|

काठमाडौं : सर्वोच्च अदालतका कायममुकामय प्रधानन्यायाधीश दीपकराज जोशीले सर्वोच्च अदालतका न्यायाधीश गोपाल पराजुलीलाई न्याय परिषदका सचिव नृपध्वज निरौलाले पत्र काट्नेबारे आफूलाई पहिल्यै जानकारी रहेको खुलासा गरेका छन्।

न्याय परिषदका सचिव नृपध्वज निरौलाले बुधबार पत्र काटेर प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भएको जानकारी गराएका थिए। सोही पत्रका आधारमा पराजुली पदमुक्त भएपछि कायममुकायम प्रधानन्यायाधीश बनेका जोशीले उक्त पत्रबारे भने, 'पत्र काट्ने सचिवको व्यक्तिगत निर्णय होइन, यो जानकारी मात्र गराइएको हो।' निरौलाले व्यक्तिगत रुपमा पत्र काटेको भन्ने सञ्चारकर्मीको जिज्ञाशामा जोशीले पत्र काट्नेबारे आफूलाई पूर्वजानकारी रहेको प्रष्ट पारे। कसले पत्र काट्न लगाएको भन्नेबारे भने केही बताएनन्।

उनले प्रधानन्यायाधीश गोपाल पराजुलीले आफ्नै मुद्दा आफैले हेरेर गल्ती गरेको पनि बताए। उनले भने, 'आफ्नो मुद्दा आफैं हेर्न त मिल्दै मिल्दैन।' जोशीले पराजुलीको विषयमा थप कदम आफू प्रधानन्यायाधीश भएपछि चाल्ने बताए।

सर्वोच्च अदालतमा जारी समस्या समाधानका लागि प्रधानन्यायाधीश गोपाल पराजुलीले पछाडि हट्नुपर्ने बताएका छन्।

प्रधानन्यायाधीशको कार्यकक्षमा कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेलगत्तै सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले अहिले सर्वोच्च अदालत आन्तिरक कारणले समस्यमा रहेको र त्यसको समाधानका लागि कोही न कोही पछाडि हट्नुपर्ने बताए।

उनले भने,  'अहिले देखिएको समस्या समाधान गर्न कहिलेकाँही पछि पनि हट्न सक्नुपर्छ। म अघि बढेँ बढेँ भनेर हुँदैन।

अदालतमा देखिएका कमी कमजोरी हाम्रै हो, अरुलाई दोष दिएर हुन्छ र?'

जोशीले आफू प्रधानन्यायाधीश भएपछि सर्वोच्च अदालतका विगतका ऐतिहासिक र पुरातत्विक विषय र सामाग्री सर्वसाधारणले समेत हेर्न पाउनेगरी संग्रहालय बनाउने लक्ष्य रहेको बताए। त्यस्तै,  सर्वोच्च अदालतको व्यस्थापनपक्षलाई आफ्नो कार्यकालमा चुस्त दुरुस्त राख्ने जोशीको भनाइ थियो। उनले त्यसका लागि 'सर्वोच्च अदालतले लक्ष्य निर्धारण गरेको पञ्चवर्षीय योजना छ। त्यो कार्यान्वयन नगर्न खोजिएको छ। तीनपटक भइसकेको छ सारेको, अब त्यसैलाई कार्यान्वयन गर्ने हो।'

जोशीले सर्वोच्च अदालतले नागरिकको न्यायको सुरक्षाको लागि काम गर्ने बताए। उनले भने, 'नागरिकको सुरक्षाको लागि न्यायालय सधैभरी तत्पर छ। सरकारको पक्ष लिने भन्ने कुरा आउँदैन। नागरिकको सुरक्षाको पक्षमा अदालत हुन्छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.