मान्छे हुनलाई लाज र इमान दुईवटा गुण हुनु अनिवार्य ठान्थे थापा

|
फाइल फोटो

चितवन : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार भएको युएस बंगला एयरलाइन्सको विमान दुर्घटनामा निधन भएका चितवनका वरिष्ठ न्युरोसर्जन डा. बालकृष्ण थापा एकजना साहित्यिक स्रष्टा हुन् भन्ने कुरा कमैलाई थाहा होला।

तर, साहित्यक फाँटमा उनको योगदान अमूल्य छ। चिकित्सा पेसासँगसँगै साहित्यलाई पनि अब्बल उनको निधनले साहित्य क्षेत्रमा अपुरणीय क्षति पुगेको साहित्यकारहरु बताउँछन्। चितवनका साहित्यिक अगुवा एलबी क्षेत्री आफूले उनलाई समसामयिक असन्तुष्टि व्यक्त गर्ने कविको रुपमा डा थापालाई बुझेको बताउँछन्।

‘कुण्ठा, असहमति, भ्रष्टाचार, विकृतिका सवालहरुलाई उनले उठाउनुभएको छ, रोगीको मनोभाव राम्रोसँग बुझेकाले त्यो पीडा पनि कवितामा व्यक्त हुन्थ्यो,’ क्षेत्रीले भने।

उनका कवितासंग्रह ‘डाक्टरी कविता’ २०६१ र ‘डाक्टरका कविता’ २०६९ प्रकाशित छन्।  २०७० सालमा  निबन्ध संग्रह ‘चिरफार’ प्रकाशित भएको छ। चिकित्सा क्षेत्रबारे ‘न्युरो अंकोलोजी’ नामको पुस्तक प्रकाशित छ।

चितवनका गजलकार पुष्प अधिकारी,‘अञ्जली’का अनुसार डा थापाका कविता जीवनसँग जोडिने खालका छन्। कविहरुले काल्पनिक कविता पनि लेख्छन्। ‘थापा सत्य कथा लेख्ने, जीवनसँग जोडेर लेख्ने साहित्यकार हुनुहुन्थ्यो’, अधिकारीले सम्झे।

उनको एउटा कविता ‘हाम्रो मझेरी’को  ५३औँ अंकको कविता विशेषांकमा समेत प्रकाशित छ। अधिकारी उनको प्यासेन्ट पनि थिए। चेकअप गर्दा पनि साहित्यकै कुरा हुने गरेको उनी सम्झन्छन्।

उनको एउटा पुस्तक ‘चिरफार’को शीर्षभागमा लेखिएको छ, ‘दुईवटा खुट्टा टेक्दैमा मानिस होइँदैन, मान्छे हुनलाई कम्तीमा दुईवटा गुण चाहिन्छ : लाज र इमान।’ यसले पनि जीवनसँग साहित्य जोड्ने कविको रुपमा परिचय दिन्छ।

चितवनका स्रष्टा भूपिन भन्छन्, ‘साहित्यमार्फत समाज परिवर्तन गर्नुपर्छ भन्ने धारणा राख्ने डा थापाको साहित्यप्रतिको बुझाई गहिरो थियो।’ पूर्वका एकजना साहित्यकार उपेन्द्र पागलको भनाइ उद्धृत गदै स्रष्टा भूपिनले डा थापाको एउटा निबन्ध संग्रह भने प्रकाशोन्मुख रहेको जानकारी दिए।

चितवनका साहित्यकारहरु मिलेर बनेको अफ द विट जेनेरेसन संस्थामा डा थापा सदस्य थिए। उक्त संस्थाले आगामी जेठ ५,६ र ७ गते ‘नारायणी लिट्रेचर फेस्टिबल’ आयोजना गर्ने तयारी गरिरहेको छ। 

सोही कार्यक्रमको सिलसिलामा केही दिनअघि डा. थापाले भनेका कुरा भूपिन झल्झली सम्झन्छन्। ‘काठमाडांैमा छु, बंगलादेश जान लागेको आएपछि छलफल गरेर अगाडि बढाँैला भन्नुभएको थियो, त्यो नै मेरालागि अन्तिम कुराकानी भयो,’ भूपिन सम्झन्छन्।

चितवनको साहित्यिक क्षेत्रमा समेत एउटा स्रष्टाको अभाव महसुस भएको अर्का स्रष्टा लेखराम सापकोटाको अनुभव छ। धेरै नजिकबाट घुलमिल गर्न नपाए पनि डाक्टरी पेसामा रहेर साहित्यलाई माया गर्ने स्रष्टाको रुपमा आपूmले चिनेको सापकोटा बताउँछन्।

साहित्यसँगै जीवन जीउने कलाका सफल प्रशिक्षक पनि हुनुहुन्थ्यो डा थापा। सकारात्मक सोच र सदाचारका विषयमा उनले विभिन्न क्षेत्रमा प्रशिक्षण दिन्थे।

काभ्रे जिल्लाको कुशादेवी–३ मा २०२४ सालमा जन्मेका गोल्ड मेडलिस्ट डा. थापा २०५१ सालको एमबिबिएसका उत्कृष्ट विद्यार्थी थिए भने बंगलादेशको ढाकास्थित बंगबन्धु शेखमुजिव विश्वविद्यालयमा एमडी गरेका थिए।

चिकित्सा पेसामा समेत अब्बल डा थापा विभिन्न कार्यक्रममा प्रस्तुत कार्यपत्रको टिप्पणी गर्ने गर्थे। विभिन्न विषयको अध्ययन अनुसन्धानमा समेत उनको योगदान महत्वपूर्ण छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.