|

बारा : नेपाल–भारत सीमाबाट इटालियन पेस्तोलसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्।

सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय बाराले नियमित चेकजाँचको क्रममा भारतीय नम्बर प्लेटमा चढेर नेपाल प्रवेश गर्न लागेका भारत बिहार राज्यको पूर्वी चम्पारण भगवानप्रसाद–२ का १९ वर्षका चन्दन कुमार र सुन्दरपुरका २० वर्षका सञ्जयकुमार रायलाई पक्राउ गरेको हो।

सशस्त्र प्रहरीले उनीहरूको साथबाट स्वचालित इटालियन पेस्तोल, त्यसमा लाग्ने म्यागजिन र दुई राउन्ड गोली बरामद गरेको जनाएको छ।

बोर्डर आउट पोष्ट बेल्दारीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक विष्णुकुमार वीसी नेतृत्वको टोलीले बाराको पचरौता नगरपालिका– ४ स्थित गुलरिया टोलबाट आइतबार साँझ साढे ७ बजे उनीहरूलाई पक्राउ गरेको हो।

‘भारतबाट डिएल२सिक्यू ४०५३ नम्बरको बोलेरो चढेर आएका थिए’, सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय बाराका प्रहरी उपरीक्षक बिनुप्रसाद पाठकले भने, ‘नाइन एमएम ब्रोनिङ नामक इटालियन स्वचालित पेस्तोल बरामद भएको छ।’

पक्राउ परेका भारतीय नागरिक र भारतीय नम्बर प्लेटको गाडीलाई जिल्ला प्रहरी कार्यालय बाराले आइतबार नै जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक गरेको छ। प्रहरी उपरीक्षक राजकुमार बैदवारले पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरेका हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.