मिडियामा नाम सुनेपछि आत्तिए परिवार

|

काठमाडौं : ०२४ माघ १४ गते काभ्रेको कुशादेवी गाविसमा सामान्य परिवारमा डा. बालकृष्ण थापाको जन्म भयो। सामान्य परिवारमा एक भाइ र बहिनीका दाजु परिवारको जेठो सन्तान थिए ।  बालकृष्ण सानैदेखि पढ्नमा अब्बल थिए। जसले गर्दा उनले २०४२ सालमा एसएसीमा पनि जिल्लाकै उत्कृष्ट नम्बर ल्याएर पास भएका थिए। सानैदेखि पढाइमा अब्बल रहेका डा. थापालाई परिवारले पढ्नैको लागि भनेर कहिल्यै खर्च गर्नुपरेन।

सरकारी छात्रवृत्तिमै उनले माहारागञ्ज क्याम्पसबाट एमबिबिएस अध्ययन गरे। एमबिबिएसमा पनि उनले २०५१ मा आफ्नो समूहका स्वर्ण पदक विजेता  हुन पुगे।

एमबिबिएसपछि उनले बंगलादेशको ढाकास्थित बंगबन्धु शेखमुजिब विश्वविद्यालयबाट एम एस गरेर स्नायु विज्ञ बने  । त्यहाँ पनि उत्कृष्ठ बने र चिकित्सा शिक्षा अध्ययनका क्रममा तीनपटक स्वर्णपदक प्राप्त गरे। जीवनमा केही कुरामा नहारेका डा. थापाले हिजो भने मृत्युसँग हार्नै पर्‍यो।

 मिजासिलो स्वाभावका डा. थापा पढाइ र बिरामीको उपचारमा जति अब्बल थिए। परिवारको हेरचाहमा पनि उतिकै अब्बल थिए। भरतपुरलाई कर्मथलो बनाए। उतै धेरै बस्ने भए पनि उनी समय समयमा घर आइरन्थे। शिक्षण अस्पतालमा दाजुको शव बुझ्न आएका उनका भाइ रामकृष्ण थापाले भावविह्वल हुँदै भने।

 शनिबार घर आउँछु भनेका थिए डा. थापाले

पाँच वर्षअगाडि आमाको निधन भएको डा. थापाको परिवारमा हाल बुबा ,भाइ बुहारी मात्र छन्। दुई सन्तानका बाबु रहेका थापाका सन्तान भने हाल अस्‍ट्रेलियामै अध्ययन गरिरहेका छन्। थापाको परिवारले गएको शनिबार काठमाडौंको पेप्सीकोलामा रहेको घरमा पूजा लगाएकाले सोही पूजामा भाग लिन डा. थापा घर आएका थिए।

घरमा भएको पूजा सकेर २४ गते डा . थापा शनिबार पुन घर आउने वाचासहित बंगलादेश उडेका उनका उनका भाइ रामकृष्णले बताए। उनले भने, 'गएको २३ गते घरमा पूजा थियो त्यही पूजामा भाग लिएर शनिबार फेरि  घर आउने वाचासहित दाजु बंगलादेश जानु भएको थियो। तर, आज यस्तो भो।'

शनिबार आएर भूकम्पले भत्काएको घर फेरि बनाउन सुरु गर्ने घरायसी सल्लाहसहित डा. थापा बंगलादेश गएका थिए। तर, उनी नेपाल कहिले आउँछन् भन्ने परिवारलाई थाहा थिएन। तर, हिजो जब दुर्घटनामा पर्नेको नामहरूमा आफ्नो दाजुको पनि नाम मिडियामा आएपछि बल्ल रामकृष्णले थाहा पाए।

उनले भने, ' दाजु हिजो नै नेपाल आउने भन्ने हामीलाई थाहा थिएन तर बुबालाई छिमेकी भाइले दुर्घटनाको नामलिष्टमा दाजुको पनि नाम रहेको भनेपछि हामीले बल्ल दाजु पर्नुभएछ भन्ने थाहा पायौँ।'

साहित्यमासमेत अब्बल थिए डा. थापा

जसरी आफ्नो पेसामा अब्बल रहेका डा. थापा त्यसरी नै अन्य कुरामा पनि अब्बल थिए। साहित्य क्षेत्रमा र समाज सेवामा उनको विशेष रुचि थियो। साहित्यमा समेत सक्रिय थापाका 'डाक्टरी कविता' (२०६१), 'डाक्टरका कविता' (२०६९) कवितासंग्रह र 'चिरफार' (२०७०) निबन्धसंग्रह प्रकाशित छन्। यसका साथै उनले चिकित्सा क्षेत्रबारेको आफ्नो अध्ययन र शोधलाई समेटेर सन् २०१३ मा ‘न्युरो अंकोलोजी’ पुस्तकसमेत प्रकाशन गरेका थिए।

यस्तै, सामाजिक फोरमहरुमा समेत उनी सकृय थिए। चिकित्सक संघका क्षेत्रीय उपाध्यक्ष र नेपाल न्युरो सर्जन समाजका महासचिव पनि हुन् । काठमाडौं बाहिर समेत विशेषज्ञ सेवा पुर्‍याउनुपर्छ। भन्ने सोचले चितवनमा नै बसेर केही गर्ने र भरतपुरको क्यान्सर अस्पताल सुधार गर्ने सपना उनी सुनाउँथे।

डाक्टर थापाका भाइसँग गरिएकोको कुराकानीमा आधारित

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.