|

सुनसरी : प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयले १२ बूँदे कार्ययोजना सार्वजनिक गरेको छ। सयदिने कार्यक्रमलाई लक्षित गरी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी १२ बूँदे कार्ययोजना सार्वजनिक गरेका हुन्।  

प्रदेश सरकारले सार्वजनिक गरेको कार्य योजनामा मन्त्रालयको सुरक्षा व्यवस्थापन, सामाजिक सुरक्षा स्थापना, कानुन निर्माण, विपद् व्यवस्थापनका विषयमा लक्षित छ। मन्त्री कार्कीले हरेक नागरिकको सुरक्षामा सरकार गम्भीर रहेकोले प्रदेशभित्रका करिब ११ लाख घरमा सुरक्षा सम्पर्कका लागि स्टीकर टाँस्ने काम एक महिनाभित्रमा सम्पन्न गर्ने मन्त्रालयको कार्ययोजना रहेको पत्रकार सम्मेलनमा जानकारी दिए। 

सुरक्षा सम्पर्क स्टीकरमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयदेखि गाउँस्तरको प्रहरी इकाईसम्मको सम्पर्क रहने उनले बताए। यसैगरी नेपाल प्रहरीलाई प्रविधि र साधनयुक्त बनाएर हरेक नागरिकको सुरक्षा प्रदेश सरकारको जिम्मेवारीभित्र रहेको भन्ने अनुभूति दिलाउने मन्त्री कार्कीले बताए। 

कार्ययोजना अनुसार प्रविधियुक्त सुरक्षा निगरानी, मुख्य शहर, बैंक तथा वित्तीय संस्था, सुनचाँदी व्यवसायमा सिसिटीभी जडान गरिने छ। यसैगरी हरेक इलाका प्रहरी कार्यलयमा नागरिक सहायता कक्ष स्थापना गरी नागरिक सहयोगीको रूपमा प्रहरी सेवा प्रदान गरिने उल्लेख छ। 

अपराध नियन्त्रणका लागि जनतासँग प्रहरी साझेदारी कार्यक्रम अगाडि बढाइने भएको छ। यसैगरी साना तथा ठूला हतियार नियन्त्रणका कामलाई तीव्रता दिदैं सशस्त्र गतिविधि, धाकधम्की र गुण्डागर्दी निस्तेज गर्ने कार्यक्रम समेत कार्ययोजनामा समेटिएको छ। प्रदेश भित्रका हरेक पर्यटकीय क्षेत्रमा पर्यटक पुग्दा सहजीकरण गर्न ‘सुरक्षित प्रदेश पर्यटन आधार’ कार्यक्रमअन्तर्गत सुचना केन्द्र र सहयोगीको व्यवस्था मिलाइने भएको छ। 

विपद्को समयमा आवश्यक सामग्री भण्डारका लागि प्रादेशिक गोदाम घरको सञ्चालनमा ल्याउने गृहकार्यको सुरुवात तथा विपद् पूर्व सूचना प्रणालीलाई सुदृढीकरण र विस्तार गर्ने कार्यक्रम कार्ययोजनामा समेटिएको छ। सुरक्षित यात्राको लागि सडक सुशासनअन्तर्गत ट्राफिक सचेतना, ट्राफिक नियमको पालनामा कडाई गरिने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजानिक गरेको कार्ययोजनामा समेटिएको छ।

लागूऔषध दुव्र्यसनी, महिला हिंसा, चेलिबेटी बेचबिखन तथा मानव तस्करी नियन्त्रण, छुवाछुतविरुद्ध निरोधात्मक र प्रबद्र्धनात्मक विशेष अभियान सञ्चालन गरिने भएको छ। यसका लागि सामाजिक क्षेत्रमा क्रियाशील रहँदै आएका संघ तथा संस्था, सामुदायिक तथा निजी विद्यालयका विद्यार्थी, क्लवमा आवद्ध रहेका युवालाई परिचालन गर्ने कार्यक्रम रहेको मन्त्रालयका सचिव यज्ञबहादुर खत्रीले जानकारी दिए।

गम्भीर र विशेष प्रकृतिको अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन विशेषज्ञ जनशक्तिसँगै प्रविधि प्रयोगमा जोड दिनका लागि व्यस्थापन मिलाउने काम तत्काल थालिने कार्ययोजनामा छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.