साहित्य

मेरी हजुरआमा (कथा)
SHARES

फागुन २६, २०७४

    आफ्नै घरको आँगन किन चिन्दिनँथेँ र? कति बिहान झिसमिसै उठेर गोबर–माटोले पूरै आँगन लिपेको हात अझै गन्हाइरहेको छ होला। हिउँदमा धान सुकाउन परालको लिउन लगाएर मैले चिल्याएको यो आँगन देख्दा छिमेकीहरू भुतुक्क हुन्थे डाहाले। 

    आज आँगन त यै हो तर रूप फेरिएको छ। सिमेन्ट–बालुवाले चिल्लो भएको छ भुइँ। कति पल्ट बाहिर–भित्र गरेको यो आँगनमा म दुई खुट्टा टेकेर उभिन सक्ने अवस्थामा पनि छैन। एम्बुलेन्सबाट झारेर ह्विलचियरमा राखेर मलाई यहाँसम्म छोराछोरीले ल्याइपुर्‍याएका हुन्। 

    ‘जाडो छ भित्र, आमालाई यहीँ घाममा राखौँ’, जेठाले भन्योे। 

    मानिसहरू धेरै भेला भइसकेका छन् आँगनभरि। घरभित्रबाट छोरी–बुहारीको नबुझिँदो कल्याङकुलुङ सुनिरहेकी छु। बुहारीले पूजाका सामानहरू बाहिर निकाली। केही बेरपछि पुरेत आएर पढ्न थालेपछि माइलोले मेरो हात समाउँदै कसैलाई भन्दै गरेको सुनेँ, ‘आमालाई घरै लैजानु भन्यो अनि दश दान गरिदिन लागेको।’ 

    दश दान अर्थात् मर्ने बेलामा गरिदिने दान। मेरो मर्ने बेला आएछ त! खोइ सपना पनि नराम्रो देखेको छैन त! मरेका आफन्तलाई सपनामा भेटेकी पनि छैन। मर्ने बेलामा त सपनाले बताउँछ भन्थे, मलाई त त्यस्तो केही लक्षण देखाएको छैन त! कति चाँडो मेरो मर्ने बेला भइहालेछ! अस्ति भित्रिएकी यो घरमा जस्तो लाग्दछ। छोरो मेरो हात समाएर पूजा गराउँदै छ तर म भने पुगेँ अतीतमा। 

    आमा–काकीहरूले वनबाट सालका पात टिपेर ल्याउनुभयो। हजुरआमाले मलाई र बहिनीलाई डोकामा राखेको पातको पूजा गर्न लगाउनुभयो। त्यै अछेता हाम्रो निधारमा टाँसेर दस–दस पैसा दक्षिणा दिनुभयो। भोलिपल्टदेखि आँगनमा गाउँभरिका महिलाहरू जम्मा भएर पात गाँस्न थाले। बैठक घरमा हजुरबा, काकाहरूको बेग्लै बैठक बस्थ्यो। एक दिन बहिनी र म गट्टा खेल्दै थियौँ, हजुरआमाले बोलाउनुभयो र भन्नुभयो, ‘अब बिहे गर्ने बेला भैसक्यो, पत्ता गाँस्न सिक। न कपास समाउन आउँछ, न नाङ्लो केलाउन, न त सिन्का समाउन नै। सौतामाथि पुग्न लागिस्, पत्ता गाँस्न सिक काकीसित।’

    हजुरआमाको कुरा मेरो दिमागमा कत्ति पनि पसेन। म काकीको छेउमा बसेर पत्ता च्यातेर चंगा बनाएर खेल्न थालेँ। मतिर हेर्दै आमा रुन थाल्नुभयो। 

    घरमा पुराण सुरु भयो। बिहानको पाठ गर्नुभन्दा पहिले व्यासासनमा बसेका पण्डितले हामी घरका सबै केटाकेटीलाई टीका लगाइदिनुहुन्थ्यो। म चंचल, कहिले निधारको माथि, कहिले तल, कहिले सानो, कहिले ठूलो टीकाको फर्माइस गर्थें पण्डितसित। 

    अरू सामानका साथसाथै ४० वर्षका पुरेतकी दानमा पाएकी दोस्री श्रीमती बनेर म यो घरमा भित्रिएकी। नयाँ बुहारीको मुख हेर्ने सबैको एउटै आशीर्वाद मैले पाइरहेकी थिएँ, ‘पुत्रवती भएस्,  पंचपुत्रकी आमा भएस्।’ 

    पुराणको तेस्रो दिन राती बहिनीले भनी– ‘दिदी, तपाईंको बिहे पुराण भन्ने पण्डितजीसित गरिदिने रे!’

