|

डडेल्धुरा : प्रदेश ७ का भौतिक पूर्वाधार तथा योजनामन्त्री पठानसिंह बोहराले प्रदेश सरकारले जनतालाई लाभान्वित हुने योजना निर्माण गरिरहेको बताएका छन्।मंगलबार प्रेस चौतारी डडेल्धुरा शाखाले सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बाेहराले जनतासँग प्रत्यक्ष सराेकार राख्ने, लाभान्वित हुने र सर्वसाधारणकाे जीवनस्तर उकास्ने खालका योजना बनाइरहेको बताए।

मन्त्री बाेहराले प्रदेश ७ का अधिकांश जिल्लाका दूरदराजमा अझै पनि खानेपानीको समस्या रहेको जानकारी दिए। यस्ता सबैखाले समस्याकाे समाधानका लागि प्रदेश सरकारले विशेष योजना बनाएर अघि बढ्ने उनले बताए। ‘खानेपानीको समस्या छ। गाउँवस्तीहरूमा अहिले पनि पानी बोकेर खानुपर्ने अवस्था छ’, उनले भने, ‘अब ती समस्याहरूलाई कसरी समाधान गर्न सकिन्छ, त्यसबारेमा हामी योजना बनाएर समाधान गर्नतिर लाग्छौँ।’

मन्त्री भएपछि पहिलो पटक गृहजिल्ला पुगेका मन्त्री बोहराले पर्यटकीयस्थलसम्म पुग्नका लागि सडक निर्णय गर्ने बताए। विकास निर्माणका कार्यहरू हाम्रा हुन् भन्ने भावना सबैमा जागृत भए मात्रै विकास र समृिद्ध सम्भव हुने उनको भनाइ थियो। पश्चिम सेती परियोजनाको कामलाई अगाडि बढाउनका लागि नेपाल सरकारलाई आग्रह गर्ने मन्त्री बोहराले बताए।

प्रदेश राजधानी र प्रदेशको नामकरणबारे पत्रकारको जिज्ञासामा मन्त्री बोहराले यसका बारेमा कुनै किसिमको छलफल नभएको र केही दिनमै यसबारेमा पनि छलफल सुरु हुने बताए। दुई महिना भइसक्दा पनि मन्त्रालयमा सचिवहरू नआउनु दुःखद भएको उनको भनाइ छ।

‘दुइ दुई महिनासम्म पनि मन्त्रालयमा सचिव नआउनु भनेको राम्रो कुरा होइन', मन्त्री बोहराले भने, ‘पदवाहाली भएको दोस्रो दिनदेखि सचिव पठाउन आग्रह गरे पनि प्रदेशमा सचिव आएनन्। अब केही दिनमा आउने कुरा भएको छ।’ सचिव नहुँदा नीतिगत निर्णय गर्नको लागि समस्या भइरहेको उनको भनाइ छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.