|

दमक (झापा) : हुलाकी राजमार्गसँग जोडिएका १० पुराना बजार नयाँ शहर बनाउने क्रम सरकारले सुरु गरेको छ। यसअन्तर्गत प्रदेश १ का दुई बजार यो सूचीमा छन्– मोरङको रंगेली र झापाको गौरीगन्ज।

नयाँ शहरको सूचीमा परेको गौरीगन्जमा यसको प्रारम्भिक कार्य सुरु भएको छ। यसअनुसार पहिलो चरणमा नयाँ शहर बन्दै गरेको गौरीगन्जले १२ ओटा योजना पाएको छ। तीमध्ये अधिकांश सडक पूर्वाधारका योजना रहेका छन्। नयाँ शहर विकासको कार्य गर्दै आएको शहरी विकास डिभिजन कार्यालय इलामका अनुसार पहिलो चरणका योजनाका लागि दुई करोड रुपैयाँ विनियोजन भएको छ। डिभिजन प्रमुख कुमार घिमिरेका अनुसार पहिलो चरणमा शहरी पूर्वाधार विकासको काम भइरहेको छ। ‘बाटो विस्तार, ढल निर्माण, सडक स्तरीकरणलगायतका काम प्रारम्भिक चरणमा हुँदै छन्’, उनले भने, ‘दीर्घकालीन योजनाहरू सुरु हुनुअघि पूर्वाधार विकासका काम प्राथमिकतामा परेका छन्।’

साविक गौरीगन्ज, खजुरगाछी, कोरोवारी र महाभारा गाविस समायोजन भई गौरीगन्ज गाउँपालिका बनेको हो। यस गाउँपालिकामा पर्ने गौरीगन्ज र खजुरगाछी भने पुराना बजार हुन्। बजार क्षेत्र रहेको वडा नम्बर ३ र ६ लाई केन्द्रित गरी प्रारम्भिक योजनाहरू सुरु भएका हुन्। प्रारम्भिक चरणमा सडकहरूको विस्तार गरी ४० फुटसम्मको चौडा बनाइने र पक्की ढल बनाउने योजना रहेका छन्। विकासमा वर्षौंदेखि उपेक्षित बन्नुपरेको महसुस गरेका गौरीगन्जवासीलाई नयाँ शहर र हुलाकी राजमार्गको योजनाले उत्साहित बनाएको बताउँछन्, वडा नम्बर– ३ का वडाध्यक्ष गैदार महतो। ‘खेतीका लागिसमेत यहाँको जमिन उर्वर छ तर ठूला उद्योग नहुँदा बिक्री र बजारीकरणको समस्या छ’, उनले भने, ‘हुलाकी मार्ग बनेमा यहाँबाट भद्रपुर वा विराटनगरसँगको बाटो छोटो हुन्छ। यस्तै, नयाँ शहरको योजनाले पूर्वाधारहरू पनि विकास हुन्छन्। त्यसैले यी दुवै योजनालाई तीव्र गतिमा कार्यान्वयन गर्न जरुरी छ।’

यसरी उपेक्षित बन्यो पुरानो बजार

झापामा नयाँ शहरहरूको उदयसँगै जिल्लाकै पुरानोमध्येको गौरीगन्ज बजार ओझेलमा परेको हो। साविक महाभारा गाविसका पूर्व अध्यक्ष विजय अग्रवाल पूर्व–पश्चिम राजमार्गको विकाससँगै झापाका दमक, विर्तामोडलगायतका नयाँ शहरहरू विकास भएको बताउँछन्। ‘जब राजमार्ग बन्यो अनि त्यसैको आसपासमा बसाइँ सरेर आउने दर बढ्यो। जनसंख्या बढेपछि विकासका पूर्वाधारहरू पनि तिनै क्षेत्रमा केन्द्रित भए’, उनले भने, ‘नयाँ शहरमा पूर्वाधार र सुविधा बढेपछि यहाँका मान्छेहरू पनि त्यसै सरेर जान थालेपछि जिल्लाका पुराना बजार चिया खाने र नुन–तेल किन्ने हटियामा बदलियो।’

पूर्व–पश्चिम राजमार्गको विकासअघि हुलाकी राजमार्ग नै आउजाउको मुख्य बाटो थियो। त्यस बेला विराटनगर, रंगेली, गौरीगन्ज, झापा बजार र भद्रपुर मुख्य व्यनवसायिक केन्द्र थिए’, गौरीगन्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ भन्छन्–‘तर यो क्षेत्र क्रमश पछि पर्दै गए पछि यहाँका व्यवसायीहरू पनि बसाई सरे, कारोवार अन्तै गर्न थाले, नयाँ शहर विकासको योजना शुरु भएकाले अव चाँहि पुरानै चमक फर्किन्छ कि भन्ने आशा छ।’ झापा उद्योग वाणिज्य संघ गौरीगन्ज–खजुरगाछी शाखाका पूर्व अध्यक्ष समेत रहेका श्रेष्ठ नयाँ शहरको विकाससँगै गौरीगन्ज भन्सारको स्तरीकरण गरि नाकाको रूपमा विकास गर्न समेत आवश्यक रहेको बताउँछन्।

अरू शहर पनि आशावादी

गौरीगन्ज नयाँ शहरको रूपमा विकास भएका यसको फाईदा अरू शहरहरूले पनि लिन सक्ने देखिन्छ। हुलाकी मार्गको निर्माण, नयाँ शहरको विकास र गौरीगन्ज नाकाको स्तरीकरण हुने हो भने नेपालका ठूला शहर र भारतसँगको कारोवारका लागि नयाँ विकल्प थपिने दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल बताउँछन्। दमकसँग नजिको दूरीमा रहेको गौरीगन्जमा हुने विकासले दमकलाई पनि फाइदा पुग्ने उनले बताए। ‘दमकमा विकसित भइरहेको औद्योगीकरण र व्यावसायीकरणको फाइदा गौरीगन्ज र गौरीगन्जको विकासको फाइदा दमकले पनि लिने भएकाले समग्र झापाको पश्चिमी भूगोलमै यसको प्रभाव पर्छ।’

यस्तै, दमकबाट पाँचथरको रवि जोड्ने फाल्गुनन्द मार्गको ट्र्याक खुलिसकेकाले पाँचथरदेखि गौरीगन्जसम्मको सोझो सडक संजाल विकास भएको बताउँछन्। उक्त सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष रेवतराज पुरी। ‘दमकदेखि गौरीगन्जसम्म त सडक उच्चस्तरीय ‘ब्ल्याकटप’ छँदै छ’, उनले भने, ‘हामी रविसम्मै सोही ढंगको सडक विस्तारको लक्ष्यमा छौँ। यसले गर्दा दमक ट्रान्जिट हुँदै पाँचथरदेखि गौरीगन्जको व्यावसायिक कारोवार बढ्ने देखिन्छ।’ नयाँ शहरअन्तर्गत पूर्वाधार विकास, हुलाकी राजमार्ग निर्माण र भन्सार स्तरीकरण भए गौरीगन्जको जुट पाँचथर र पाँचथरको अम्लिसो एकै दिनमा एक ठाउँबाट अर्को ठाउँमा पुग्ने उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.