|

पोखरा : ११ चैतदेखि पोखरामा हुने बैंकिङ एक्स्पोको तयारी पूरा भएको छ। नेपाल राष्ट्र बैंकको प्रवद्र्धन एवं मिडिया इन्टरनेसनलको आयोजनामा आइतबारदेखि दुई दिनसम्म चल्ने बैंकिङ एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।

बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा नेपाल राष्ट्र बैंक, पोखरा शाखाका कामु निर्देशक तिलबहादुर गुरुङले प्रदेश–४ को मुख्य केन्द्र पोखरामा सबै क्षेत्रका मानिस केन्द्रीकृत हुने हुनाले वित्तीय चेतनासम्बन्धी कार्यक्रमहरु पोखरामा आयोजना हुनु राम्रो भएको बताए।

‘पोखरा प्रदेश–४ को प्रदेशमुकाम र सहर भए पनि यहाँ वित्तीय चेतना धेरै आवश्यक छ,’ पत्रकार सम्मेलनमा कामु निर्देशक गुरुङले भने, ‘यस क्षेत्रका धेरै मान्छे अझै पनि बैंकिङ पहुँचबाहिर छन्, ती मान्छेलाई यो एक्स्पोले वित्तीय चेतनाबारे बुझाउन सक्छ भन्ने मैले विश्वास लिएको छु।’

डेभलपमेन्ट बैंकर्स एसोसिएसनका वरिष्ठ उपाध्यक्ष एवं गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द ढकालले मुलुकमा ४० प्रतिशत मात्रै जनता बैंकिङ पहुँचमा रहेको भन्दै वित्तीय चेतना फैलाउने यस्ता कार्यक्रमहरु मुलुकका विभिन्न ठाउँहरुमा आयोजना गर्नुपर्ने बताए। मिडिया इन्टरनेसनले वित्तीय चेतना अभिवृद्धिका लागि खेलेको भूमिकाको प्रशंसा गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले वित्तीय चेतना बढाउने कार्यक्रममा सधैँ सहकार्य गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

आयोजक संस्था मिडिया इन्टरनेसनलका अध्यक्ष एवं वित्तीय जागरण राष्ट्रिय अभियानका संयोजक माधव निर्दोषले प्रदेश–४ को बैंकिङ हवको रुपमा रहेकाले पोखरामा एक्स्पो आयोजना गर्न लागिएको बताए।

प्रदेश नम्बर ४ नागरिकलाई लक्षित गरी एक्स्पो आयोजना गरिएको जानकारी दिदै संयोजक निर्दोषले भने, ‘अहिले हामीले उच्च शिक्षा अध्ययनरत विद्यार्थीलाई लक्षित गरेका छौँ, ती विद्यार्थीलाई वित्तीय चेतना बुझाउन सके उनीहरुले नै आफ्ना अविभावकलाई बुझाउँछन्।’

पत्रकार सम्मेलनमा डेभलपमेन्ट बैंकर्स एसोसिएसनका सचिव एवं गण्डकी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापा, ओम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी, पोखरा फाइनान्सका सिइओ राजकुमार गुरुङ साथै विभिन्न बैंक वित्तका शाखा प्रबन्धकहरुको उपस्थिति थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.