प्रचण्डलाई मनपर्ने यी ३ गीत

|

काठमाडौं : माओवादीले १० वर्षे जनयुद्ध सुरु गर्दा कलाकारहरूले राम्रै सहयोग गरे। कलाको मध्यमबाट जनतामा चेतना जगाउँदै माओवादीले १० वर्षसम्म युद्ध गर्‍यो। जनयुद्धलाई सफल बनाउन जनवादी कलाकारको पनि त्यतिकै भूमिका रहेको माओवादी नेताले बताउने गरेका छन्। त्यही क्रममा गाउँगाउँमा गीत/संगीतमार्फत चेतना जगाउन हिँडेका माओवादीका सात कार्यकर्तालाई २०५५ फागुन ५ गते तत्कालीन राज्य पक्षले हत्या गर्‍यो।

सारंगी, गितार, मादल र बाँसुरी बोकेर जनयुद्धलाई सहयोग गर्दै हिँडेका सात कलाकारलाई तत्कालीन शाही सेनाले काभ्रेको अनेकोटको एक घरमा चारैतिर आगो लगाएर हत्या गर्‍यो। जनवादी कलाकारहरू च्याङ्वा लामा, गुम्वासिंह लामा, चिनिमाया तामाङ, डम्बर श्रेष्ठ, सावित्री चौलागाईं, सुभद्रा सापकोटा र मञ्जु कुवँरलार्ई तत्कालीन शाही सेनाले हत्या गरेको थियो।

त्यसयता माओवादीको भ्रातृ संगठन जनसाँस्कृतिक महासंघले विविध कार्यक्रम गर्दै सांस्कृतिक प्रतिरोध दिवस बनाउँदै आएको छ। त्यही अवसरमा महासंघले सोमबार काठमाडौंस्थित सभागृहमा २०औँ सांस्कृतिक प्रतिरोध दिवस तथा जनसांस्कृतिक राष्ट्रिय सम्मान कार्यक्रमको आयोजना गर्‍यो। कार्यक्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नेता तथा कार्यकर्ताको भीड थियो।

'जनवादी कलाकारको सम्मान गरियोस्'

माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य तथा जनवादी कलाकार मणि थापाले जनवादी कलाकारको सम्मान गर्नुपर्ने बताए। उनले अझै पनि धेरै जनवादी कलाकारहरूले जीविकोपार्जनका लागि मजदुरी गरिरहनुपरेको भन्दै वाम सरकारले जनवादी कलाकारको सम्मान गर्नुपर्ने बताए। उनले भने,‘एमाले र माओवादीको सरकार आएको छ। यसले जनवादी कलाकारको सम्मान गर्छ भन्नेमा हामी ढुक्क छौँ।’

जनयुद्धलाई शन्ति प्रक्रियासम्म ल्याउन र जनयुद्ध सफल बनाउन गीत/संगीतको धेरै महत्त्व रहेको उनले बताए। थापाले भने, ‘जनयुद्धलाई सफल बनाउन कलाकारको निकै ठूलो योगदान रहेको छ। यस्तो योगदान गरेका कलाकारलाई अब पार्टी तथा राज्यले उचित सम्मान गर्नुपर्छ।’

अहिलेको परिवेशमा पनि जनवादी कलाकारको उतिकै महत्त्व रहेको नेता थापाले बताए। उनले भने, ‘अहिले पनि जनवादी गीत/संगीतको उतिकै महत्त्व छ। समाजवादको बाटोमा जानका लागि जनवादी कलाकारले धेरै योगदान गर्न सक्छन्। अहिले पनि समाजमा धेरै विकृति छ। विकृतिलाई जनवादी कलाकार आफ्ना लेख रचनामार्फत् बाहिर ल्याउनुपर्छ।’

कार्यक्रमले अनुभूतिलाई ताजा बनायो : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यस्ता साँस्कृतिक कार्यक्रमहरूले आफूलाई जनयुद्धका बेलाको अनुभूतिलाई ताजा बनाएको बताए। संस्कृतिक महासंघले आयोजना गरेका पछिल्ला तीन कार्यक्रमले पनि जनयुद्धको झल्को दिएको बताए।

