|

बेइजिङ : उत्तर कोरियाली नेता किम वा कुनै उच्च सरकारी अधिकारी चीन भ्रमणका क्रममा बेइजिङ पुगेको भन्ने बारेमा आएको समाचारलाई विदेश मन्त्रालयका प्रवक्ता हुवा च्युनिङले हल्ला भएको बताएका छन्।

उनले भने, ‘यदि त्यस्तो भ्रमणको समाचार भएको भए हामीले औपचारिक रूपमै विज्ञप्ति प्रकाशन गरेर जानकारी दिइसक्ने थियौँ, त्यस्तो केही होइन र यसबारेमा मलाई केही थाहा पनि छैन।’ यस विषयमा कुनै सूचना प्राप्त भएमा त्यसलाई सार्वजनिक गरिने उनले दाबी गरे। यद्यपl चिनियाँ विभिन्न सूत्रले किम भ्रमणमा आएको पुष्टि गरेका छन्।

जापानी सञ्चारमाध्यमले उत्तर कोरियाली नेता किम जोङ उन रेलबाट चीन आएको समाचार सम्प्रेषण गरेका छन्। ब्लुमबर्गले तीनवटा अज्ञात सूत्रले जानकारी दिएको बताउँदै यो खबर उल्लेख गरेको छ।

सन् २०११ मा उत्तर कोरियाली नेताको जिम्मेवारी सम्हालेपछि उनको यो पहिलो विदेश यात्रा भएको मानिएको छ। आगामी मे महिनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट हुनुपूर्व उनले चीनको यात्रा गरेको अनुमान गरिएको छ।

निपोन समाचार सञ्जालको एउटा फुटेजमा हरियो रंगको रेल बेइजिङ आइपुगेको देखाइएको छ। वर्तमान नेता किमका पिता सन् २०११ मा चीनयात्रामा आएको जस्तै रेल देखाइएको छ। उत्तर कोरियाली नेताहरूले सुरक्षाको कारण देखाउँदै रेलबाट यात्रा गर्ने गरेका छन्। हाल उत्तर कोरियाको सबैभन्दा नजिकको मित्र चीन नै हो।

चिनियाँ सामाजिक सञ्जालमा पनि यो सूचना आएको छ। तान्ताङका बासिन्दाले त्यहाँको रेल स्टेशनमा सुरक्षा व्यवस्था निकै कडा बनाइएको जानकारी दिएका छन्। उत्तर कोरियाली नेता यो बाटो हुँदै गएकाले यसले पुष्टि हुने उनीहरूको भनाइ छ। सोमबार मध्याह्नमा बेइजिङमा पूर्वी भागदेखि पश्चिमी क्षेत्रसम्म सुरक्षाकर्मीको बाक्लो तैनाथी देखिन्थ्यो। कुनै कुनै घरमा पस्न पनि रोक लगाइएको थियो।

चिनियाँ प्रहरीले थ्यानमन (तियानमन) स्क्वायरबाट सबै पर्यटकलाई हटाएको छ। ग्रेट हल अफ दि पीपलमा चीनका वरिष्ठ नेताहरूले विदेशका राष्ट्र प्रमुख वा सरकार प्रमुखलाई महत्वपूर्ण भेट गर्दा मात्रै त्यहाँबाट पर्यटकलाई हटाउने गरिएको छ। सोमबार साँझ ग्रेट हलको बाहिर सयौं सुरक्षाकर्मी देखिन्थे।

रोयटर्सले पनि सोमबार साँझ कुनै विदेशी नेता स्टेट गेस्ट हाउसतर्फ गएको उल्लेख गरेको छ। त्यस बेला कालो सिसा भएको लिमोजिन गाडीमा उनी गएको उल्लेख गरेको छ। उक्त गाडीलाई प्रहरीले स्कर्टिङ गरेको बताइएको छ। चिनियाँ सैन्य सूत्रले पनि किम जोङ उन बेइजिङ आएको कुरा अस्वीकार गर्न नसकिए पनि पुष्टि गर्न पनि नसकिने बताएको रोयटर्सले दाबी गरेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.