|

काठमाडौं : 'आफ्नै घरमा बस्‍न पाउँदा खुसी त लागेकै छ तर लाखौँ नेपालीसँग अझै पनि आफ्नै घर छैन', आफ्नै घर बनाइदिने दाताका छेउमा स्वर्गीय नेता जीवराज आश्रितकी श्रीमती माया ज्ञवाली यसो भन्दै थिइन्।

'मेरो चाहना सबै नेपालीको घर बनोस् भन्‍ने हो। हामी त संघर्षको बाटो, अप्ठ्यारो बाटोमा हिँडेका कम्युनिस्ट पार्टीमा लागेका मान्छेहरूलाई यी भौतिक सुविधाहरूले खासै फरक पर्दैन। न हामी यी सुखसुविधा पाउँला भनेर लागेका थियौँ', उनी थप्छिन्।

२०५० जेठ ३ गतेको घटना मायाको स्मृतिमा ताजै छ, जुन दिन उनको जीवनमा अँध्यारो बनेर आयो। पार्टी कामको सिलसिलामा पोखराबाट चितवन आउँदै गर्दा एमालेका तत्कालीन पार्टी महासचिव मदन भण्डारी र स्थायी समिति सदस्य तथा संगठन विभाग प्रमुख जीवराज आश्रितको गाडी दासढुंगाबाट त्रिशुलीमा खस्यो। नेता भण्डारी र आश्रितको ज्यान गए पनि ड्राइभर अमर लामा भने उक्त घटनामा बाँच्न सफल भए, जुन घटनालाई अहिले पनि रहस्यमय घटनाको रूपमा लिइन्छ। पछि अमर लामाको पनि रहस्यमय हत्या भयाे।

चितवनको दासढुंगा घटना भएको २४ वर्ष पूरा भइसकेको छ। यसबीचमा मायाको जीवनमा थुप्रै उतारचढावहरू भएका छन्। श्रीमानको निधन हुँदा उनी ३५ वर्षकी थिइन्। जतिबेला जीवराज र मायाका १३ वर्षकी छोरी र नौ वर्षका छोरा थिए। अहिले छोरीको पढाइ पूरा भएर विवाह भइसकेको छ भने छोराले एमबीबीएस पढाइ पूरा गरेका छन्।

'पार्टीले दिएको जिम्मेवारी पूरा गर्छु'

पार्टीको केन्द्रीय सल्लाहकार परिषद् सदस्य रहेकी माया गएको मंसिरमा सम्पन्‍न प्रतिनिधिसभा निर्वाचनबाट समानुपातिकतर्फबाट सांसदमा चयन भएकी छन्। श्रीमानको निधन भएयता पार्टीको तर्फबाट पाएको ठूलो अवसरमा रूपमा मायाले यसलाई लिएकी छन्।

वि.सं. २०६४ को संविधानसभाको निर्वाचनमा पनि माया समानुपातिकको उम्मेदवार थिइन् तर सांसद बन्‍ने अवसर भने पाइनन्। पार्टी विभाजन हुँदा २०५४ सालमा मालेबाट पश्चिमाञ्‍चल क्षेत्रको प्रतिनिधित्व गर्दै राष्ट्रियसभाको चुनाव लडेकी मायाले चुनाव भने जित्‍न सकिनन्।

अरू शहीद पत्‍नीहरूले विभिन्‍न समयमा अवसर पाए पनि अहिले आएर अवसर पाउँदा पनि आफू हर्षित भएको उनी बताउँछिन्। उनी यसलाई अवसर नदिइएको भन्दा पनि अवसर बाँडफाँट गर्ने क्रममा पालो नआइपुगेको रूपमा अर्थ्याउँछिन्। 'विगतमा पनि उम्मेदवार त थिएँ, सबैलाई भाग पनि पुग्‍नुपर्‍यो। त्यही भएर म परिनँ', माया भन्छिन्, 'अहिले पनि कतिलाई पुगेको छैन। पहिले नै पाउनु त पर्ने हो तर यस्तै केही प्राविधिक कुराले मिलेन।'

ढिलै भए पनि पार्टीको जिम्मेवारी पाएपछि पार्टीको निर्देशनअनुसार संसदमा भूमिका निर्वाह गर्ने उनको योजना छ। मुलुक संघीयतामा गएकाले सोही संरचनाअनुसार काम गर्नुपर्नेछ। यसलाई आफ्नो क्षमताले भ्याएसम्म न्याय दिने कोसिस गर्ने उनी बताउँछिन्। 'संघीय संरचनाअनुसार अहिले हामीले केन्द्रीय संघको सदस्यको जिम्मेवारी पाएका छौँ। त्यहाँभित्र कस्तो जिम्मेवारी पाइन्छ, कुन समितिअन्तर्गतको जिम्मेवारी पाइन्छ, त्यसअनुसार जिम्मेवारी निर्वाह गर्नेछु', उनी भन्छिन्।

पार्टीले आफूलाई सांसद बनाएकाले पार्टीको चुनावी घोषणापत्रअनुसार काम गर्ने माया बताउँछिन्। पार्टीको केन्द्रीय कमिटी र पार्टी अध्यक्षको विशेष पहलले आफूले सांसद हुने अवसर पाएको मायाले बताइन्। 'पार्टी अध्यक्ष र केन्द्रीय कमिटीले सांसद छनोट गरेको हो। उहाँहरूले नचाहनुभएको भए हुने थिएन', माया भन्छिन्, 'अहिले पार्टीले लिएको नीति, चुनावी घोषणापत्रमा उल्लेख गरिएका राजनीतिक स्थायित्व, विकासको निरन्तरता र तीब्र गतिको विकासका पक्षमा संसदमा दिइएको समितिको जिम्मेवारीअनुसार काम गर्नेछु।'