जनवादी कलाकारले जनयुद्धलाई सफल पार्न धेरै सहयोग गरेको उनले बताए। आगामी दिनमा समाजवादको क्रान्तिका गर्नसमेत कलाकारको ठूलो योगदान रहने प्रचण्डको भनाइ थियो। उनले भने, ‘क्रान्ति अझै सकिएको छैन। निरन्तर क्रान्तिमा अगाडि बढ्न आह्वान गर्छु।’

प्रचण्डले कम्युनिस्ट आन्दोलनले विश्वव्यापी उतारचढावका कारण आफ्ना रणनीतिमा उतारचढाव गरे पनि उद्देश्य र लक्ष्यलाई परिवर्तन नगरेको दाबी गरे। समाजवादको कुरा गर्दा साँस्कृतिक क्रान्तिलाई साथै नलगे बिचलन आउन सक्ने खतरा रहेको अध्यक्ष प्रचण्डले बताए। उनले भने, ‘हामी अहिले समाजवाद, समृद्धि र स्थायित्वको कुरा गर्दै छौँ। यस अवस्थामा सांस्कृतिक क्रान्तिलाई जीवन्त राख्न नसकिए विचलन आउनेछ।’

प्रचण्डलाई मनपर्ने यी ३ गीत

साँस्कृतिक कार्यक्रममा सहभागी हुँदा प्रचण्ड प्राय: भाषणभन्दा पनि गीत सुन्न र नृत्य हेर्न मनपराउँछन्। उनले गीत संगीतको माध्यमबाट जनयुद्ध सफल भएको भन्दै गीत/संगीतलाई सम्मान गर्ने बताउँदै आएका छन्।

यस्ता कार्यक्रममा उनले आफ्नो भाषण भने कम गर्ने गर्छन्। सोमबारको कार्यक्रममा पनि उनले भाषण कम गरे तर आफूलाई हतार भएको बताउँदै कार्यक्रममा भने पूरा समय बसेनन्। उनले भने, ‘मैले संसदमा पनि भनेको थिएँ, अब भाषण गर्ने बेला होइन, जनताले नतिजा चाहेका छन्। अब एक्सन लिनुपर्छ। त्यस्तै यहाँ पनि धेरै भाषण गर्न हुँदैन। साँस्कृतिक कार्यक्रम हेर्न आएका हौँ, कार्यक्रम नै हेर्नुपर्छ। यसले जनयुद्धका अनुभूतिलाई ताजा गराउँछ। अझ थप क्रान्ति गर्न बल पुग्छ।’

साँस्कृतिक कार्यक्रमको सुरुमा नै उनले कस्ता गीत छन् भनेर आयोजकलाई सोध्ने गरेको माओवादी नेता मणि थापाले सुनाए। ‘अरू बेलाको जस्ता आज पनि कस्ता गीत छन् भनेर सोध्नुभयो’, उनले भने, ‘धेरै नेताहरू नेपालमा भावुक छैनन् तर अध्यक्षजी भावुक नेता हुनुहुन्छ। भावुक नेताले नै जनताको पीडा बुझेर देशको विकास गर्छन्।’

प्रचण्डले जनयुद्धको समयदेखि नै मनपराउने तीन गीतका बारेमा समेत थापाले सुनाए। प्रचण्डले प्राय: जनवादी गीत सुन्ने बताउँदै उनले ती तीन गीतको नाम लिए। प्रचण्डले मणि थापाको शब्द र संगीतमा रहेको ‘मार्क्सवादको बाटो हो, लेनिनवादको बाटो’, खुसीराम पाख्रिनको ‘गैँती-बेल्चा उचालेर’ र पाख्रिनकै ‘शहीदहरू हाँसिरहेको’ गीत अत्यधिक मनपराउने गरेको थापाले बताए।

