|

काठमाडौं : मानव र मानव जीवनसँग निकट रहने पन्छी भँगेरो हिजोआज तपाई हाम्रो घरआँगनमा खासै देखिँदैन। बढ्दो शहरीकरण र मानव जीवनशैलीमा आएको परिवर्तनका कारण यो पन्छीको संख्या पातलिन थालेको छ।

घरआँगन र आसपासमा छरिने अन्नसहित करेसाबारी र खेतबारीमा लगाइने अन्नबाली तथा बोटविरुवामा लाग्ने कीरा फट्याङ्ग्रा भँगेराको मुख्य आहार हो। पर्याप्त आहार, उपयुक्त बासस्थान अभावका कारण पछिल्ला वर्षमा भँगेराको चहलपहल घट्न थालेको विज्ञहरु बताउँछन्। पन्छीविद् डा. हेमसागर बरालले भने, ‘मानिसको जीवनशैलीमा आएको परिवर्तनकै कारण शहरी क्षेत्रमा यसको संख्या पातलिँदै गएको छ।’

भँगेराले गुँड लगाउने परम्परागत शैलीका घर तथा गोठको संख्या नभेटिँदा र अन्न–अनाज हुर्किने खेतबारी मासिँदै जाँदा शहरी क्षेत्रमा यो पन्छीको चहलपहल घट्दै गएको उनले बताए।

कृषिमा बढ्दो कीटनाशक औषधिको प्रयोग, बढ्दो प्रदूषण, मोबाइल फोनको तरंगसहित अन्य विकिरणले पनि शहरी क्षेत्रमा भँगेरा ‘थ्रेट’मा पर्न थालेको विज्ञहरुको बुझाइ छ।

विश्वमा विभिन्न ३२ प्रजातिका भँगेरा अभिलेख गरिएको छ। नेपालमा घर भँगेरा, रुख, कैले, पीत कण्ठे र स्पेनिस भँगेरासहितका पाँच प्रजाति अभिलेख भएको नेपाल पन्छी संरक्षण संघले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.