|

चितवन : नारायणगढ–मुग्लिन सडकखण्डमा तेस्रो चरण (अन्तिम चरण)को कालोपत्रे गर्ने काम सुरु भएको छ। अन्तिम चरणको कालोपत्रेको काम दासढुंगाबाट सोमबार शुरु गरिएको हो।

तेस्रो खण्डमा भित्तो काट्ने काम चलिरहेको उक्त सडकको पहिलो खण्डमा अन्तिम चरणको कालोपत्रे शुरु भएको नारायणगढ मुग्लिन सडक आयोजनाका इन्जिनियर शिवप्रसाद खनालले जानकारी दिए।

नारायणगढ–मुग्लिन सडकको ३४ किलोमिटर क्षेत्रलाई तीन खण्डमा छुट्याएर नेपाल र भारतका ६ वटा निर्माण कम्पनीले सडक चौडा पार्ने काम गरिरहेका गरिरहेका छन्।

‘अहिलेसम्म करिब ८१ प्रतिशत निर्माणको काम सकियो, इन्जिनियर खनालले भने, भित्तो काट्ने ठाउँ बाहेक अधिकांशमा दोस्रो चरणको पिच सकेर अब अन्तिम चरणको पिचको काम थालेका छौं।’

समग्रमा ८१ प्रतिशत काम सम्पन्न भएपनि तेस्रो खण्डमा भने ७० प्रतिशत मात्रै काम पूरा भएको छ । पहिलो खण्डमा ८२ प्रतिशत र दोस्रो खण्डमा ९१ प्रतिशत काम सम्पन्न भएको खनालले बताए।
 
चितवनको नारायणगढदेखि दासढुंगा–१ , दासढुंगादेखि सिमलताल– २ र मुग्लिनसम्म ३ नम्बर क्षेत्र छुट्याएर काम हुँदै आएको छ। समग्रमा उक्त सडकको ३४ किलोमिटर मध्ये पहिलो तहको कालोपत्रे गर्ने काम २४ किलोमिटर सकिएको छ। दोस्रो तहको कालोपत्रेको काम २१ किलोमिटर सकिएको जनाइएको छ।

तीन हमा कालोपत्रे गरिने उक्त सडकको पहिलो र दोस्रो तह ६, ६ सेन्टिमिटरको र तेस्रो तह चार सेन्टिमिटर गरी १६ सेन्टिमिटरको हुने खनाल बताउँछन्। सडकको ग्राभेल देखिनै मापन गर्ने हो भने सडकको कुल उचाइ भने ६१ सेन्टिमिटरको हुने आयोजनाले जनाएको छ। 

उक्त सडकको करिब ३०० मिटर भित्तो काट्न बाँकी रहेकाले सो क्षेत्रमा भित्तो काट्ने र अन्य क्षेत्रमा कालोपत्रेको काम एकैसाथ चलिरहेको छ। नेपाल भारत व्यापार आयोजनाअन्तर्गत सडक चौडा पार्ने काम चलिरहेकले यात्रुहरुको सहजताका लागि प्रहरी परिचालन गरेर यातायात व्यवस्थापन गरिएको जिल्ला ट्रफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तले बताए। 

वर्षातका बेला पहिरोका कारण उच्च जोखिममा रहेको नारायणगढ मुग्लिक सडक अहिले भने सास्ती कम छ। सडक निर्माणका लागि तीन पटक थपिएको म्याद सकिएपछि अहिले चौथो पटक म्याद थपका लागि प्रस्ताव पेश गरिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.