|

बिर्तामोड : झापाका नागरिक अगुवाले आइतबारदेखि सवारी दुर्घटना न्यूनीकरण महाअभियान सुरु गरेका छन्। महाअभियानअन्तर्गत असोज २ गतेलाई यसै वर्षबाट दुर्घटनारहित राष्ट्रिय दिवस मनाउन थालिएको हो। 

देशमा दुर्घटनाका साथै मानिसको मृत्युको दर पनि बढ्दै गएपछि नागरिक अगुवाहरु असोज २ लाई देशव्यापी रुपमा दुर्घटनारहित राष्ट्रिय दिवस मनाउने लक्ष्यका साथ महाअभियानमा जुटेका हुन्। बिर्तामोडको पश्चिम बस बिसौनीमा भएको मूल समारोहमा झापाका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले महाअभियान अन्तर्गत दुर्घटनारहित राष्ट्रिय दिवसको शुभारम्भ गर्दै यात्रु तथा बसका चालकलाई खादा र अविर पहिर्‍याएर सम्मान गरे। उनले राम्रोसँग सवारी चलाएको भन्दै चालकको प्रशंसा गर्नुका साथै आगामी दिनमा अझ राम्रोसँग सवारी चलाउन प्रजिअ भुजेलले आग्रह गरे। 

महाअभियानका मूल आयोजक समितिका संयोजक बस्नेतले महाअभियानमार्फत सवारीसाधनका चालकलाई जिम्मेवार बनाउँदै राम्रोसँग सवारी साधन चलाउनका प्रेरित गरिएको बताए। सबै चालक, यातायात मजदुर र व्यवसायीले विश्वकर्मा बाबालाई आस्थाको केन्द्र मान्ने भएकोले असोज १ गते विश्वकर्मा बाबाको पूजाको भोलिपल्टै २ गतेको दिनलाई दुर्घटनारहित राष्ट्रिय दिवसको रुपमा मनाउन लागिएको समितिका सह-संयोजक मदन गोपाल सुब्बाले बताए। ‘विश्वकर्मा बाबाको आस्थासँग चालकहरुलाई नजिक गराएर यस्तो अभियान चलाउँदा अझ प्रभावकारी हुने हाम्रो ठहर छ’, सह-संयोजक सुब्बाले भने। 

महाअभियान अन्तर्गत ५ सय सार्वजनिक सवारी साधनका चालकलाई खादा र अविर पहिर्‍यार सम्मान गर्दै अझ जिम्मेवार बन्न आग्रह गरिएको, सवारीसाधनमा चेतनामूलक स्टीकर टाँसिएको र पर्चा वितरण गरिएको महाअभियानका महासचिव एकराज गिरीले जानकारी दिए। 

महाअभियान उद्घाटन समारोहमा उपस्थित मेचीका प्रहरी प्रमुख एसएसपी केदार रिजाल, झापाका प्रहरी प्रमुख सैलेश थापा क्षेत्री, नेपाल यातायात व्यवसायी महासंघका सल्लाहकार श्रीप्रसाद मैनाली, मेचीका अध्यक्ष राजेन्द्र रिजाल, बिर्तामोडका डीएसपी खड्कबहादुर खत्री, झापाका ट्राफिक प्रहरी प्रमुख डुण्डीराज गिरी, लोकबन्धु कन्दङ्वा, टङ्क कटुवाल लगायतले सामाजिक संघ–संस्था र नागरिक अगुवाको पहलमा भएको अभियान अनुकरणीय भएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.