|

ज मार्च २१ अर्थात अन्तर्राष्ट्रिय रंग विभेद उन्मुलन दिवस। यस दिवसलाई नेपालमा अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसका रुपमा मनाइन्छ। सन् १९६० मा दक्षिण अफ्रिकामा काला र गोराबीचको विभेद अन्त्यका लागि भएको शान्तिपूर्ण आन्दोलनका दौरान आजकै दिन प्रहरीले सार्पभिल्लीमा आन्दोलनकारीमाथि गोली वर्षाउँदा ६९ सर्वसाधारणको निधन भएको थियो। त्यही दिनको संझनामा छालाको रंगका आधारमा गरिने विभेद उन्मुलन गर्ने उद्देश्यले संयुक्त राष्ट्रसंघको पहलमा विश्वभर यो दिवस मनाइने गरिन्छ। छालाको रंगका आधारमा वा जातीय आधारमा हुने विभेद अन्त्यका लागि अमेरिकामा सन् १९५४ देखि १९६८ सम्म चलेको ‘सिभिल राइटस् मुभमेन्ट’ सधैं सबैको संझनामा छ। यस आन्दोलनको अगुवाई गरेका थिए, मार्टिन लुथर किङ जुनियरले। आन्दोलनको प्रभाव स्वरुप सन् १९६४ बाट अमेरिकामा केही राज्यमा कायम रहेको काला र गोराहरुबीचको विभेद अन्त्य भएको थियो। काला जातिले पनि अमेरिकाका सबै राज्यमा भोट खसाल्ने अधिकारप्राप्त गरेका थिए।  

मार्च अफ वासिङटन
सन् १९६३ मा अगस्ट २८ मा भएको ‘मार्च अफ वासिङटन’ अमेरिकाको आधुनिक इतिहासमा भएको सबैभन्दा ठूलो जनप्रदर्शन हो। यस प्रदर्शनमा २ लाख ५० हजारभन्दा धेरैको सहभागिता थियो। जनप्रदर्शनपछि अमेरिकी सरकारले बाध्य भएर काला र गोराहरुबीच केही राज्यमा विद्यमान असमानतालाई अन्त्य गरेको थियो। अब्राहम लिंकनको शालिक अगाडि उभिएर मार्टिन लुथर किङले प्रदर्शनकारीहरुलाई गरेको सम्बोधनलाई विश्वका क्रान्तिकारी नेताहरुले गरेका सम्बोधनमध्ये सबैभन्दा स्पष्ट, मार्मिक र ओजनदार मानिन्छ। यो सम्बोधन ‘आई ह्याभ अ ड्रिम’ का नामले प्रसिद्ध छ। उनको सम्बोधन सकिएपछि विगतका तिक्तता संझेर गोरा र कालाहरुले एकअर्कासँग अंकमाल गर्दै रोएका दृश्यहरु टेलिभिजनमार्फत विश्वका दशौं लाखले हेरेका थिए। जसले 'अमेरिका सबैका लागि' भन्‍ने सशक्त सन्देश विश्‍व समुदायलाई दिएको थियो। अमेरिकी इतिहासमा यो आन्दोलनलाई 'सिभिल राईट्स मुभमेन्ट' मानिन्छ। जातीय विभेदविरुद्धको आन्दोलन सफल भएपछि मार्टिन लुथर किङ धनी र गरिबबीचको खाडल अन्त्यका लागि आर्थिक असमानताविरुद्धको लडाइँमा जुटेका थिए। तर आन्दोलनको तयारी अन्तिम अवस्थामा पुगेका बेला सन् १९६८ मा उनको हत्या भयो। किङ्क हत्याको ४० वर्षपछि अमेरिकाले अश्‍वेत वर्ण पहिलो राष्ट्रपति पायो, बाराक ओबामा।  
प्रस्तुत छ किङको विश्‍वचर्चित भाषणको भावानुवाद : 

‘मेरो एउटा सपना छ’

यो प्रदर्शन स्वतन्त्रताका लागि एक महान् प्रदर्शनका रूपमा हाम्रो इतिहासमा दर्ज हुनेछ। त्यस्तो प्रदर्शनमा आज तपाईहरूमाझ उपस्थित हुन पाउँदा खुसी लागेको छ। सय वर्षअघिका एक महान् अमेरिकी अब्राहम लिंकन, उनको प्रतिमूर्तिको छाँयामा आज हामी उभिएका छौँ। उनले स्वतन्त्रताको बिगुल फुकेका थिए। अन्याय र उत्पीडनमा परेका लाखौँ काला दासलाई उनले गरेको मुक्तिको घोषणा आशाका किरण बोकेर आएको थियो। लामो रातको अन्त्यपछि सुखद दिनको शुभारम्भका रूपमा त्यो घोषणालाई लिइयो।

