|

बेल्डाँगी : झापाको दमक-३ बेल्डाँगीस्थित भुटानी शरणार्थी शिविरको पातलिँदै गएको छाप्राेबीचमा एउटा छाप्रो छ, बेल्डाँगी-२ सी-४, छाप्रो नम्बर १४२। यो नम्बर शिविर स्थापना हुँदै गर्दा शरणार्थीसम्बन्धी संयुक्त राष्ट्र संघीय उच्च आयोगको कार्यालयले दिएको हो। त्यही छाप्रोमा सन्तवीर घले (७०) को एक्लो दैनिकी बितिरहेको छ। २६ वर्षदेखि घलेको दैनिकी यही छाप्रोमा बित्दै अाएको छ।

चार महिनाअघिसम्म त छाप्रोमै भए पनि खुसीका साथ नै उनको दैनिकी बित्दै थियो। अहिले भने उनको जीवन सहज छैन। चार महिनाअघि आफूसँगै भएका एक मात्र छोरा पनि उनलाई छाडेर पुनर्वासका लागि अमेरिका गए। तर, घले भने अझै पनि आफ्नो देश (भुटान) फर्कने झिनो आशाका साथ शिविरे जिन्दगी बिताइरहेका छन्। उनी स्वदेश फिर्ती आन्दोलनका एक नेतृत्वकर्ता पनि हुन्।

भुटानी ज्येष्ठ नागरिक स्वदेश फिर्ती समाजका अध्यक्ष हुन् उनी। पुनर्वास कार्यक्रमअन्तर्गत सबैले छाडेर विदेशिए पनि उनी भने शिविरको त्यो छाप्रोमा एक्लै बस्दै आएका छन्। भन्छन्, ‘स्वदेश फर्कने आशा अझै मरेको छैन। म बरु यहीँ बस्छु तर विदेश जान्नँ।’

कतिबेला आँसु झर्छ, थाहै हुँदैन

भुटानबाट नेपाल अाउँदा उनको चार जनाको परिवार थियो- तीन छोरी र एक छोरा। श्रीमती भने भुटानमै बितेकी हुन्। उनी भुटानमा हुँदा जनप्रतिनिधि थिए। सर्वाङ जिल्ला ललाई ब्लकको निर्वाचित मण्डल। तर, भुटान सरकारले नेपालीभाषी भुटानीलाई लखेट्न थालेपछि भागेर चार छोराछोरीसहित नेपाल आए। नेपाल आएर सुरुमा माईखोलाको बगरमा बसे। तर, पछि दातृ निकायको सहयोगमा बेलडाँगीमा छाप्रो बनेपछि उनी त्यहीँ बस्दै आएका छन्।

उनी भन्छन्, ‘अर्काकै शरणमा बस्दा पनि सुरुमा त ठीकै थियो। सबै परिवार थिए। तर, अहिले त सबैले छाडेर गए।’ स्वदेश फिर्ती आन्दोलनका एक हस्ती घलेलाई परिवारले पनि साथ दिएन। उनका परिवारका सबै सदस्य तेस्रो मुलुक पुनर्वास भइसके। ‘अहिले त एक्लै छु। सबैले छाडेर गए’, उनले भने, ‘तर मलाई साथ नदिएको चाहिँ होइन। उनीहरूको पनि भविष्यको कुरा हो। यहाँ बसेर मात्र भविष्य बन्दैन। उनीहरूको पनि मानवअधिकारको कुरा छ।’

छाप्रोको एक्लाे बसाइ बेला उनलाई कहिले काहीँ परिवारको सम्झनाले सताउँछ। ‘मान्छेको मन त रहेछ, कतिबेला आँसु झर्छ, थाहै हुँदैन।’ उनले भने, ‘मन दह्रो पार्ने कोसिस त गरेकै छु।’

नेपाल सरकारले स्वदेश फिर्तीका लागि पहल नगर्दा शरणार्थीले बाध्य भएर तेस्रो मुलुक जानुपरेको घलेको भनाइ छ। उनी भन्छन्, ‘नेपाल सरकारले भुटान सरकार समक्ष पहल गरेन। युएनएचसीआरले पनि पुनर्वासलाई प्राथमिकता दियो। त्यसैले स्वदेश फिर्तीको आन्दोलन त सेलायो।’

यसरी बित्छ एक्लो दैनिकी

पछिल्लो समय घलेको दैनिकी कष्टकररुपमा बित्दैछ। उनी प्राय: परिवारको सदस्यको सम्झनामा नै दिन काट्छन्। ‘पहिला यही छाप्रो धेरै सानो लाग्थ्यो। अहिले त यही पनि ठूलो भयो,’ भावुक हुँदै उनले भने, ‘अहिले यहाँ पनि कोही छैन। एक्लै भएँ। सबैले छाडेर गए।’

परिवारका सबै सदस्य पुनर्वास कार्यक्रमअन्तर्गत तेस्राे मुलुक गएपछि उनले चार महिनादेखि भान्साको सबै काम आफैँ गर्दै आएका छन्। बिहानै उठ्छन्, चिया तयार पर्छन्। त्यसपछि खाना बनाउनतर्फ लाग्छन्। खाने खाएपछि उनी शिविरमा रहेका बुढापाकासँग भुटानबारे छलफल गर्छन्। स्वदेश नै फर्कने इच्छा राखेर तेस्रो मुलुक नगएका वृद्धहरू जीवनको अन्तिम समयमा भए पनि आफ्नो देश फर्कने प्रण गर्छन्। त्यसपछि उनी फेरि खाना बनाउनतर्फ लाग्छन्।

