|

लमजुङ : मर्स्याङ्दी गाउँपालिका–३ खुदी खोलामा रहेको जीर्ण बेलिब्रिजमा सवारी आवागमन बन्द गरिएको छ। बेसीशहर–चामे सडकखण्डअन्तर्गत पर्ने खुदीखोलाको बेलिब्रिज भत्किएर जोखिम बढेपछि स्थानीयवासीले सवारी आवागमन बन्द गराएका हुन्। 

पुलमा गाँसेको पत्ताको नट फुत्किएको तथा पत्ता उक्किएको र दुलो पर्ने भएपछि पैदलयात्रु र सवारी साधन वारपार गर्न समस्या भएको थियो। बेलिब्रिज जीर्ण हुँदा दुर्घटना बढ्नाका साथै पैदलयात्रीलाई पनि समस्या भएको भन्दै सवारी आवागमन बन्द गराएको स्थानीयवासी वीरेन्द्र भण्डारीले बताए। 

सो जीर्ण पुलमा यसअघि पनि बालबालिका दुर्घटना पर्ने गरेका थिए। पुलको प्वाँलमा खुट्टा अड्किएर बालबालिका घाइते हुने गरेका स्थानीयवासीले बताएका छन्। बेसीशहर–चामे सडक निर्माणका क्रममा नेपाली सेनाले पाँच वर्षअघि सो बेलिब्रिज निर्माण गरेको हो।

१९ टन क्षमताको सो बेलिब्रिजमा क्षमताभन्दा बढीका लोड गाडी आवत–जावत हुँदा पुल भत्किएको स्थानीयवासी बताउँछन्। पुल मर्मतका लागि सडक डिभिजन कार्यालयमा पटक–पटक अनुरोध गर्दा पनि सुनुवाइ नभएको स्थानीयवासीको गुनासो छ। उत्तरी लमजुङको मर्स्याङदी गाउँपालिकादेखि मनाङसम्म पुग्ने सवारी सोही पुलबाट जाने गर्छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.