|

ललितपुर : पछिल्लो समय ललितपुरमा शृंखलाबद्ध बलात्कारका घटना सार्वजनिक हुँदै आएका छन्। अधिकांश घटनामा बालिका नै पीडित भएका छन्। सातदोबाटो प्रहरी वृत्तका डीएसपी विनोद सिलवालका अनुसार चैतमा मात्रै चार वटा करणीको जाहेरी दर्ता भएका छन्। उनले भने, ‘बालिका करणी गर्न खोजिएको घटना धेरै छन्।’ उनका अनुसार यस वर्ष सातदोबाटो वृत्तमा मात्रै सात वटा बलात्कारका घटना दर्ता भएका छन्।

चैतमा नै चार वटा बलात्कारका जाहेरी परेका छन्। तीमध्ये तीन घटनामा बालिका पीडित छन्। चैत ६ गते बागमती गाउँपालिका–४, प्युटारकी सात वर्षीया बालिकालाई आफ्नै नाता पर्ने कृष्ण बमजनले करणी गर्न खोजेको आरोपमा पक्राउ गरी अदालतबाट थुना म्याद थपेर चापागाउँ प्रहरी वृत्तले अनुसन्धान गरिरहेको छ। घटनालगत्तै फरार बमजनलाई प्रहरीले मकवानपुरबाट समातेर ल्याएको थियो। चापागाउँ वृत्तका डीएसपी रवीन्द्र रेग्मीले उनीमाथि अनुसन्धान अघि बढेको जानकारी दिए।

रेग्मीका अनुसार सुनाकोठीमा सात वर्षीया बालिकालाई ज्यामी काम गर्ने तराई मूलका एक व्यक्तिले फागुन अन्तिममा बलात्कार प्रयास गरेका थिए। चापागाउँ वृत्तको रेकर्डअनुसार गोदावरीमा ११ वर्षकी र शंखुमा १३ वर्षकी बालिका बलात्कारमा परेका छन्। ‘कतिपय आरोपीमाथि अनुसन्धान चलिरहेको छ त कुनै पीडक जेल चलान भइसकेका छन्’, रेग्मीले भने।

उनका अनुसार ‘बेइज्जत हुने’ भन्दै कतिपय घटना आपसमा मिलाउने गरिएको छ। घटना बाहिर सार्वजनिक भइसकेपछि मात्रै प्रहरीकहाँ पुग्ने प्रवृत्ति देखिएको उनले बताए। खासगरी बढी उमेर समूहका बालात्कारका घटना लुकाउन पीडक र पीडितबीच मिलेमतो हुने गरेको छ। ‘करणीको मुद्दामा धेरैजसो बालिका पीडित भएको देखिएको छ’, उनको भनाइ थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.