देउवा नेतृत्वले पार्टी हाँक्न नसक्ने र सामन्तवादी प्रवृत्ति हाबी भएको सिटौला समूहको निष्कर्ष

|

काठमाडौं : नेपाली कांग्रेसका युवा नेता गगन थापाले पार्टीलाई नेतृत्वले सैनिक डफ्फाझैँ प्रयोग गरिरहेको अरोप लगाएका छन्। पार्टीभित्र तेस्रो धारको रूपमा कृष्णप्रसाद सिटौलाले नेतृत्व गरेको छुट्टै समूहले शुक्रबार बिहान राजधानीको एक पार्टी प्यालेसमा आयोजना गरेको भेलामा नेता थापाले नेतृत्वप्रति लक्षित गर्दै भने, ‘जनताको कुरा नसन्ने, पार्टी विधान, पद्धतिलाई कुल्चँदै आफूलाई शक्तिशाली ठान्नेहरूले के पार्टीलाई सैनिक डफ्फा ठानेका हुन्?’ उनले एकपछि अर्को गल्ती गर्दै जाने र पार्टीभित्र बलियो भएँ भनेर पार्टी बलियो नहुने प्रस्ट पारे।

‘पार्टीमा बलियो भएँ अब सबैले सलाम गर्छन् भन्ने ठानेको हो भने व्यक्ति त बलियो हुन्छ होला तर पार्टी बलिायो हुँदैन’ थापाले पार्टी सभापति शेरबहादुर देउवाप्रति लक्षित गर्दै भने, ‘के पार्टी भनेको सेनाको डफ्फा हो र? जहाँ सलाम सर भनेकै आधारमा सैनिक टुकडी बलियो र दुरुस्त रहेछ भनेर, पार्टी बलियो बनाउन त जनताको मत जित्नुपर्छ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति पनि तीखो व्यङ्ग्य गरे। उनले भने, ‘हामी गणतन्त्र जिन्दावाद भनेर नारा लगाइरहँदा बयलगाढामा चढेर अमेरिका वा चन्द्रमा पुग्न सकिँदैन भन्ने व्यक्ति आज प्रधानमन्त्रीको कुर्सीमा बसरे त्यही गणतन्त्र कार्यान्वयन गर्छु भन्दै छन्, अब उनबाट परिवर्तनको रक्षा हुन्छ कि प्रयोग भन्ने स्पस्ट हुन्छ।’

उनले कांग्रेसले स्थानीय तहको निर्वाचन कतै हार्ने र जित्ने गरे पनि बारामा भएको चुनाव प्रचारमा सिम्रौनगढमा ओली जान नसकेको र सिमरामा आमसभा गर्दा राजेन्द्र महतो जान नसकेको दाबी गरे। उनले राजनीति कांग्रेसले जिते पनि चुनाव जित्न नसकेको बताए। ‘चितवनमा साथीहरूले नमान्दा नमान्दै हँसिया हथौडामा भोट हाल्न लगायौँ। तर, त्यहाँका सबै हँसिया हथौडाहरू एकै ठाउँमा आए’, थापाले भने ‘त्यहाँका पार्टी कार्यकर्ता र शुभेच्छुकलाई के भन्ने?’

कांग्रेसले कम्युनिष्टहरूलाई प्रतिस्‍पर्धी ठाने पनि वामपन्थीले कांग्रेसलाई शत्रु ठान्ने गरेको भन्दै थापाले शत्रुलाई समाप्त गर्नुपर्ने स्वाभाविक लक्ष्य उनीहरूको हुने बताए। थापाले आगामी पाँच वर्षपछि कांग्रेसले प्रतिस्पर्धा नेपाल कम्युनिष्ट पार्टीसँग प्रतिस्‍पर्धा गर्नुपर्ने भन्दै उनीहरूलाई पराजित गर्न करिब १५ लाख मतदाता कांग्रेसको पक्षमा थप्न सक्नुपर्ने बताए। 

ऐना पुछेर दाग हट्दैन

‘एमाले नेतृत्वको सरकारले गल्ती गर्छ र आगामी निर्वाचनमा हामीलाई भोट दिनुस् भनेर मत माग्न जान्छौँ भन्ने योजना बनाएर मात्र सफल भइँदैन’ थापाले भने ‘जनताले त्यसरी मत माग्ने दलका नेताको पहिले अनुहार हेर्नेछन्। साथीहरू त्यसवेला अनुहारमा दाग लागेका नेतृत्वलाई जनताले विश्वास गर्दैन। ऐना पुछेर दाग हट्दैन। अनुहार पुछ्न सक्नुपर्छ।’

