तयारी अगाडि नै हुन्छ भने किन बैशाख ९ कुर्नु : नेता श्रेष्ठ

|

काठमाडौं : नेकपा एमाले र माओवादी केन्द्रले चैतभित्रै पार्टी एकता गर्ने गरी तयारी थालेका छन्। एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जानुअघि नै पार्टी एकताको औपचारिक घोषणा गर्ने तयारी भएको हो। 

यसअघि नेपालमा कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर अप्रिल २२ (बैशाख ९) मा पार्टी एकताको औपचारिक घोषणा गर्ने तयारी थियो। तर सबै तयारी अन्तिम चरणमा पुगेकाले चैतभित्रै एकताको तयारी सुरु गरिएको बताइएको छ। एमाले नेता सुवास नेम्वाङले जति सक्दो चाँडो पार्टी एकता गर्ने गरी तयारी भइरहेको बताए। उनले भने, ‘हामीले बैशाख ९ गते गर्ने भनेर भनेका थिएनौँ। जति सक्दो चाँडो गर्ने भनेर भनेका थियौँ। चैतभित्रमा पार्टी एकता गर्छौं। यसका लागि तयारी तीव्र पारेका छौँ।’

माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले पनि केही दिनभित्रै पार्टी एकता घोषणा हुने बताए। उनले भने, ‘हामी केही दिनभित्रै पार्टी एकताको घोषणा गर्ने तयारीमा छौँ। तयारी अघि नै हुन्छ भने किन बैशाख ९ सम्म पर्खने? यदि चैतभित्र एकता घोषणा भएन भने अप्रिल २२ मा कम्युनिस्ट पार्टीको स्थापना दिवसको दिन कुनै पनि हालतमा एकता घोषणा गर्छौं।’

प्रधानमन्त्री ओलीको भारत भ्रमण चैत २३ गतेदेखि तीन दिनसम्म रहने बताइएको छ। प्रधानमन्त्रीको भारत भ्रमणअघि नै पार्टी एकताको तयारी गरिएको माओवादी केन्द्रका नेता अग्नि सापकोटाले बताए। उनले भने, ‘प्रधानमन्त्रीको भारत भ्रमणअघि नै पार्टी एकता घोषणा गर्ने तयारी गरिरहेका छौँ। सबै तयारी पूरा भए किन बाँकी राख्नु भन्ने हाम्रो अासय हो।’

पार्टी एकताका लागि बनेका दुईवटा कार्यदलले सोमबार प्रतिवेदन बुझाउने सापकोटाले जानकारी दिए। उनले भने, ‘राजनीतिक प्रतिवेदन समितिको बैठक आज बस्दै छ। अर्को सांगठनिक प्रतिवेदन समितिको भोलि बस्छ। यी दुई कार्यदलले भोलिसम्म प्रतिवेदन बुझाइसक्छन्।’  यस्तै, चैत १४ गतेभित्र एकता संयोजन समितिको बैठक बस्ने बताइएको छ। त्यसपछि यी दुई पार्टी आफ्ना सचिवालय समितिको छुट्टाछुट्टै बैठक बस्नेछन्। त्यसपछि तत्काल एकता घोषणा गरिने नेता सापकोटाले बताए। उनले भने, ‘कार्यदलबाट आएको प्रतिवेदनको आधारमा १५ गते दुई पार्टीको आन्तरिक बैठक बस्छ, जसअनुसार हाम्रो पनि १५ गते सचिवालय बैठक बस्दै छ।’ 

राजनीतिक प्रतिवेदनमा पार्टीको भावी नीति, कार्यक्रम, सरकारको प्राथमिकता, कम्युनिस्ट आन्दोलनको पृष्ठभूमि तथा समाजवादी क्रान्तिको बाटोमा कसरी अघि बढ्ने जस्ता विषय समेटिएको बताइएको छ। यस्तै, संगठन तथा विधान मस्यौदा कार्यदलले संगठन निर्माण, पार्टीको विधान तयार पार्ने बताइएको छ।

यो समितिले जनवर्गीय संगठनको निर्माण, व्यवस्थापन, विधान तथा पार्टीको संगठन निर्माणका लागि प्रतिवेदन तयार पार्ने कार्यदलले जनाएको छ। एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राख्ने एमाले–माओवादीले सहमति गरिसकेका छन्। 

यस्तो छ पार्टी संरचनाको तयारी

अहिले नेकपा एमालेको केन्द्रीय समिति २०२ छ। यस्तै, माओवादी केन्द्रको केन्द्रीय समिति २०९ जनाको रहेको छ। एमालेको स्थायी समिति २६ सदस्यीय रहेको छ।

माओवादीको केन्द्रीय कार्यालय सदस्यको संख्या ३४ रहेको छ। यी दुई पार्टीको समितिलाई मिलाएर एकीकृत पार्टीको स्थायी समिति ३५ सदस्यीय बनाउने गरी तयारी भएको कार्यदलका एक सदस्यले बताए। एकतापछि यो समितिलाई कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती रहेको माअोवादीका एक नेताले बताए। 

संगठन तथा विधान मस्यौदा समितिले अब बन्ने एकीकृत पार्टीको केन्द्रीय कार्यसमिति ३०० देखि ३५० सम्मको रहने प्रस्ताव अघि सारेको बताइएको छ। अहिले नै यति नै हो भन्ने निश्चित नभइसकेको माओवादी नेता सापकोटाले बताए। उनले थाहाखबरसँग भने, ‘कार्यदलले प्रतिवेदन त बुझाएको छैन तर अनुमानित केन्द्रीय समिति ३०० देखि ३५० सम्म रहने गरी छलफल भइरहेको छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.