|

चितवन :  चितवन राष्ट्रिय निकुञ्जमा गत वर्ष ल्याइएका अर्ना यहाँको हावापानीमा घुलमिल भएर प्राकृतिक रूपमा रमाउन थालेका छन्। गत वर्षाको बाढीका कारण रोगले ग्रस्त बनेका अर्ना उपचारपछि स्वस्थ बन्दै गएर अहिले गर्भधारणसमेत गरेका छन्।

निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकका अनुसार कोसी टप्पु राष्ट्रिय निकुञ्जको छुट्टाछुट्टै बथानबाट ल्याइएका अर्ना अहिले एउटै समूहमा हिँडडुल गर्न सुरु गरेका छन्। निकुञ्जको पदमपुर क्षेत्रमा बनाइएको खुला खोरमा समूहमा चर्ने, पानी खाने, आहाल बस्ने र रमाउने गरेका छन्। गत वर्ष माघको दोस्रो साता कोसी टप्पुबाट १२ र सदर चिडियाखानाबाट तीन अर्ना ल्याइएकामा चिडियाखानाबाट ल्याएका तीन अर्ना तत्कालै मरेका थिए। 

बाढीका कारण कोसी टप्पुबाट ल्याइएकामध्ये तीन अर्ना मरेपछि अहिले नौ मात्रै बाँकी छन्। तीमध्ये दुई भाले र सात पोथी छन्। ल्याइएका सबै अर्ना प्रजननयोग्य थिए। निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. कमल गैरेले तीन अर्नाले गर्भाधारण गरेको बताए। उनका अनुसार घरायसी भैँसीमा गर्भाधारणपछि देखिने लक्षण अर्नामा पनि देखिएका छन्। करिब दुई महिनाअघि गर्भाधारण गरेको अनुमान गरिएको छ। 

वर्षाछि गत भदौमा निकै बिरामी परेका अर्नालाई औषधि, कृत्रिम घाँस, ढुटो, चना, चोकरलगायत पोषिलो खाना खुवाइँदै आइएको थियो। त्यतिबेला दिनहुँजसो ती खाना खुवाइए पनि अहिले साताको एक पटक मात्रै दिइएको छ। 

पूर्ववत अवस्थामा अर्ना पुगेपछि बाह्य खाना घटाइएको छ। चितवन राष्ट्रिय निकुञ्जमा निकै वर्ष अगाडि अर्ना रहेको भनिए पनि पछिल्लो समय लोप भएपछि प्रजाति विविधीकरण गर्न यहाँ ल्याइएको हो। निकुञ्जमा, बाघ, एक सिंगे गैडा, हात्ती, भालु, नील गाई, चित्तल, चितुवालगायत जंगली जनावर, चराचुरुंगी छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.