|

काठमाडौं : सार्क राष्ट्रका उद्योगी व्यवसायीहरूको छैटौँ सम्मेलन सार्क विजनेस लिडर्स कन्क्लेभ नेपालमा हुने भएको छ। सार्क चेम्बर अफ कमर्सको आयोजनामा आगामी चैत २, ३ र ४ गते नेपालमा सम्मेलन गर्न लागिएको हो।

यसअघि पाकिस्तानमा आयोजना गर्ने तयारी गरिएको सम्मेलन पाकिस्तानमा नहुने भएपछि नेपालमा आयोजना गर्न लागिएको हो। सोमबार आयोजित पत्रकार सम्मेलनमा सार्क चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्री (सार्क उद्योग वाणिज्य संघ)का अध्यक्ष सुरज वैद्यले नेपालमा गर्ने गरी तयारी भएको बताएका हुन्। 

तीन दिनसम्म चल्ने सम्मेलनमा सार्क क्षेत्रको साझा समृद्धि, सार्क देशहरूमा व्यापार र लगानी प्रवर्द्धन, आर्थिक र राजनीतिक संकट, विश्व अर्थ व्यवस्थामा सार्कको भूमिका, ऊर्जा र सहकारी क्षेत्रमा सार्कमा भएको सफलता र आगामी कार्यदिशालगायतका विषयमा छलफल गरिने कार्यक्रम रहेको छ। सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

दोस्रो दिन विभिन्न सातवटा विषयमा समानान्तर प्यानल छलफल र तेस्रो दिन पाँचवटा विषयमा प्यानल छलफल गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।सम्मेलनमा ५० जना प्रतिष्ठित वक्ताहरूको सहभागिता सुनिश्चित भएको आयोजकले जानकारी दिएको छ।

सम्मेलनमा सार्क राष्ट्रका २०० प्रतिनिधिहरू, निजी क्षेत्र, प्राज्ञिक व्यक्तित्वहरू तथा सञ्चार माध्यमको सहभागिता रहने बताइएको छ। सार्क राष्ट्रका व्यवसायीको छैटौँ सम्मेलनसँगै नेपालले दोस्रो पटक सम्मेलनको आयोजना गर्दै छ। यसअघि सन् २०११ मा पनि नेपालमा सम्मेलन गरिएको थियो।

सार्क चेम्बरका अध्यक्ष सुरज वैद्यले  यस सम्मेलनको नेपालले भरपुर फाइदा उठाउनुपर्ने बताए। उनले सार्क क्षेत्रका सर्वसाधारण र व्यवसायीहरूले सार्कको सर्वोच्च संस्थाका रूपमा रहेको सार्क चेम्बरबाट धेरै आशा गरे तापनि सोही राजनीतिक किचलोका कारण सोचेअनुसार काम हुन नकसकेको बताए।

विश्वमा सबैभन्दा ठूलो सम्भावना भएको बजार दक्षिण एसिया भएको भन्दै वैद्यले अबको १०/१२ वर्ष सार्क क्षेत्रमा लगानी विस्तारका लागि उपयुक्त र स्वर्णिम समय हुने बताए। 

वाणिज्य, आपूर्ति तथा उद्योग मन्त्रालयका सहसचिव रविशंकर सैजुले यो सम्मेलनले नेपालको परिवर्तित अवस्था र नीति नियमको विषयमा जानकारी गराउन सहयोग पुग्ने बताए। उनले निजी क्षेत्रले गर्ने हरेक क्रियाकलापमा सरकारको सहयोग रहने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.