    दौडेर जुठेल्नोमा भाँडा माझिरहनुभएकी आमालाई सोध्न गएँ। आमाले टाउको हल्लाएर ‘हो’ भन्ने आशय दिनुभयो। काकीले मतिर हेर्दै भन्नुभयो, ‘दाजुले धर्म गरेँ त भन्नुभयो तर हेर्नु त दिदी, यो बालख छोरीमाथि त अपराध नै गर्नुभयो। पाप लाग्छ दाजुलाई।’ 

    आमा एक टक मलाई नै हेरिरहनुभएको थियो। म १३ वर्षमा मात्र टेकेकी बालखसित आमासित अरू प्रश्न गर्ने कुरै थिएन। म फर्केर पल्टिएँ बिछ्यौनामा। बिहेको अर्थ त थाहा थिएन तर बिहेपछि बहिनीसित गट्टा खेल्न पाउँदिनँ भन्ने चिन्ताले धेरै बेर निन्द्रा लागेन। 

    बिहान पुरेतसित टीका लगाउन जाँदा मैले केही बोल्न सकिनँ। उहाँले नै सोध्नुभयो, ‘कहाँ लगाइदिनु टीका? किन नभनेको आज?’ 

    बहिनीले भनी, ‘तपाईंसित दिदीको बिहे हुने रे, हो?’ केही नबोली बाबु सरहको हुनेवाला पतिको हातबाट टीका थापेर म मण्डपबाट बाहिरिएँ। पुराणको सांगेको दिन मेरा अभिभावकहरूले माटो, गाई, वस्त्र, द्रव्य, अन्न दान गर्दा सँगै कन्याको रूपमा मलाई पनि दान गरिदिए, पुराण भन्ने पण्डितलाई।

    अरू सामानका साथसाथै ४० वर्षका पुरेतकी दानमा पाएकी दोस्री श्रीमती बनेर म यो घरमा भित्रिएकी। नयाँ बुहारीको मुख हेर्ने सबैको एउटै आशीर्वाद मैले पाइरहेकी थिएँ, ‘पुत्रवती भएस्,  पंचपुत्रकी आमा भएस्।’ 

    दिदीका दुई छोरी मात्र भएकाले दिदीले नै मागेर मलाई विवाह गराउनुभएको रहेछ। मेरै विवाहका लागि पुराण लगाएर कन्यादान गरिएको रहेछ।

    छोराका लागि भनेर दान स्वरूप मलाई ल्याउनुभएको श्रीमानले मसित बोलेको पहिलो बोली ‘छोरा दिन्छौ भनेर तिमीलाई बिहे गरेको मैले। मलाई र तिमीलाई खुसीखुसी यो घरमा भित्र्याउने तिम्री दिदीलाई निराश नबनाऊ ल।’ 

    उहाँलाई छोरो त मैले कसरी दिने, थाहा भएन तर मलाई अंगालोमा बेरेर मसँगै सुत्न आउँदा भने मलाई पण्डितदेखि साहै्र झोँक चलेर आएको थियो, त्यो बेला। म मैतालु, माइत नै पुग्न नपाई बालखलाई आइमाई बनाउन चुकेनन् पण्डित। १५ वर्षमै जेठो छोरो जन्मियो। म पुत्रवती पनि भएँ। सबैको आँखाकी नानी भएँ– छोरो दिने आमा जो भएकी थिएँ। 

    दिदीको आँगनमा छोराले हिँडन थालेको हेरेपछि दिदी स्वर्गे हुनुभयो। दुवै छोरीहरू पनि विहावारी गरेर आआफ्नो घरतिर लागे। तर मलाई पाँच पुत्रकी आमा बनाउने सोचमा श्रीमान अगाडि बढिरहनुभयो। त्यसको परिणाम, म विद्वान् पण्डितकी श्रीमती भए पनि यो घरमा सन्तान जन्माउने मेसिन मात्र भएछु। प्रत्येक दुई वर्षमा मेरो घरमा नयाँ सन्तानको आवाज सुनिन्थ्यो। 

    श्रीमान पण्डितको पुराण भन्दै र तीर्थ ब्रत गर्दै दिन बित्थ्यो भने म घरभित्रका छोराछोरी र बाहिरको खेतीपातीमै रुमलिरइहेकी हुन्थेँ। श्रीमानबाट सन्तानबाहेक दुई शब्द माया पिरतीका गाना पनि गाउन नपाएकी म आफ्ना मनभित्रका रहरहरू छोराछोरीमै बिसाउन पुग्थेँ। आखिर म पनि मान्छे त थिएँ। रहर त लाग्थ्यो कि श्रीमानले मेरा लागि पनि समय दिऊन् तर आधारातमा थाकेको शरीर लिएर विस्तरामा पुग्दा उहाँको चाहना पूरा गरुन्जेलको समय मैले पाउँथेँ। त्यो समयमा पनि घरायसी समस्याहरू सुनाउन नै मलाई हतारो भइरहेको हुन्थ्यो। 