यसरी सम्झिन्छिन् जीवराज आश्रितलाई

जीवराज र माया गुल्मी रुरु गाउँपालिका निवासी हुन्। तर उनीहरू लामो समयदेखि काठमाडौंलाई कर्मथलो बनाएर काम गर्दै आए। मायाको माइती पनि गुल्मी नै हो। उनीहरू २०४६ सालको जनआन्दोलन सफल भएपछि २०४७ सालमा काठमाडौं आएर बस्‍न थालेका थिए ।

राजनीति गर्ने क्रममा जीवराज पनि काठमाडौंमा आए। विवाहपछि जीवराज पूरै राजनीतिमा होमिए। मायाले सन्तान हुर्काउँदै घर व्यवहार धान्‍न थालिन्। घटना हुँदा माया कृषि सामग्री संस्थानमा पाँचौँ तहको जागिरे थिइन्।

मायाका परिवार पहिलेदेखि नै काठमाडौंमा बस्‍दै आएका थिए भने जीवराजका पनि आमाबुबा नभएका कारण परिवारका अरू सदस्य थिएनन्। त्यही जागिरको सहारामा नै मायाले श्रीमानको मृत्युपछि छोराछोरी हुर्काइन् तर ज्यालादारीको जागिर भएका कारण केही समयपछि जागिर छोडिन्।

श्रीमानको मृत्युपछि सन्तान हुर्काउन र घर व्यवहार एक्लै धान्‍न गाह्रो भए पनि शुभचिन्तक र साथीभाइहरूको सहयोगले केही सहज भएको उनी बताउँछिन्। भन्छिन्, 'उहाँ (जीवराज)को अभाव, सन्तान हुर्काउने जिम्मेवारी त थियो नै, सँगै आफ्नो जीविका चलाउने काममै रहेँ म।'

जीवराज आश्रित पार्टीभित्र इमान्दार नेता मानिन्थे। सँगै उनी परिवारका पनि इमान्दार सदस्य थिए। स्पष्ट वक्ता तथा गल्तीमा खरो रूपमा उत्रिने आश्रितको स्वभावबाट माया असाध्यै प्रेरित थिइन्। उनी कुशल संगठकका रूपमा समेत पार्टीभित्र चिनिन्थे। 'उहाँको व्यवहार सरल थियो। कुशलतापूर्वक पार्टी जिम्मेवारी बहन गर्नुभएकाले उहाँलाई कुशल संगठक पनि भनिन्थ्यो', माया भन्छिन्, 'उहाँबाट एउटा व्यक्ति र पार्टीले सिक्ने कुरा धेरै छन्। यस्तो खालको पार्टी नेता/कार्यकर्ताले मुलुकलाई अगाडि बढाउनका निम्ति महत्त्वपूर्ण भूमिका खेल्न सक्छ।'

जनताले बनाइदिएको घर

काठमाडौं महानगरपालिका- ७ कपनस्थित सरस्वती नगर (गोपीकृष्ण)मा माया ज्ञवालीको दुईतले घर छ। उक्त घर एमालेका शुभचिन्तकहरूको पहलमा निर्माण सम्पन्‍न भएको हो। विभिन्‍न ठाउँमा गरी काठमाडौं उपत्यकामा २२ वर्ष डेराको बसाइपछि मायाले २०७३ सालमा आफ्नै घरमा बस्‍ने मौका पाइन्।

एमाले नेता वामदेव गौतमकी श्रीमती तुलसा थापा र शुभचिन्तकहरूको सहयोगमा एक तला र त्यसभन्दा तलको भाग निर्माण गरिएको थियो। बाँकी तला भने राधिका ट्रष्टको सहयोगमा निर्माण सम्पन्‍न भएको हो। अस्ट्रेलियामा बस्दै आएकी राधिका पोखरेलको पहलमा दुई तला सम्पन्‍न भएको माया बताउँछिन्।

राधाकृष्ण मैनाली भूमिसुधारमन्त्री भएका बेला २०५१ सालमा सरकारको निर्णयबाट आश्रित पत्नी मायालाई आठ आना जग्गा दिइएको थियो। त्यसमध्ये तीन आना बाटोमा गएका कारण अहिले पाँच आनामा घर निर्माण गरिएको छ।

आश्रितको निधनपछि परिवारको जिम्मेवारीसँगै राजनीतिमा सक्रिय रहेकी माया सबै जनता मुक्ति नभएकामा भने दुखी छन्। आफ्नो घर भए पनि जनताको पनि घर होस् भन्‍ने उनको चाहना छ। 'सबै जनता मुक्ति भएनन्। सबै जनताको घर भएन। त्यो चिन्ता मलाई अझै पनि छ', उनी भन्छिन्, 'कतिको भूकम्पका कारण घरबारविहीन भएका छन्। सबैको घर होस्। सबै आफ्नो छानामुनि बस्‍न पाऊन् भन्ने मेरो चाहना छ।' 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.