|

संखुवासभा : संखुवासभाबाट चोरी गरी तिब्बतको चाँगा पुर्‍याइएको बुद्धको मूर्ति चीन प्रहरीको सहयोगमा नेपाल प्रहरीले पक्राउ गरेको छ। भोटखोला गाउँपालिका- २ च्याम्ताङका १८ वर्षीय कर्मा भोटेले बेच्न लैजाँदै गरेको अवस्थामा तिब्बतको चाँगाबाट पक्राउ गरिएको हो।

करिब २५० वर्ष पुरानो मूर्ति पक्राउ गरेको दुई महिनापछि मात्र प्रहरीले मंगलबार सार्वजनिक गरेको छ। गत माघ २ गते तिब्बतको चाँगा बजारमा बेच्न लैजाँदै गर्दा पक्राउ गरेको मूर्ति अहिले थप अनुसन्धानका लागि पुरातत्त्व विभागमा पठाइएको छ। 

मूर्ति कुन गुणस्तरको र कति पुरानो हो यकिन जानकारी नआएको प्रहरी नायव उपरीक्षक सन्तोष खड्काले बताए। मूर्तिसँगै प्रहरीले भोटेको साथबाट बौद्ध लिपि, चाँदीका विभिन्न गरगहना (भाङ्दी), सिमाला, हिडमालालगायतका सामग्री पनि बरामद गरेको छ। 

भोटेले आफ्नै घरका सामग्रीहरू पनि तिब्बत लगेर बेचिरहने गरेको र त्यसकारण पनि अनुसन्धानमा ढिलो भएको प्रहरीले बताएको छ। भोटेसँग बरामद गरिएका कतिपय सामग्रीहरू उनकै पनि हुन सक्ने प्रहरी नायव उपरीक्षक खड्का बताए। 

जिल्ला प्रहरी कार्यालय संखुवासभाले पक्राउ परेका भोटेलाई केही दिन थुनामा राखेर अनुसन्धान गरिने जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.