    श्रीमानले मेरा लागि समय नदिए तापनि उहाँकै अंश छोराछोरीलाई गोरुगाडामा हालेर म कहिले सिनेमा हेर्न त कहिले मेला भर्न पुग्थेँ। तीन छोरीको विवाह गरिदिएपछि सात जना सन्तान आँगनमै खेल्ने र एक जनालाई भ्रुणकै अवस्थामा मेरो पेटभित्रै छोडेर उहाँ दिदीलाई पछ्याउँदै जानुभयो। 

    पण्डित्याइँ गरेर ल्याएको खानेकुरा र दानको सामानले कुनै कुराको कमी महसुस भएको थिएन मलाई घर चलाउन। उहाँको कमाइले भरथेग गरेको मेरो घरमा भोकमरीले बास गर्न पुग्यो। को आफ्ना, को पराया भन्ने कुरा छोराछोरीलाई माड पिलाएर सुताउन नपाएका दिनहरूमा मैले चिन्ने मौका पाएँ। ऐँचोपैँचो पनि नपाएर छोराछोरीलाई तातोपानीले मात्र पेट भर्नुपरेको दिन हिजो नै हो जस्तो लाग्छ। 

    विवाह गरेर दिइसकेका छोरी–ज्वाइँले त्यस बेला गरेको सहयोगले मैले मेरा ससाना सन्तानलाई खुवाउने र पढाउने काम गरेँ। छोराछोरीले पढे, धेरै पढे। सुनका तक्मा पनि पाएको देखाए। घरमा पनि दुःखका दिन सकिए। सबै कमाउने भए। घरको आर्थिक अवस्था पनि सुध्रियो। विस्तारै सबैको विवाहदान पनि गरिदिएँ। आफ्नो कर्तव्यमा डुबुल्की मार्दै म कहिले बुढी भएँ र रोगी पनि भएँ, थाहै भएन। 

    मैले छोराछोरीलाई ऋण लगाएकी थिएँ, उनीहरूको सानामा दिसा–पिसाब सफा गरिदिएर। ‘म बिरामी भएर थलिएँ भने भाउजू–बुहारीहरूलाई मेरो दिसापिसाब सोहोर्न नलगाउनू ल, उनीहरूले मेरो ऋण खाएका छैनन्’ भनेर मैले सबै छोराछोरीलाई भनिसकेकी थिएँ। 

    बिरामी आमालाई छोराछोरीले राम्ररी सेवा गरेकै हुन्। हो पनि, मानिस जिउँदै हुँदा गर्ने त हो सेवा। मरेपछि छोराले मेरा लागि के गर्नुपर्छ र! भन्ने मलाई लाग्थ्यो। सेतो लुगा बेरेर घिउ–भात खाएर छोरो बस्छ, मैले खाने होइन। दान भनेर पुरेतले लैजान्छन्, मैले पाउँछु भन्ने के प्रमाण छ र? त्यसैले मलाई जे दिन्छौ, जसरी राख्छौ, जिउँदैमा गर भनेर भनिरहन्थेँ। मेरो भनाइलाई शिरोधार्य गरे मेरा सबै छोराछोरीले। 

    दोस्रो पल्टको अस्पताल बसाइपछि हिजोबाट डाक्टरले घर लिएर जाँदा हुन्छ भनेर बिदा दिएछ। मेरो दिन आउला नि, तीर्थ ब्रत घुमघाम गरुलाँ नि भन्दाभन्दै म त मर्न पो लागेछु। जिन्दगीको कुन समय मैले खेर फालेँ भन्ने सम्झिन नपाई मेरो जिन्दगी सकिएछ। 

    सोच्दासोच्दै मैले मेरो अगाडि अँध्यारो देखेँ। सायद हात लुलो भयो, जेठोले अत्तालिँदै कराएको सुनेँ, ‘लौ न तुलसी मोठमा लैजानुपर्‍यो आमालाई।’ विस्तारै मेरो कानमा बाहिरका आवाजहरू मधुरो हुँदै गए। 

सरिता अर्याल

सरिता अर्याल पत्रकारिता र अधिकारका क्षेत्रमा सक्रिय छन्!

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]