयोग गरी उद्योग संचालनको सोचमा रहेको समेत बताए। भेटघाटका क्रमममा प्रदेश ३ का अर्थमन्त्री कैलाश ढुंगेल, कृषिमन्त्री दावा लामाको पनि उपस्थिति थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.