|

काठमाडौं : भारतको राजधानी सहर दिल्ली र अर्को सहर गुहाटीमा  नेपाली नाटक 'जिउँदो आकाश' मञ्चन भएको छ।

यी दुई सहरमा आयोजित 'आठौँ अन्तर्राष्ट्रिय ओलम्पिक ड्रामा फेस्टिबल'मा नेपाली नाटक ‘जिउँदो आकाश’ मञ्चन गरिएको हो। फागुन २८ मा गुहाटी र ३० गते  दिल्ली स्थित नेशनल स्कुल अफ ड्रामा आयोतिज आठौँ अन्तर्राष्ट्रिय ओलम्पिक ड्रामा फेस्टिबलमा नाटक मञ्चन भएको हो।

तेस्रोलिंगीको भावना समेटिएको नाटकले ‘प्रकृतिले जे दिन्छ त्यही स्विकार्नुपर्छ,’ भन्ने सन्देश दिन्छ। नाटकले तेस्रो लिंगी पनि यसै समाजका मान्छे भएका र उनीहरूलाई मान्छेकै व्यवहार गर्नुपर्छ भन्ने सन्देश बोकेको छ।

नाटकमा मुख्य पात्रका रुपमा अनिल सुब्बाको अभिनय रहेको छ। नाटकमा उनको अभिव्यक्ति, शारीरिक हाउभाउ, चालढाल तेस्रो लिंगीलाई जिवन्त प्रस्तुत गरिएको थियो। दर्शकहरूले अनुहार हेर्दा र स्वर सुन्दा पुरुष जस्तो लागे पनि उनले गरेको शृंगार र चालढालले तेस्रो लिंगी नै भएको बताएका थिए। फ्रक र सुरुवाल लगाएका अनिलले आफूलाई चरित्रमा पूरै समर्पित गरेका थिए।

गुहाटीको श्री माधवदेव अडिटोरियममा मञ्चन भएको नाटकलाई त्यहाँका दर्शकले कथा एकदमै गहिरो र मार्मिक भएको बताएका थिए। त्यस्तै दिल्ली स्थित नेशनल स्कुल अफ ड्रामामा अभिमन्च नाटकघरमा राति साढे ८ बजे नाटक मञ्चन भएको थियो।

नाटक गतवर्ष पहिलो पटक दोलखाको चरिकोटमा मञ्चन भएको थियो। तेस्रोलिंगीले पनि आम मान्छे जस्तै जन्म लिने हुन्। तर सामाजिक चेतना स्तर कमजोर भएका कारण उनीहरू अन्य सरह स्वतन्त्र भएर बाँच्न पाइरहेका छैन् । त्यस्तै दुई पटक काठमाडौंमा मञ्चन भएको यस नाटकले गुहाटी र दिल्लीमा पनि खचाखच दर्शक पाएको थियो। स्थानीय दर्शक मात्र नभएर नाटक हेर्न गुहाटी र दिल्लीमा रहेका थुप्रै नेपालीहरू पनि नाटक मञ्चनस्थल पुगेका थिए।

नेपाली नाटकको मञ्चनले यस नाटक महोत्सवको महत्व बढाएको गुहाटी स्थीत नाटक महोत्सवका आयोजक प्रान्जल शाहले बताए। परम्परागत विभिन्न नृत्य शैली र देशका नाटकहरूले पनि महोत्सवलाई विशेष बनाइदिएको थियो।

नाटकमा अनिल सुव्वाको एकल प्रस्तुतिले दर्शकलाई भावुक बनाएको थियो भने विनोद बञ्जारा, विश्व काफ्ले, टंक टाइगर (संग्रौला), सुशान्त चालिसेका संगीत संयोजनले दर्शकलाई छोएको थियो।

नाटकका निर्देशक रोशन कुमार महेताले दुई शहरमा नाटक देखाउन पाउँदा खुसी लागेको बताए। उनी भन्छन्, 'यहाँ भाषा नबुझेकाहरूले पनि हाम्रो नाटक हेर्न आउनु भयो यसले हामीलाई अझ धेरै ऊर्जा मिलेको छ।' उनले यो नाटकलाई अन्य देशमा पनि प्रदर्शन गर्ने योजना रहेको बताए।

डाँफे थिएटरको प्रस्तुति रहेको नाटकमा चन्द्रप्रसाद पाण्डेको लेखन र आरके मेहता रोशनको निर्देशन रहेको छ। नाटकको निर्माण सम्रान्त थापा र टंक टाइगर (संग्रौला)ले गरेका हुन भने नाटकमा पार्श्व चित्र काजी राणाले गरेका थिए। नाटकको संयोजक नरेन्द्र बराल र विनोद ढकालले गरेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.