पार्टीको नेतृत्व निरंकुश हुँदै गएको प्रति चिन्ता व्यक्त गर्दै युवा नेता थापाले भने ‘पार्टी नेतृत्वले जिम्मेवारी र जवाफदेहिताबाट भाग्यो भने उसलाई अप्ठ्यारोमा परेको अवस्थामा टीका टिप्पणी गर्दा पार्टी नेतृृत्वक कमजोर हुन्छ भनेर बसे पार्टीले थप दुर्घटना व्यहोर्नुपर्ने हुन्छ।’

सामन्ती संस्कारले कांग्रेसलाई छोडेन

भेलालाई  सम्‍बोधन गर्दै कांग्रेस नेता सिटौलाले सामन्ती राणा शासन, सामन्ती भूमिव्यवस्थापन र सामन्ति राजतन्त्रको अन्त्य कांग्रेसले गरे पनि सामन्ती संस्कारले कांग्रेसकै नेतालाई नछोडेको दाबी गरे। 

उनले परिवर्तनको नेतृत्व, शान्ति प्रक्रिया र संविधान निर्माण तथा कार्यान्वयन कांग्रेस नेतृत्वबाट सम्भव भए पनि कार्यान्वयनको चरणमा कम्युनिष्टहरू आएकाले स्थानीय तह, प्रदेश र केन्द्रीय तहमा पार्टी कमजोर भएको वताए। ‘अहिले कम्युनिष्ट पार्टीका नेताहरू नयाँ सामन्तको रुपले अघि बढ्न खोज्दैछन्।
 कांग्रेसमा सामन्ति संस्कारबाट साथीहरूले छुटकारा पाएका छैनन्’, सिटौलाले भने हामी आफ्नै भित्रको सामन्ती संस्कारबाट मुक्त नभई परिवर्तन सम्भव छैन।’

सिटौलाले राज्यले सिंगो अंगहरू पंगु बनाउँदै  सर्वसत्तावाद लाद्‍न खोजिरहेको छ।’ सिटौलाले सरकारको लक्षण हेर्दा संवैधानिक अंगहरूलाई चौतर्फी आक्रमण गरेर लुलो बनाउने ध्याउन्नमा लागेको भन्दै राज्यको नियन्त्रणमा उद्योग र वाणिज्य क्षेत्र राखेर कमजोर बनाउने खतरा बढेको बताए। राज्यले सन्तुलन गुमाउँदै गएको र सत्तामा पुग्नेहरूले सर्वसत्तावाद लाद्‍न खोज्दै गरेको आवास भएको बताए। 

कांग्रेसको वर्तमान नेतृत्व असफल भइसकेको र आफैँभित्र कमजोर भएको नेतृत्वले अब आगामी चुनौतीको सामना गर्न नसक्ने सिटौलाले दाबी गरे। उनले परिवर्तनको नेतृत्व गर्न सक्ने कांग्रेसको हार वा पराजयको जिम्मेवारी नेतृत्वले लिनुपर्ने बताए। पार्टी कमजोर हुनुमा नेतृत्व नै कमजोरी भएको बताउँदै सिटौलाले आफूहरूले कुनै व्यक्ति विशेषलाई दोष नदिई अघि बढ्ने बताए।

कार्यकर्ता नोकर र दास होइनन्

कांग्रेसका केन्द्रीय सदस्य उमाकान्त चौधरीले कांग्रेसका स्थानीय नेता र कार्यकर्तालाई नोकर र दास ठान्ने संस्कार प्रवृत्ति हटाउनुपर्ने बताए। उनले वर्तमान नेतृत्वलाई पार्टी र संगठनको माया नभएको तर पद भने चाहिएको आरोप लगाए। ‘वर्तमान नेतृत्वले व्‍यापारी र पैसा हुनेलाई निर्वाचनमा टिकट दिए’ चौधरीले भने, ‘दुःख पाएका पार्टी कार्यकर्ता निराश भएका छन्।’

चौधरीले कांग्रेसको विचार, नीति र सिद्धान्त ठीक भए पनि नेतृत्वको आचारण, व्यवहार र चरित्र सामन्तवादी संस्कार अनुसारको भएको र  पार्टी विधानविपरीत नेतृत्व चलेको आरोप लगाए। 

नेतृत्व परिवर्तन नभए पार्टी थप कमजोर हुन्छ

कांग्रेसका अर्का नेता प्रदीप पौडेलले पार्टीको वर्तमान नेतृत्वलाई परिवर्तन नगर्ने वा नसच्चिने हो भने पार्टी झन् कमजोर हुने चेतावनी दिए। पार्टीको विधानभन्दा माथि कोही नभए पनि हाल पार्टी नेतृत्वले विधि, विधान र परम्पराविपरीत कार्य गरिहेको आरोप लगाए। पौडेलले भने, ‘विधानभन्दा माथि व्यक्ति रहने हो भने राजतन्त्र किन फाल्नुपर्‍यो र?’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.