|

दमक (झापा) : साधरणतः चैत खडेरीको महिना हो। तर, झापाका अधिकांश खेतमा यतिबेला असार साउनको झल्को दिने दृश्य देख्न पाइन्छ। किनकि यस क्षेत्रका किसानलाई चैते धान रोप्ने चटारोले छोपेको छ।

जिल्लाका शिवसताक्षी, गौरादह, कमल, गौरीगञ्ज लगायतका स्थानका किसानहरुलाई अहिले चैते धान रोप्ने चटारो छ। सिँचाइ सुविधा पुगेका स्थानमा चैते धान रोप्न किसानहरु व्यस्त छन्। कन्काई नहर सिँचाइ आयोजनाको नहर पुगेको शिवसताक्षी नगरपालिका–६ मा पर्ने अधिकांश किसानका खेतमा अहिले रोपाई चलिरहेको छ। कुलो वा नहरको पानी नपुग्ने ठाउँमा विद्युतीय मोटरबाट पानी तानेर सिँचाइको व्यवस्था गरिएको छ। 

बिहान उज्यालो नहुँदै किसानहरु खेत–खेतमा पुगिसकेका हुन्छन्। ‘यतिबेला घरमा कसैलाई भेट्न सकिँदैन,’ धान रोपाइँमा व्यस्त भेटिएकी रामकुमारी चौधरीले भनिन्, ‘पाहुना आए खेतमै भेटघाट हुन्छ।’

कन्काई सिँचाइ आयोजनाले यस पटक सो क्षेत्रमा चैते धान रोपाइँका लागि पानी दिने सूचना गरेपछि माघ लाग्दै किसानहरूले धानको बीउ जोहो गरेका थिए। ‘अब एक/दुई दिनमै रोपाइँ सक्नुपर्छ, नभए बिउ पनि छिप्पिन्छ,’ बीउ काढ्न व्यस्त शिवसताक्षी–६ का रामलखन चौधरीले भने, ‘असारको रोपाइँ गर्ने बेलामा यो धान पनि त पाक्नु पर्‍यो।’ कन्काई नहरमा यस पटक पर्याप्त पानी आएपछि यस भेगका अधिकांश किसानलाई यतिबेला चैते धान रोपाइँको चटारो परेको हो।

हरायो अर्मपर्म

कृषिमा आधुनिकीकरण भित्रिसकेका शहरोन्मुख गाउँका किसानका लागि कृषि औजार सहयोगी बनेको छ। तर, आधुनिक कृषि यन्त्रको प्रयोगसँगै किसान लगानी पनि बढेको छ। दैनिक ५०० रुपैयाँ ज्यालामा  पाउने कृषि मजदुरको चर्को अभाव रहेको किसानहरु बताउँछन्। ट्रयाक्टरको जोताइ, महँगो ज्यालादारीमा कृषि मजदुर, मलखाद र कीटनशाक औषधि प्रयोगजस्ता कारणले कृषि पेशा महँगो बन्दै गएको छ।

धेरै युवायुवती वैदेशिक रोजगारीमा गएकाले गाउँमा कृषि मजदुरको अभाव छ।  पहिला अर्मपर्म चले पनि अहिले त्यो चलन हराएको छ । ‘हुर्के–बढेका छोराछोरी जागिर खान र पढ्नका लागि  सहरतिर गइहाल्छन्,’ शिवसताक्षीकन किसान वीरबहादुर राजवंशीले भने, ‘कसले गर्ने पर्म।’ 

केही वर्षअघिसम्म यस क्षेत्रका किसानका घरमा कम्तीमा एक हल राँगा अथवा गोरु हुुन्थे। राँगा–गोरुलाई जोत्न, धान दाइँ गर्न, गाडा तान्ने आदि काममा लगाइन्थ्यो। तर, अहिले किसानले राँगा–गोरु पाल्न छोडेका छन्।

‘यहाँ राँगा–गोरु पाल्ने किसाननै छैनन् भने पनि हुन्छ,’ शिवसताक्षी–६ का किसान बुद्धि घिमिरे भने, ‘राँगा गोरुको बिकल्पमा ट्रयाक्टर, थ्रेसर प्रयोग गर्न थालेपछि यस भेगमा राँगा गोरु पाल्ने क्रम बर्सेनि घट्दो छ।’ दही–मही खाने घरमा गाई भैंसी पालेका छन्। 

असन्तुष्ट किसान

आधुनिक कृषि औजारको प्रयोग गरेर खेतीपाती गरे पनि किसान भने सन्तुष्ट छैनन्। लगानीअनुसार प्रतिफल नआउने र उत्पादित कृषि उपजले मूल्य राम्रो नपाउँदा किसानहरुमा किसानहरुमा कृषि पेशमा रमाउन सकेका छैनन्।

लगानीअनुसार प्रतिफल नआउँदा यस्तो अवस्था आउनु स्वभाविक भएको शिवसताक्षी–६ का वडाध्यक्ष मनोज खुलाल बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.