जनमुक्ति सेनाप्रमुखदेखि उपराष्ट्रपतिसम्म

|

काठमाडौं : नन्दबहादुर पुन उपराष्ट्रिपतिमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्। शनिबार भएको मनोनयन दर्तामा उनको मात्र उम्मेदवारी परेपछि पुन दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएका हुन्। माओवादी केन्द्र र एमालेको सहकार्यमा उनले उपराष्ट्रपतिमा उम्मेदवारी दिएका थिए। उपराष्ट्रपतिमा उनको दोस्रो इनिङ हो।

तत्कालीन जनमुक्ति सेनाको प्रमुखदेखि उपराष्ट्रपतिसम्म

पुन माओवादी आन्दोलनका सक्रिय नेता हुन्। १० वर्षे जनयुद्धमा उनले माओवादीको डिभिजन कमाण्डरसम्मको भूमिका निर्वाह गरेका छन्। उनी आफ्ना शिक्षक कृष्णबहादुर महराबाट प्रभावित भएर कम्युनिस्ट आन्दोलनमा लागेका थिए।

पुनको राजनीतिक यात्रा भने २०३७ सालबाट नै सुरु भएका थिए। त्यसबेला कक्षा सातमा पढ्दै गर्दा उनी अनेरास्ववियु छैटौँको राजनीतिमा थिए। यस्तै, २०३९ सालमा बुटवलमा भएको अनेरास्ववियुको प्रथम उपकेन्द्रीय राष्ट्रिय सम्मेलनमा उनी प्रतिनिधि भएर गएका थिए। सम्मेलनबाट फर्किएपछि उनलाई प्रहरीले पक्राउ आदेश जारी गर्‍यो। त्यसपछि उनी तीन रात हिरासतमा समेत बसे।

२०४६ सालताका कम्युनिस्ट आन्दोलन उत्कर्षमा पुगेको थियो। उनी पनि विद्यार्थी राजनीतिबाट वर्ग संघर्षको आन्दोलनमा होमिएका थिए। त्यसैताका तत्कालीन नेकपा मशालको पार्टी सदस्यता लिए। २०४८ सालबाट भने एकताको महाधिवेशनबाट बनेको एकता केन्द्र मसालबाट पूर्णकालीन सदस्य हुँदै कम्युनिस्ट आन्दोलनमा होमिए।

एकताको महाधिवेशनपछि भएको पार्टीको रोल्पा जिल्लासम्मेलनबाट उनी सदस्य चयन भए। त्यसबेला उनका गुरु कृष्णबहादुर महरा जिल्ला सेक्रेटरी भए। त्यसपछि तत्कालीन माओवादीले जनयुद्ध सुरु गर्दा पुन पनि सहभागी भए। पहिलो पटक २०५२ फागुन १ गते माओवादीले रोल्पाको होलेरीमा रहेको इलाका प्रहरी कार्यालयमा आक्रमण गर्दा उनी उत्तर-पश्चिम र दक्षिण कमान्डका लडाकु दलको इन्चार्ज र आक्रमणको सहकमान्डर भएर कामसमेत गरे।

उनी पार्टीको क्षेत्रीय ब्युरो सदस्य हुँदै २०५७ सालबाट केन्द्रीय सदस्य भए। यस्तै, २०६० सालमा तत्कालीन नेकपा माओवादीले भारतको गोवामा गरेको केन्द्रीय समितिको बैठकबाट पार्टीको पोलिटब्युरो सदस्यको जिम्मेवारी पाए। जनयुद्धका समयमा उनी तत्कालीन जनमुक्ति सेनाका कमान्डर हुन्।

माओवादीले पहिलोपटक सरकारसँग गरेको वार्ता असफल भएपछि २०५८ सालमा गठन गरेको जनमुक्ति सेनाको बटालियन कमाण्डर बने पुन। त्यसपछि जनमक्ति सेनाको ब्रिगेड कमान्डर बने। त्यसपछि डिभिजन गठन गरेपछि पनि जनमुक्ति सेनाको डिभिजन कमाण्डरसमेत बने नन्दबहादुर।

जनयुद्धको तयारी गर्दै गर्दा माओवादीका नेतालाई राज्यविरुद्धको गतिविधि गरेको भन्दै तत्कालीन सरकारले उनको टाउकाको मूल्य तोक्यो। जनयुद्धको समयमा धेरैवटा आक्रमण उनकै नेतृत्वमा भएका थिए। पटक-पटकको आक्रमणमा परेर पनि उनी बाँच्न सफल भए। प्रहरीसँगको मुठभेडमा भने उनको हातमा गोली लागेको थियो।

त्यसपछि माओवादीले जनमुक्ति सेनाको सात डिभिजन बनायो। त्यसमा जनमुक्ति सेनाको सुप्रिम कमान्‍डर माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भए। त्यससमयमा उनी डेपुटी कमान्‍डर थिए। शान्तिप्रक्रियापछि सेनाको कमान्‍ड छाड्दै अध्यक्ष प्रचण्ड राजनीतितर्फ आए। त्यसपछि माओवादीको जनमुक्ति सेनाको प्रमुखको जिम्मेवारी पुनको काँधमा आइपर्‍यो। सेना समायोजनपछि भएको पार्टीको अधिवेशनमा उनी केन्द्रीय सदस्य, पोलिटब्युरो सदस्य हुँदै स्थायी समिति सदस्यसमेत भए।

उपचारका लागि स्वदेशमै उपचार गर्ने अडानका कारण चर्चामा

२०६९ सालामा उनको दुवै मिर्गौलाले काम नगर्ने भए। उनलाई उपचारका लागि विदेश लानका लागि सरकार तथा पार्टीले प्रयास गर्‍यो तर उनले अस्वीकार गरे। त्यसबेला राष्ट्रियताप्रति संवेदनशील भएको भन्दै उनको चर्चा भयो। उनले आफ्नो उपचार नेपालमा नै गर्ने, उपचार सम्भव नभए यहीँ मर्ने तर विदेश नजाने उपचार कक्षबाटै घोषणा गरे तर, उनको उपचार नेपालमै सम्भव भयो।

विवादरहित पहिलो कार्यकाल

२०७२ सालमा नेपालको संविधान जारी भएपछि उनी कार्तिक १४ गते उपराष्ट्रपतिमा निर्वाचित भए। माओवादी केन्द्रबाट उनले उपराष्ट्रपतिको उम्मेदवारी दिए। त्यससमयमा तत्कालीन सत्तारूढ गठबन्धन एकीकृत नेकपा माओवादी, नेकपा एमाले, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माले, नेकपा संयुक्त, राष्ट्रिय जनमोर्चालगायत दलले समर्थन गरेका थिए।

उनी उपराष्ट्रपति बनेपछि दुई वर्षको कार्यकाल भने विवादरहित बन्यो। दोस्रो कार्यकाल कस्तो बन्छ, त्यो भने हेर्न बाँकी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.