उनले भने, ‘अध्यक्षजीले यी तीन गीत असाध्यै मनपराउनुहुन्थ्यो। जनयुद्धका बेलाका प्रत्येक कार्यक्रममा यी गीत छन् कि छैनन् भनेर हामीलाई सोध्ने गर्नुहुन्थ्यो। यस्ता गीत लेख्न हामीलाई प्रेरणा दिनुहुन्थ्यो।’ शान्ति प्रक्रियापछिका साँस्कृतिक कार्यक्रममा पनि यी गीत समावेश भएका छन् कि छैनन् भनेर सोध्ने गरेको उनले बताए। उनले भने, ‘अहिले त सबै कार्यक्रममा बस्न पाउनुहुन्न तर पनि बसेका कार्यक्रममा चाहिँ यी गीत आऊन् भन्ने उहाँको आकांक्षा रहन्छ।’

स्रस्टालाई सम्मान

दिवसकै अवसरमा जनसाँस्कृतिक महासंघ, नेपालले प्रगतिशील साँस्कृतिक क्षेत्रमा विभिन्न विधामा योगदान गर्ने विशिष्ठ व्यक्तित्वलाई सम्मान गर्ने सँस्कृतिको स्थापना स्वरूप जनसाँस्कृतिक राष्ट्रिय सम्मान सुरु गरेको छ।

२०५५ चैत ५ गते काभ्रेपलाञ्चोक जिल्लाको अनेकोटमा प्रगतिशील गीत गाउँदै नयाँ साँस्कृतिक अभियानमा संलग्न सात जना जनकलाकारहरूलाई तत्कालीन राज्य पक्षबाट सामूहिक हत्या गरिएको दिनको सम्झनामा जनसाँस्कृतिक राष्ट्रिय सम्मान सुरु गरेको हो।

सोही क्रममा लाइफटाइम एचिभमेन्टबाट नारायणभक्त श्रेष्ठ ‘रायन’, प्रगतिशील साहित्यतर्फ विमल निभा, प्रगतिशील संगीततर्फ जीवन शर्मा, प्रगतिशील गायनतर्फ सीता आचार्य, प्रगतिशील चलचित्रतर्फ सुभाष गजुरेल, प्रगतिशील ललितकलातर्फ रामकृष्ण भण्डारी, प्रगतिशील नाट्यतर्फ अशोक शिवाकोटी र  प्रगतिशील नृत्यतर्फ जाइका वान्तवा राईलाई सम्मान गरेको छ।

कार्यक्रममा जनवादी कलाकारहरूले आफ्ना गीत तथा नृत्यसमेत प्रस्तुत गरेका थिए। उनीहरूले युद्धकालका गीत/संगीत प्रस्तुत गर्दै गर्दा प्रचण्डसमेत भावुक देखिएका थिए। 

नाटकमार्फत् व्यंग्य  

दिवसको अवसर पारेर महासंघले नाटक पनि प्रस्तुत गर्‍यो। किशोर अनुराग निर्देशित नाटकले जनयुद्धको समय र शन्ति प्रक्रियापछिको समयलाई समेट्न खोजेको छ।

जनयुद्धमा धेरैले साहदत प्राप्त गरे। तर शान्ति प्रक्रियापछि शहीदहरूको सपनालाई माओवादीले पनि पूरा गर्न नसिकेको विषयवस्तुलाई समेटिएको छ। नाटकमा जनयुद्धमा होमिएका कलकारहरूको हत्या हुन्छ। वर्ग संघर्षको आन्दोलनमा होमिएका पूर्वी नेपालदेखि पश्चिम नेपालसम्मका शहीदको आत्माले कुरा गरिरहेको हुन्छ। आफूहरू वर्ग संघर्षको आन्दोलनमा लाग्नुको कारण भनिरहेका हुन्छन्।

त्यसबेला नाटक हेरिरहेका अधिकांश दर्शकको गहभरि आँसु आइरहेको थियो। तर त्यही नाटकले धेरैले आन्दोलनका क्रममा साहदत प्राप्त गरे पनि शान्ति प्रक्रियापछि माओवादीले बाटो बिराएको देखाउन खोजेको छ। आफ्ना श्रीमान, छोरा, श्रीमती, छोरी तथा परिवारका सदस्य गुमाए पनि अहिले देशमा शान्ति आउन नसकेको नाटकमा प्रस्तुत गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.