|

पर्वत : मुआब्जा विवादका कारण रोकिएको बागलुङको जैमिनी नगरपालिकास्थित ठेउलेखोला जलविद्युत आयोजनाको काम पुन: सुचारु भएको छ। 

आयोजना र प्रभावित क्षेत्रका जग्गाधनीबीच मुआब्जाका विषयमा सहमति जुटेपछि काम सुचारु भएको हो। 

जग्गाधनी खगेश्वर शर्माले अस्वाभाविक मुआब्जा मागेको भन्दै निर्माण कम्पनी बाराही हाइड्रो पावर लिमिटेडले आयोजनाको काम रोकेको थियो। आयोजना र शर्माबीच जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जैमिनी नगरपालिकाको रोहवरमा सहमति भएपछि आयोजनाको काम सुचारु भएको कम्पनीका अध्यक्ष एवं इन्जिनियर सूर्यप्रसाद अधिकारीले बताए।

सहमतिअनुसार आयोजनाले निर्माणका क्रममा भत्केका जग्गाधनीका संरचना निर्माण गर्ने र जग्गाको मुआब्जा ६० लाख रुपैयाँ दिने सम्झौता भएको छ। सहमति हुनु अगाडिसम्म शर्माले एक करोड रुपैयाँ बढी रकम मुआब्जा स्वरूप माग गर्दै आएका थिए।

शर्माको दुई रोपनी ११ आना जग्गामा पाइपलाइन परे पनि चार रोपनी जग्गा आयोजनाबाट प्रभावित छ। सुरुमा निर्माण कम्पनी र जग्गाधनीबीच पाखो जग्गा प्रति रोपनी ४० हजार, बारी ७० हजार र खेतलाई दुई लाख ५० हजार रुपैयाँ मुआब्जा दिने सहमति भएको थियो। सोही सहमतिअनुसार अन्य जग्गाधनीलाई मुआब्जा वितरण गरिएको आयोजना व्यवस्थापनको दाबी छ। यता, जग्गाधनी शर्माले भने जग्गाको क्षतिपूर्तिसहित मुआब्जा माग गरेको बताए। 

पाइप लाइन जडानको काम केही दिनमा सकिने र दुई साताभित्रै परीक्षण विद्युत उत्पादन सुरु हुने कम्पनीले जनाएको छ। विवादित जग्गामा पाइप लाइन जोड्नेबाहेक आयोजनाको सबै काम पूरा भएको इन्जिनियर अधिकारीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.