अफगानिस्तान सुपर सिक्समा

|
फोटो : रमन शिवाकोटी

काठमाडौं : विश्वकप छनोटको अन्तिम खेलमा नेपालले हङकङमाथि विजय हासिल गरेको छ।

जिम्बावेमा भएको समूह बी को अन्तिम खेलमा सोमबार नेपालले हङकङलाई ५ विकेटले पराजित गरेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको हङकङबाट नेपालले १५४ रनको लक्ष्य प्राप्त गरेको थियो। हङकङ १५३ रनमा अलआउट भएको थियो।

हङकङले दिएको उक्त लक्ष्य पछ्याउँदै नेपालले ४० ओभर ४ बलमा १५५ रन बनायो। नेपालले ५ विकेट क्षतिमा उक्त लक्ष्य हासिल गरेको हो।

नेपालकालागि रोहितकुमार पौड्यालले नटआउट ४८ रन बनाए भने उनलाई राम्रो साथ दिएका सोमपाल कामीले ३७ रन बनाए। अनिल साहले २६ रन बनाउँदा नेपालका अन्य ब्याट्सम्यान सस्तैमा आउट भए।

हङकङका लागि इलियास खान र अजिज खानले समान दुई दुई विकेट लिए। एक विकेट तनवीर अफजलको नाममा रह्यो।

पहिले ब्याटिङ गरेको हङकङका लागि १५४ रनको लक्ष्य प्रस्तुत गर्ने क्रममा निजाकत खानले ४७ रन प्रहार गरे। इहसन खानले २१ र बाबर ह्यातले २० रन बनाउँदा अन्य ब्याट्सम्यान नेपाली बलरसामू खुलेर खेल्न सकेनन्।

नेपालका लागि सन्दीप लामिछानेले ३, वसन्त रेग्मी र करन केसीले दुई दुई विकेट लिँदा सोमपाल कामी र ललित राजवंशीको नाममा एकएक विकेट रह्यो।

नेपालका सन्दीप र वसन्तले चार चार ओभर मेडन फाले भने करन केसीले एक ओभर मेडन बलिङ गरे।

नेपालले हङकङमाथि विजय हासिल गर्दा फाइदा भने अफगानिस्तानलाई भयो। नेपाललाई मात्र जितेको अफगानिस्तान समूह बीबाट सुपर सिक्समा पुग्ने अन्तिम टोली बन्यो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.