भन्छन्, ‘काम गर्न पनि सक्न छाडियो। त्यही दातृ निकायले दएको रासनको भरमा छु। छोराछोरीलाई पनि कहाँ पैसा पठाउन लगाउनु! उनीहरूलाई पनि समस्या नै होला।’

जीवनकाे उत्तरार्द्धमा एक्लिएको उनको एक्लाे दैनिकीलाई प्रविधिले केही हदसम्म सहज बनाइदिएको छ। उनी छोराछोरीसँग इन्टरनेटको माध्यमबाट कुरा गर्ने गर्छन्। भन्छन्, ‘सधैँ त होइन, कहिलेकाहीँ धेरै याद आयो भने शिविरका नानीहरूले इन्टरनेटबाट फोन लगाइदिन्छन्।’ तर आफूलाई एक्लो नभएको महसुस गर्ने गरेको उनी बताउँछन्। घले भन्छन्, ‘हुनत सबै भुटानी हाम्रो परिवार नै हो। छोराछोरी गए पनि एक्लो भएको महसुस नगर्ने प्रयास गरिरहेको छु।’ एक्लोपनबाट मुक्त हुन शिविरमा रहेका केटाकेटीलाई घरमा बोलाउँछन्। उनी भन्छन्, ‘एक्लै भएजस्तो नलागोस् भनेर नानीहरूलाई बोलाउँछु। छाप्रोमा सानो टिभी छ। त्यही हेरर केटाकेटी पनि भुलिन्छन्।’

जीवनको अन्तिम क्षणसम्म अान्दाेलनमै

घले आफ्नो इच्छा भनेको जीवनको अन्तिमसम्म नै स्वदेश फिर्तीको आन्दोलन गर्नु रहेको बताउँछन्। आफ्नो देशमा फर्कनु एक नागरिकको अधिकार भएकाले आन्दोलनमा लागिरहने उनको भनाइ छ। उनले भने, ‘जीवनको अन्तिम क्षणसम्म स्वदेश फिर्तीको आन्दोलनमा लागिरहन्छु। तेस्रो मुलुक गए पनि आफ्नो देशको माया गरेर फर्कनुपर्छ।’ एक जना मात्रै भए पनि स्वदेश फर्कनुपर्ने उनकाे अठाेट छ।

प्रधानमन्त्री ओलीप्रति आशा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएपछि भुटानी शणार्थीमा केही आशा पलाएको उनी बताउँछन्। उनीहरु स्वदेश फिर्तीले अब प्राथमिकता पाउनेमा आशावादी छन्। ओलीले शरणार्थीलाई नजिकबाट बुझेकाले पनि आफूहरूको समस्या समाधान हुनेमा आशावादी रहेको सन्तवीर बताउँछन्। भन्छन्, ‘उहाँको घर पनि दमक। निर्वाचन क्षेत्र पनि यही हो। पहिलादेखि हाम्रो दुःखलाई उहाँले नजिकबाट नियाल्नुभएको छ। उहाँले भुटान सरकारसँग पहल गरेर स्वदेश फर्कने वातावरण बनाइदिनुहुन्छ भन्ने आशा छ।’

नेपालमा प्रत्येक प्रधानमन्त्री फेरिँदैपिच्छे उनीहरूले आफ्नोतर्फबाट ज्ञापनपत्र बुझाउने गरेका छन्। तर, अहिलेसम्म कसैले चासो दिएका छैनन्। घले भन्छन्, ‘धेरै पटक आन्दोलन गरियो। नेपालमा प्रधानमन्त्री तथा मन्त्रीहरू फेरिनासाथ हामी अपिल चढाउँछौँ तर कसैले ध्यान दिएनन्।’

फेरि पनि उनीहरू ज्ञापनपत्र बुझाउने क्रममा छन्। सन्तवीर भन्छन्, ‘नयाँ सरकार आएको छ। पहिला पनि केपी ओली प्रधानमन्त्री हुँदा बुझाएका थियौँ, अब फेरि बुझाउने तयारीमा छौँ।’

सम्झनामा भुटानबाट लखेटिएको क्षण

सन् १९८८ ताका नेपालीभाषी भुटानीलाई चाडपर्व पनि मनाउन दिन छाड्यो। उनी भन्छन्, ‘हामीले नेपालीकै संस्कारअनुसार चाडपर्व मान्ने गरेका थियौँ। तर, भुटान सरकारले रोक लगाउन खोज्यो।’ त्यसपछि उनीहरूले चाडपर्व मनाउन पाउनुपर्छ भनेर आन्दोलन सुरु भयो। उनले भने, ‘यसपछि सन् १९९० मा भुटानमा नागरिक अधिकार र मानवअधिकारका विषयमा आन्दोलन भयो। शान्तिपूर्ण जनताको आन्दोलनलाई दबाउन सैनिक शासन लगाइयो।’ सैनिक शासनपछि भुटानमा रहेका नेपालीभाषीमाथि सेनाले दमन गरेको उनी सम्झन्छन्।

त्याे बेलाको घटना उनी यसरी सम्झन्छन्, ‘हामीले धेरै दुःख भोग्नुपर्‍यो। कति कुटाइ खाइयो। धेरै चेलीबेटी बलात्कारको सिकार भए। त्यहाँ बस्नै नसकेपछि हामी भारत हुँदै नेपाल आयौँ।'

उनले भारत सरकारको असहयोगमा स्वदेश फर्कन नसकेको आरोप लगाए। उनले भने, ‘नेपाल सरकारले पनि पहल गरिदिएन। भारतले त झनै असहयोग गर्‍यो। त्यसैले हामी घर फर्कन पाएनौँ।’ भुटानी शरणार्थीको मानवअधिकारको रक्षा गर्दै स्वदेश फिर्ता गरिनुपर्ने उनको माग छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.