|

काठमाडौं : उपन्यासकार उमा सुवेदी झापाको बाहुनडाँगी घुम्न जाँदा एकजना दिदीले दुखेसो पोखिन्। 'हाम्रो गाउँका त कसैको बिहे नहुने भयो, हात्तीको आतंक छ भनेर कसैले छोरी दिन नमान्ने भए।'

उमाले बाहुनडाँगीमा हात्ती आतंक बारे अरु जानकारी पनि लिइन्। झापा जिल्ला सुपारी तस्करीमा पनि नाम चलेको जिल्ला हो। यस विषयमा पनि उनले खोजी गरिन्। स्थानीयवासीसँग कुरा गरिन्। स्थानीय प्रशासन र कानुन व्यवसायीहरुसँग पनि छलफल गरिन्। अन्तिममा ती सबै विषय समेटर उपन्यास लेखिन्। जसलाई नाम दिइन्, 'इति।' त्यही कृति अर्थात उनको दोश्रो उपन्यास 'इति' बिहीबार सार्वजनिक भएको छ।

हात्ती आतंकलाई बिम्ब बनाएर लेखिएको उपन्यासमा हात्ती आतंकमार्फत नेपाली समाजको वर्तमान चरित्र चित्रण गरिएको छ। सुवेदीले उपन्यासमा आफू हुर्केको ठाउँको विषयमा धेरै थाहा हुने भएकाले त्यस भेगकै विषय समेटेर उपन्यास लेखेको बताइन्। उपन्यासमा बाहुनडाँगी भन्ने ठाउँ नै छैन। यस ठाउँलाई उनले नयाँ नाम दिएकी छन्,'दामाटार र विजयबजार।'

उपन्यासको बिहीबार सुवेदीसँगै समालोचक गीता त्रिपाठी र उपन्यासकार अमर न्यौपानेले संयुक्त रुपमा विमोचन गरे। समालोचक त्रिपाठीले उपन्यासमा जनावरको आतंकको विषयबाट समाजमा मानव आतंककलाई देखाउन खोजिएको बताइन्।

साहित्यकार अमर न्यौपानेले यस उपन्यासमा महिला पात्रलाई शक्तिशाली देखाइएको बताए। 'महिला लेखकले नै लेखेका कृतिहरुमा पनि नारी पात्रलाई कमजोर देखाइन्थ्यो। यसमा स्ट्रोङ देखाइएको छ' उनले भने 'पूर्वेली आञ्चलिक भाषा र लवज प्रयोग गरिएको छ। पात्रहरु सर्वगुण सम्पन्न नदेखाएर मानवीय संवेदना सहित प्रस्तुत गरिएको छ।'

उपन्यासमा राजनीति, अर्थव्यवस्था, सुपारी तस्करी, हात्ती आतंक मार्फत वर्तमान समयका मानिसको अनुहार पाठकका अगाडि देखिने बताए। अक्षर क्रियसन्सले बजारमा ल्याएको २ सय १९ पृष्ठको यस उपन्यासको मूल्य ३ सय रुपैयाँ राखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.