तर आज एक सय वर्षपछि अझै कालाजाति स्वतन्त्र छैनन्। सय वर्षपछि कालाजातिको जीवन अझै विभाजन र विभेदको जन्जिरले बाँधिएको छ। सय वर्षपछि निग्रो अर्थात् कालाजाति भौतिक समृद्धिको महासागरबीच गरिबीको एक्लो टापुमा निराश जीवन बाँचिरहेका छन्। उनीहरू अझै अमेरिकी समाजको कुनामा थन्क्याइएका छन्। र, आफ्नै भू–भागमा लज्जाजनक अवस्थामा शरणार्थी जीवन बिताउन बाध्य छन्।

यस अर्थमा आज हामी राजधानीमा आफ्नो पुरानो चेकबाट नगद साट्न आएका छौँ। हाम्रो गणतन्त्रका अभियन्ताहरूले संविधानमा सही शब्द रोज्दै स्वतन्त्रताको घोषणा गरेका थिए। उनीहरूको भिष्मप्रतिज्ञा सबैका लागि थियो। हो, काला, गोरा सबैका लागि जीवनको अधिकार सुरक्षित गर्ने उनीहरूको प्रतिज्ञा थियो। त्यो, घोषणा स्वतन्त्रता र खुसीको वहार थियो। तर, आज अमेरिकाले त्यो प्रतिज्ञा पूरा गर्न सकेन। आज अमेरिकाले कालाहरूलाई क्षतिपूर्तिका नाममा नक्कली चेक दिएको छ। त्यस्तो खाताको चेक जहाँ पर्याप्त पैसा छैन। तर, हामी अझै न्यायको बैंक लुटिएको मान्न तयार छैनौँ। सम्भावनाको खानी रहेको यस देशको बैंकमा जनताका लागि न्यायको पर्याप्त रकम छैन भन्ने हामीलाई पटक्कै विश्वास छैन। हामी त्यही चेकलाई नगदमा बदल्न आएका छौँ। त्यस्तो चेक, जसले हामीलाई बदलामा हदैसम्मको स्वतन्त्रता र न्यायिक सुरक्षा दिनेछ।

हामीले आफ्नो अधिकार प्राप्तिका क्रममा गलत काम गरेर पश्चाताप गर्नुपर्ने दिन नआओस्। घृणा र अशान्तिको कपबाट पानी खाएर अधिकारको तीर्खा मेट्ने प्रयास कृपया हामी नगरौँ। हामीले हाम्रो संघर्षलाई अनुशासन र वजनको अग्लो विमानमा सजाउनुपर्छ। सिर्जनात्मक प्रदर्शनलाई भौतिक दंगा वा उच्शृंखलतामा लगेर ठोक्काउनु राम्रो हुँदैन।

हामी यस पवित्र क्षेत्रमा उच्शृंखल बन्दै गएको वर्तमान तनाव सुनाउन पनि आएका हौँ। हामीसँग कुलिङ अफको आनन्द लिने वा निरन्तर विकासका प्रक्रिया आत्मसात गर्दै धैर्यताको ड्रग्स लिने समय छैन। यो विभाजनको अँध्यारो मरुभूमिबाट उठ्दै रंगभेद हटाएर न्यायको सुनौलो गोरेटोमा बढ्ने समय हो। हाम्रो देशलाई रंगभेदको बालुवाबाट उठाएर भ्रातृत्वको कडा चट्टानसम्म लैजाने समय हो। यो समय भगवानका सबै बालबच्चाका लागि न्यायको सपना वास्तविकतामा परिणत गर्ने समय हो।

वर्तमान आन्दोलनको महत्वलाई कम आँक्नु राष्ट्रका लागि खतरनाक हुनेछ। यो अधिकारप्रतिको निग्रोको असन्तुष्टिको तातो गर्मी याम हो। त्यसैले स्वतन्त्रता र समानताको हिउँदले ताजा नगरेसम्म यो तातो पोल्ने गर्मी हट्नेछैन। सन् १९६३ अन्त्य होइन, तर सुरुआत हो। त्यसैले अमेरिकाले फेरि पुरानै अवस्थामा फर्कन खोजे निग्रोहरू असभ्य रूपमा जाग्नेछन्। निग्रोले आफ्नो अधिकार नपाएसम्म अमेरिकामा न शान्ति हुनेछ, न त अमनचयन नै। आन्दोलनको आँधी हाम्रो देशको जगसम्म पुग्नेछ, जतिबेलासम्म न्यायको सुनौलो घाम उदाउने छैन।

