|

उदयपुर : विद्युत प्राविधिकरण शाखा कार्यालय गाईघाटका प्रमुखलाई सेवाग्राहीले कार्याकक्षमै घेराउ गरेका छन्। प्राधिकरणका शाखा प्रमुख रामअयोध्याय राय यादवलाई बुधबार कार्यकक्षमा सेवाग्राहीले घेराउ गरेका हुन्। उनीहरूले कार्यालयको सेवाप्रति असन्तुष्टिस्वरुप कार्यालय प्रमुखलाई घेराउ गरेका हुन्।

ट्रान्सफर्मर समयमै मर्मत नगरेको, कार्यालयको फोनबाटै सेवाग्राहीलाई धमक्याएको, पोल ढले पनि समयमै मर्मत नगरेको र विद्युत कार्यालय प्राधिकरण गाईघाटका मिटर रिडरले मनोमानी गर्ने गरेको आरोप सेवाग्राहीले लगाएका छन्।

एक महिनामा चार पटक ट्रान्सफर्मर फड्किने गरेको र त्यसको मर्मतका लागि एक हप्ता लगाउने गरेकाले घेराउ गर्न पुगेका सेवाग्राही शिव दाहालले बताए। ‘बच्चाहरूको एसइई परीक्षा आएको छ,’ दाहालले भने, ‘ट्रान्सफर्मर पड्केर पाँच दिनदेखि छ सय घर परिवार विद्युतविहीन छन,तर ट्रान्सफर्मर  बन्दैन, विद्युतका कर्मचारीले लापरवाही गरे, हाकिम भएको ठाँउमा नआए के गर्नु?’

त्रियुगा नगरपाकिलाकाको पुरानो गाईघाट नजिकै पर्ने हवाई मैदानको उत्तरतर्फको करिब छ सय घर परिवार पाँचदिनदेखि विद्युत विहीन हुँदा पनि कार्यालय गैर जिम्मेवार बनेको स्थानीय देवेन्द्र कटुवालले बताए। ‘कार्यालयमा जानकारी गरायो, हाकिमलाई भन् भन्छन’, कटुवालले भने, ‘हाकिमलाई भन्यो, एक हप्ता लाग्छ, तपाँईहरूले नै बिगारेको भन्छ, हाम्रै ट्याक्सले जागिर खाएर हामीलाईनै गाली गर्छन।’

प्राधिकरणको मिटर रिडरहरू समयमा नगइकन सेवाग्राहीलाई फाइन तिराउने गरेकाले  कार्यकक्ष घेराउ गर्न पुगेका सेवाग्राहीको गुनासो थियो। ‘मिटर रिडर समयमै गर्दैनन्, अनि फाइन पर्‍यो भन्दै बिल थामाएर हिडछ्न्,’ स्थानीय मुना दाहालले भनिन्, ‘बिल धेरै उठेको जस्तो लागे हाकिमलाई भेट्नु भन्छन्, यो तरिका के हो?’

विद्युत प्राविधिकरण गाईघाटका कर्मचारी र कार्यालय प्रमुख नै अराजक बन्दै गएको आरोप नेकपा एमाले उदयपुरका नेता महेश रोक्काले लगाए। ‘कतै ट्रान्सफर पड्कियो हप्ता दिनमा पनि मर्मत हुँदैन, कतै समयमै मिटर रिडर नहुने, कार्यालयमा आएर मिटर रिड गरिदेउ भन्दा सेवाग्राहीलाई गाली गर्ने विद्युत प्राधिकरणका कर्मचारीको सँस्कार बनेको छ,’ रोक्काले भने, ‘म सहितको टोली डेलिकेसन आउँदा अबका दिनमा सबै कुरा गर्ने वचन दिनु भएको छ, भएन भने राजनीतिक रुपमा विकल्प खोज्नु पर्नेछ।’

विद्युत प्राधिकरण गाईघाटका प्रमुख रामअयोध्याय राय यादवले फाँटवाला कर्मचारीले लापरबाही गर्ने गरेको बताए। ‘यहाँ आन्तरिक समस्या छ,’ उनले भने, ‘सम्बन्धित फाँटका कर्मचारीले समयमा काम नर्गदा समस्या भएको छ, कर्मचारीको कारण मैले पनि सेवाग्राहीलाई कहिले काँही गाली गर्नु परेको छ।’ ट्रान्सफरमर पड्किएर रोकिएको काम समयमै गर्ने गरी तयारी थालेको प्रमुख यादवले बताए।

विद्युत प्राधिकरण गाईघाटका शाखाअन्तरगत रहेका मिल, काठका मिललगायतका ठूला परिमाणमा विद्युत खपत हुने स-सना घरेलु उद्योगमा विद्युत जडान गर्दासमेत सरकारी शुल्कभन्दा बढी पैसा लिने गरेको एक कर्मचारीले बताए। ‘इन्जिनियर र हाकिम साब मिल्ने पैसा असुल्ने काम सुरु भएको छ,’ नाम उल्लेख नगर्ने शर्तमा उनले भने, ‘घेराउ गर्न धेरै मान्छे आउनुपर्ने हो थोरै आए, उदयपुर सिमेन्टलगायतका धेरै घरेलु उद्योगसँग पनि पैसा बार्गेनिङ हाकिम र इन्जिनियरले गरेका छन्।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.