काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले शुक्रबार नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसिसी) मा छापा मारी पक्राउ गरिएका कर्मचारीहरूलाई आइतबार म्याद थप गरी अनुसन्धान गर्ने भएको छ।
सिआइबीले शुक्रबार एपेक्स डेभलपमेन्ट बैंकका तत्कालीन अध्यक्ष विष्णुप्रसाद धिताल, सोही बैंकका संचालक ईच्छाबहादुर तामाङ, सुवर्णराज भण्डारी, मधुवनलाल श्रेष्ठ र सोही बैंकका अन्य अधिकृतलगायात १३ जनालाई प्रहरीले पक्राउ गरेको थियो।
एनसिसी बैंक र एपेक्स डेभलपमेन्ट बैंकबीच २०७२ मंसिर ११ गते मर्जर प्रक्रियामा जाने सहमति भएको थियो। मर्ज हुँदा एक अर्ब ५० करोड रुपैयाँ बराबरको नोक्सान भएको निष्कर्ष निकाल्दै राष्ट्र बैंकले अनुसन्धान गर्न भनेपछि ब्युरोले उनीहरूलाई पक्राउ गरेको सिआइबीका प्रमुख प्रहरी नायव महानिरीक्षक पुष्कर कार्कीले बताए।
उनीहरूले भिरालो पाखोबारी, बाटो नपुगेको जग्गाको अधिक मूल्यांकन गरी कर्जा लगानी गरेको, कृत्रिम ऋणीहरू खडा गरेको, कर्जा तमसुकहरूमा एकल ऋणीको मात्र सही छाप गराई साक्षीहरू समेत नराखी कर्जा लिएको आरोप लागेको छ। त्यस्तै, धितो निरीक्षण कर्जा निर्णय, जग्गा किनबेच, रोक्का, कर्जा तमसुक, कर्जा प्रवाह एकै दिनमा गरेको अभियोग उनीहरूमाथि लागेको छ।
पक्राउ परेकाहरूलाई बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान गरिने सिआइबीले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।