न्यायको दरबारसम्म पुर‍्‍याउने दैलोमा उभिनुभएका जनतासामु मैले अझै केही भन्नैपर्ने हुन्छ। हामीले आफ्नो अधिकार प्राप्तिका क्रममा गलत काम गरेर पश्चाताप गर्नुपर्ने दिन नआओस्। घृणा र अशान्तिको कपबाट पानी खाएर अधिकारको तीर्खा मेट्ने प्रयास कृपया हामी नगरौँ। हामीले हाम्रो संघर्षलाई अनुशासन र वजनको अग्लो विमानमा सजाउनुपर्छ। सिर्जनात्मक प्रदर्शनलाई भौतिक दंगा वा उच्शृंखलतामा लगेर ठोक्काउनु राम्रो हुँदैन। जारी राख्नुपर्छ। फेरि फेरि पनि हामीले राजकीय शैलीमा उदाउँदै भौतिक फौजसँग आत्मिक बलले लड्ने ताकत राख्नुपर्छ। निग्रो समुदायका हरेक सैन्यले हामीलाई प्रत्येक गोराहरूसँग अविश्वास गर्नका लागि बाध्य पार्न मिल्दैन। हाम्रा धेरै गोरा दाजुभाइ आज साक्षीका रूपमा यहाँ उपस्थित हुनुहुन्छ। उहाँहरूलाई थाहा छ कि हाम्रो गन्तव्य र उहाँहरूको गन्तव्य जोडिएको छ। उहाँहरूले यो मनन गरिसक्नुभएको छ कि हामी स्वतन्त्र नभएसम्म उहाँहरूको स्वतन्त्रता कुण्ठित नै रहनेछ।

हामी एक्लै हिँड्न सक्दैनौँ। हामीले हिँड्दा सधैँ प्रतिज्ञा गर्न सक्नुपर्छ, हामी अगाडि जानेछौँ। हामी पछाडि फर्कन सक्दैनौँ।

त्यहाँ जनअधिकारका अनुयायीसँग प्रश्न राख्नेहरू भन्छन्, ‘तिमीहरू कहिले सन्तुष्ट हुन्छौ।’ हामी त्यति बेलासम्म सन्तुष्ट हुन सक्दैनौँ, जति बेलासम्म निग्रोहरू प्रहरीको क्रूरताका कारण त्रासविरुद्ध बोल्न सक्दैनन्। हामी त्यति बेलासम्म सन्तुष्ट हुन सक्दैनौँ, जति बेलासम्म हाम्रो शरीरले लामो यात्रापछि थकित भएर सहरको होटलमा आराम गर्न कोठा पाउँदैनौँ। हामी निग्रोका आधातभूत तत्व पूरा नभएसम्म सन्तुष्ट हुँदैनौँ। हामी कहिल्यै सन्तुष्ट हुँदैनौँ जबसम्म हाम्रा बालबालिका आफ्नोपनबाट नांगो रहन्छन् र ‘गोराहरूका लागि मात्रै’ भनेर लेखिएका संकेतहरूबाट उनीहरूको विचारको तौल लुटिन्छ। हामी त्यति बेलासम्म सन्तुष्ट हुँदैनौँ, जति बेलासम्म मिसिसिपीको निग्रोले भोट गर्ने अधिकार पाउँदैन। त्यति बेलासम्म जतिबेलासम्म न्युर्योकको निग्रोले भोट हाल्नुपर्ने कारण पाउँदैन। हामी त्यति बेलासम्म सन्तुष्ट हुनेछैनौँ, जति बेलासम्म ‘न्याय पानी जसरी बग्नेछैन र अधिकार कडा मूलझैँ फुट्नेछैन। ’

मेरो सपना छ कि एक दिन यो राष्ट्र जाग्नेछ र यसको सच्चा अर्थसँग मलाई विश्वास छ- यो सत्य साँचो हुनेछ कि सबै मानिसको सृष्टि समान हो। मेरो सपना छ, एक दिन जर्जियाको रेडहिलमा पूर्वनोकरको छोरा र पूर्वनोकरको मालिकको छोरा एउटै टेबुलमा भ्रातृत्वको भावनासहित बस्ने छन्।

तपाईंहरूमध्ये यहाँ उपस्थित धेरैले महान् समस्या भोगेको कुरासँग म बेखबर छैन। कोही भर्खरै जेलबाट छुटेर आउनुभएको छ। कसैले आफ्नो क्षेत्रमा स्वतन्त्रताका लागि लड्दा मानसिक पीडाको आँधी र प्रहरीको क्रूरता सामना गर्नुपरेको छ। तपाईंहरू सिर्जनात्मक पीडाका दिग्गज हुनुहुन्छ। यो विश्वासका साथ काम अघि बढाउनुहोस् कि नसुनिएको पीडा अझै शक्तिशाली हुन्छ। मिसिसिपी फर्कनुस्, अलाबामा फर्कनुस्, दक्षिणी कारोलिना फर्कनुस्, जर्जिया फर्कुनस्, लुइसियाना फर्कनुस्। उत्तरी सहरका झुपडीहरूतिर फर्कनुस्, यो बुझेर कि अहिलेको अवस्थामा परिवर्तन हुनेछ।

