|

पर्वत : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अबको पालो भनेको मुलुकको विकास र समृद्धिको भएको बताएका छन्। राष्ट्रियसभामा निर्वाचित भएपछि पहिलो पटक गृहजिल्ला पर्वत पुगेका तिमिल्सिनाले जिल्ला समन्वय समिति पर्वतले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै लामो समयको संघर्षपछि मुलुकमा दिगो सरकार बनेकाले अबका दिनमा मुलुकको समृद्धिको निम्ति काम गर्नुपर्ने बेला आएको बताए। 

अध्यक्ष तिमिल्सिनाले भने, ‘मुलुकलाई स्थिरता प्रदान गर्न र संघीयता कार्यान्वयनका लागि आवश्यक केन्द्र प्रदेश सरकारले सबै खाले कानुन निर्माण गर्न आवश्यक छ। त्यसपछि तीनै तहमा काम गर्न सहज हुन्छ।’  

अध्यक्ष तिमिल्सिनाले नेपाल प्राकृतिक स्रोत र साधनले भरिपूर्ण छ। यिनै स्रोत साधनको भरपूर प्रयोग गर्नुपर्नेमा जोड दिए। कृषि, पर्यटन, जलस्रोत, खानीहरूको अपार सम्भावना भए पनि स्थिर सरकार नहुँदा ती टुंगोमा पुग्न नसकेको बताउँदै तिमिल्सिनाले अब समृद्ध राष्ट्र बनाउनका लागि वातावरण बनेको समेत बताए। 

‘हिजो संविधान निर्माण गर्दा जसरी सबै दलहरूले सहमति जुटाए, त्यसरी नै मुलुकको निर्माणका लागि अघि बढ्नुपर्ने आजको आवश्यकता छ’, उनले भने। संघीय संसद र प्रदेश संसदमा आवश्यक कानुन नहुँदा काम गर्न कठिनाइ भएको बताउँदै राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले दुवै तहमा शीघ्र नीति र कानुन निर्माण गरेर अघि बढ्न आफू तयार रहेको उल्लेख गरे। 

सबै पक्षलाई मिलाएर सहमति र सहकार्यको मूल्य र मान्यतामा आधारित भएर आफूले काम गर्नेमा ढुक्क बन्न अध्यक्ष तिमिल्सिनाको आग्रह छ। कार्यक्रममा तिमिल्सिनालाई जिल्ला समन्वय समिति पर्वतका संयोजक मनोहर बी पौडेलले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.