|

  • पेमा लामा-

काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोक जिल्लाको विकट डाँडापारिस्थित महाभारत गाउँपालिका- ६ बनखुचौरमा रहेको जनमोहन माविको नयाँ विद्यालयको पक्की भवन निर्माण भएको छ। महाभारत गाउँपालिकाभित्र भूकम्पले क्षति पुर्‍याएकामध्ये पुनर्निर्माणपछि निर्माण गरिएका विद्यालयमध्येको यो नै पहिलो पक्की भवन हो। 

२०७२ बैशाख १२ को भूकम्पले क्षति पुर्‍याएको विद्यालय भवन पूर्ण रूपमा क्षति भएपछि समस्या झेल्दै आएका विद्यार्थीहरूले भवन अभावमा टहरामा बसेर अध्ययन गर्दै आइरहेका थिए। ‘जिल्लाको विकट क्षेत्रमा पनि दातृ निकाय र अभिभावकहरूको सहयोगमा यसरी पक्की भवन निर्माण गर्न सकिने रहेछ भन्ने यो गतिलो उदाहरण हो’, शिक्षक तारा छिरिङ लामाले भने। बनेको विद्यालयको भवन अपांगमैत्री, बालमैत्री र अन्य सुविधा सम्पन्न भएकाले  विद्यार्थी, शिक्षक र अभिभावकहरू थप खुसी भएको लामाको भनाइ छ।

विद्यालयका प्रधानाध्यापक रामबलीसिंह दनुवारले विद्यालय भवन बनेपछि पहिलाको भन्दा अझ राम्रो शिक्षा दिन पाउने बताए। जिल्ला शिक्षा कार्यालय र जिल्ला आयोजना कार्यान्वयन इकाई र विद्यालय व्यवस्थापन समितिको सक्रियतामा निर्मित दुई तले उक्त भवनमा आठवटा कक्षा कोठा छन्। कुल एक करोड ५२ लाख ९४५ रुपैयाँ लागतमा भवन निर्माण गरिएको थियो। उक्त विद्यालयमा ४०३ विद्यार्थीहरू अध्ययनरत छन्। 

मंगलबार एक कार्यक्रमका बीच काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिंखडाले भवनको उद्घाटन गरेका थिए। काभ्रेपलाञ्चोक जिल्लामा भूकम्पले क्षति पुर्‍याएका ४९६ विद्यालयका पाँच हजार २२० वटा कक्षाकोठामा क्षति भएकामा ९५४ वटा कोठा पूर्ण क्षति र ९१४ वटा कक्षा कोठा आंशिक क्षति भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ। काभ्रेका २०० बढी विद्यालयका कक्षा कोठा बनाइसकिएको जिल्ला आयोजना कार्यान्वयन इकाईले जनाएको छ।

नाङ्शालको अगुवाइमा ३ विद्यालय भवन निर्माण

२०७२ को भूकम्पले काभ्रेपलाञ्चोकमा भूकम्पपछिको पुनर्निर्माणमा हात हालेको नाङ्शाल एसोसिएसन नेपालले तीनवटा विद्यालय बनाई व्यवस्थापन समितिलाई हस्तान्तरण गरिसकेको छ। नाङ्शालले जिल्लाको धुलिखेल नगरपालिका- १ देवीटारको देवीस्थान माविको दुई तले भवन, रोशी गाउँपालिका- ११ भीमखोरीको शान्ति बुद्ध प्राविको छ कोठे भवन र डाँडापारिको महाभारत गाउँपालिका- ६ बनखुचौरको जनमोहन माविको दुई तले विद्यालय भवन निर्माण कार्य सम्पन्न गरी व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको नाङ्शाल एसोसिएसन नेपालका अध्यक्ष दिनेश लामाले बताए। 

सेभ द चिल्ड्रेनको आर्थिक तथा प्रविधिक सहयोगमा ती विद्यालय भवन निर्माण गरिएको जिल्ला योजना कार्यान्वयन इकाईले जनाएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.