आशाबिनाको उपत्यका भ्रमण नगर्नुहोस्, मेरा साथीहरू, आज म भन्दै छु। हामी आज र भोलिका समस्या भोग्दै छौँ, मसँग अझै सपना छ। यो सपना अमेरिकी सपनासित गहिरोसँग जोडिएको छ।

मेरो सपना छ कि एक दिन यो राष्ट्र जाग्नेछ र यसको सच्चा अर्थसँग मलाई विश्वास छ- यो सत्य साँचो हुनेछ कि सबै मानिसको सृष्टि समान हो।

मेरो सपना छ, एक दिन जर्जियाको रेडहिलमा पूर्वनोकरको छोरा र पूर्वनोकरको मालिकको छोरा एउटै टेबुलमा भ्रातृत्वको भावनासहित बस्ने छन्।

मेरो सपना छ, एक दिन मिसिसिपी राज्य, अन्यायको गर्मी चढेको राज्य, दमनको गर्मी चढेको राज्य, एक दिन स्वतन्त्रता र न्यायको राज्य बन्नेछ।

मेरा सपना छ, एक दिन मेरा चार छोराछोरी त्यस्तो देशमा हुनेछन्, जहाँ उनीहरूको मूल्यांकन छालाको रंगबाट होइन, बरु उनीहरूको चरित्रबाट हुनेछ।

मसँग आज सपना छ।

मसँग सपना छ- अलाबामा, जहाँ क्रूर रंगभेदी छन्, त्यहाँ एक दिन सानो कालो बच्चा र सानी काली बच्चीले सानो गोरो बच्चा र सानी गोरी बच्चीसँग दाजु र बहिनीका रूपमा हात मिलाउनेछन्।

मसँग आज सपना छ। मसँग सपना छ- कुनै दिन सबै उपत्यका उच्च हुनेछन् र सबै पहाड तथा हिमालहरू झुकेका हुनेछन्। बाँझो जमिनहरू खेतीयोग्य हुनेछन् र घुमाउरा ठाउँहरू सीधा हुनेछन्। भगवानको महिमा प्रदर्शन हुनेछ र सबै जीवितहरूले त्यसलाई एकसाथ हेर्नेछन्। यो हाम्रो आशा हो र यही आशा बोकेर म दक्षिण जाँदै छु।

यही विश्वासका साथ हामी आशाको ढुंगाले हामी निराशाका शिखर चिर्नेछौँ। आशाको ढुंगा खोज्नेछु। जंगली अवस्थामा रहेको हाम्रो देशलाई भ्रातृत्वको सुन्दर कलाका रूपमा रुपान्तरण गर्नेछु। यही आशाका साथ हामी एकसाथ काम गर्न सक्छौँ। एकसाथ प्रार्थना गर्न सक्छौँ। एकसाथ संघर्ष गर्न सक्छौँ। एकसाथ जेल जान सक्छौँ। एकसाथ स्वतन्त्रताका लागि उभिन सक्छौँ। यही थाहा पाएर कि एक दिन हामी स्वतन्त्र हुनेछौं। र, त्यो दिन हुनेछ, जब सबै भगवानका बालबच्चाले नयाँ अर्थसहित हाम्रो राष्ट्रिय गीत गाउनेछन्। र, यदि अमेरिका महान् देश हुने हो भने यो साँचो हुन आवश्यक छ।

स्वतन्त्रतालाई न्यु ह्याम्प्सायरको हिलटपबाट बज्न दिऔँ

स्वतन्त्रतालाई न्युर्योकको हिमालहरूबाट बज्न दिऔँ...

स्वतन्त्रतालाई हरेक पहाड र मिसिसिपीबाट बज्न दिऔँ...

यस्तो हुनेछ र हामीले स्वतन्त्रतालाई बज्न दिनेछौँ। जब हामीले यसलाई हरेक गाउँ, राज्य र सहरबाट बज्न दिनेछौँ, तब एक दिन सबै भगवान सन्तान, काला र गोरा, जिउज र जेन्टाल्स, प्रोटेस्टटेन्ट र क्याथोलिकहरू एकसाथ हातेमालो गर्न सक्नेछौँ र पुराना निग्रोका आध्यात्मिक शब्द एकसाथ गाउन सक्नेछौँ।

अन्त्यमा स्वतन्त्र ! अन्त्यमा स्वतन्त्र !

धन्य भगवान्, अन्त्यमा हामी स्वतन्त्र छौँ...

 

...

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.