साउनयता २१ प्रतिशत बढ्यो

|
फाइल तस्बिर

बनियानी : झापाका करिव चार सय बालबालिका कडा कुपोषणको शिकार भएको पाइएको छ। जिल्लाका पाँच स्थानीय तहमा रहेका बालबालिकाको स्वास्थ्य परीक्षण गर्दा १७९ बालक र २१३ बालिकामा कडा कुपोषण भएको भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका कार्यक्रम अधिकृत कुलबहादुर पौडेलले जानकारी दिए।

जिल्लाका कचनकवल, झापा, गौरीगञ्ज र बाह्रदशी गाउँपालिका तथा शिवसताक्षी नगरपालिकाका ३० स्वास्थ्य संस्थामा १०० भन्दा बढी पटक गरिएको कुपोषित बालबालिका पहिचान शिविरबाट ३९२ कुपोषित बालबालिका फेला परेको हो।

‘कडा पोषणको शिकार भएको बालबालिकामा झापा तेस्रो स्थानमा रहेको छ,’ अधिकृत पौडेलले भने, ‘पहिलोमा सप्तरी र दोस्रोमा सिरहा छन्।’ गत साउनमा बाढी आउनुअघि झापामा १२ प्रतिशत बालबालिका कुपोषणको शिकार भए पनि त्यसयता २१ प्रतिशत वृद्धि भई ३३ प्रतिशत पुगेको छ। अन्तर्राष्ट्रिय मापदण्डअनुसार पाँच प्रतिशतभन्दा बढी हुनु भनेको खतरा हो। कुपोषित बालबालिकाको पहिचान गरी उपचार गर्न झापामा ओटिसी सेन्टर स्थापना गरिएको छ। जिल्लाका १५ वटै स्थानीय तहमा १६ केन्द्र स्थापना गरिएको जिल्ला कार्यालयले जनाएको छ।

जनस्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य प्रमुख मधुसूदन कोइरालाले कुपोषणको शिकार भएका बालबालिकाको अवस्थानुसार ४२–९० दिनसम्म निदान विधिबाट उपचार गरिने बताए। हालसम्म १४७ बालबालिकाको उपचार गरिसकिएको छ भने २४५ जनाको उपचार भइरहेको छ। कुपोषित बालबालिकालाई युनिसेफको सहयोगमा तयारी पोषिलो खाना खुवाइने छ।

केन्द्र सञ्चालनका लागि २५० स्वास्थ्यकर्मीलाई तालिमसमेत प्रदान गरिएको छ। तालिम प्राप्त स्वास्थ्यकर्मीले बालबालिकाको शारीरिक अवस्थाको परीक्षण गरी उपचार गर्नेछन्। केन्द्रमा उपचार सम्भव नभए मेची अञ्चल अस्पताल र दमक अस्पताल दमकमा सिफारिस गरिने बताइएको छ। सो कार्यक्रम जनस्वास्थ्य झापाको समन्वय र युनिसेफको सहयोगमा सञ्चालित छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.