|

गोरखा : जिल्लामै पहिलो पटक ह्विलचियर बाँस्केटबल प्रतियोगिता भएको छ। बिहीबारबाट गोरखाको हरमटारीस्थित खेलकुद मैदानमा सुरु भएको प्रतियोगितामा अपांगता भएकाहरूले ह्विलचियर बाँस्केटबल खेल खेलेका छन्।  

प्रतियोगितामा पुरुष र महिला गरी छ टिमको सहभागिता रहेको आयोजक नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघले जनाएको छ। अपांगता भएकाहरू खेल क्षेत्रमा सांगहरू जस्तै सक्षम छन् भन्ने सन्देश दिनका लागि प्रतियोगिता आयोजना गरिएको संघका महासचिव ऋषिराम ढकालले जानकारी दिए। ‘अपांगलाई समाजले हेर्ने दृष्टिकोण हामी फेर्न चाहन्छौँ’, उनले भने, ‘खेल क्षेत्रमार्फत् हामी अरू जस्तै सबल र सक्षम छौँ ‌भन्ने सन्देश दिन गाह्रो मानिने बाँस्केटबल प्रतियोगिता आयोजना गरेका हौ‌ँ।’ 

प्रतियोगितामा पुरुषका चार टिम र महिलाका दुई टिम सहभागी छन्। शारीरिक रूपमा अपांग भएकाहरूले विभिन्न साँस्कृतिक प्रस्तुतिसमेत गरेका थिए। 
महिला बाँस्केटबलमा काठमाडौंलाई गोरखाले हराएको छ भने पुरुष बाँस्केटबलमा गोरखाले लाप्राक बाँस्केटबल टिमलाई हराएको छ। त्यस्तै, शुक्रबार विभिन्न समूहहरूबीच क्रिकेट प्रतियोगिता हुने बताइएको छ।   

प्रतियोगितामा हरमटारी क्लब र प्रगतिशील अपांग संघ गोरखाको सहआयोजनामा प्रतियोगिता भएको छ। अपांगता भएकाहरूले अब बन्ने संरचनाहरू अपांगमैत्री बनाउनसमेत कार्यक्रममार्फत दबाब दिन लागेको बताएका छन्। बाँस्केटबलको फाइनल भने शुक्रबार हुनेछ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.