|

पर्वत : संसारकै सबैभन्दा गहिरो म्याग्दीको अन्धगल्छी भौतिक संरचनाको निर्माणका कारण कुरुप बन्दै गएको छ। म्याग्दीको उत्तरी क्षेत्र अन्नपूर्ण गाउँपालिका–३ दानामा कालिगण्डकी नदीले बनाएको गल्छी बेनी–जोमसोम–कोरला सडक आयोजनाको स्तरोन्नतिका कारण कुरुप बनेको हो। 

सडकको स्तरोन्नति गर्ने क्रममा गल्छीको मुख्य आर्कषक भाग मानिएको भाग झण्डै आधाजसो पुरिएको छ। आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुने बेलामा दानाको काभ्रेमा सडक विस्तार गर्दा ठूला ढुंगा गल्छीमा खसाल्ने गरिएको छ। उत्तर–दक्षिण अन्तरदेशीय व्यापारिक महत्व तथा प्रदेश ४ कै जीवनरेखा मानिएको सडकखण्डमा दुईवटा प्याकेजका काम गरिरहेको शर्मा गजुरमुखी जेभीका मजदुरहरुले सडकबाट गल्छीमा ढुंगा माटो खसाल्ने गरेका कारण गल्छीको अस्तित्व नै संकटमा परेको स्थानीयको भनाइ छ।

वडा सदस्य हस्तबहादुर पुनले अन्धगल्छीको अस्तित्व नै धरापमा पार्न लागिएको बताउँदै भने , ‘गल्छी हेर्न गएका पर्यटक निरास भएर फर्कछन्। सडकले गल्छी नै संकटमा परेको कसैलाई मतलव नै छैन। पुनका अनुसार अन्नपूर्ण पद मार्ग हुँदै मुस्ताङको भ्रमणमा आवतजावत गर्ने आन्तरिक तथा बाह्य पर्यटकहरुले रुप्से झरना र अन्धगल्छीको अवलोकन गर्ने गरेका छन्। 

साँघुरो गल्छी भएकाले अहिले ठूला ढुंगा गल्छीमा खसाउँदा ती ढुंगाहरु बर्खाको बाढीलेसमेत बगाउन नसक्ने र ढुंगा बग्ने ठाउँसमेत नभएका कारण गल्छी बाटो निर्माणका कारणले धरापमा परेको पनि वडा सदस्यले पुनले बताए।स्थानीयबासीले सीमित सरकारी बजेटमा लामो समयसम्म जनश्रमदान गरी रुप्से झरनाबाट अन्धगल्छीसम्म पुग्ने पूर्वाधार, प्रतिक्षालय, पदमार्ग बनाएपनि बजेट अभावमा त्यो समेत मर्मत हुन सकेको छैन। 

धौलागिरी पर्यटन परिषद्का अध्यक्ष अमर बानियाँले गल्छी नै संकटमा परेपछि सबैको चासो पुग्नुपर्ने बताए। बानियाँ भन्छन्, ‘रुप्से झरना र अन्धगल्छी विश्वकै नमुना पर्यटकीय गन्तब्य बनाउनुपर्नेमा जलविद्युत आयोजना बनाउने र सडक विस्तार गदैं गल्छीको नाश गर्न खोजिएको छ।’

यता शर्मा गजुरमुखी जेभीका सुपरभाइजर इन्द्रसिंह शेरचनले सडक विस्तारमा अन्धगल्छीलाई जोगाउने प्रयास भइरहेको दाबी गरे। उनले भने, ‘गल्छी हाम्रो सम्पत्ती हो, मैले मजदुरलाई त्यसमा असर नपर्ने काम गर्न भनेर सम्झाइरहेको छु।’ 

गल्छीको उचाई १३ सय मिटरदेखि २६ सय मिटरसम्म धौलागिरी र अन्नपूर्ण चुचुरोबाट पाँच हजार पाँच सयदेखि ६८ सय मिटर तल पर्छ। विश्वभरबाट गल्छीको खोज तथा अनुसन्धानमा आउनेले अन्धगल्छीलाई संसारकै सुन्दर र लुकेको गल्छीका रूपमा समेत ब्याख्या गर्ने गरेका छन्। छिमेकी देश चीनको तिब्वतबाट मुस्ताङका विभिन्न खोला मिसिएर बग्ने कालिगण्डकीको खोचलाई विश्वमै गहिरो मानिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.