|
तस्विर–अन्नपूर्ण पोस्ट

गौर : खानेपानीमन्त्री बिना मगरले बुधबार रौतहटको मौलापुर नगरपालिकालाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिन्। तर सोही नगरपालिकाका सबै घरमा शौचालय भने छैनन्। नगर क्षेत्रका सडक किनार, सार्वजनिक स्थल तथा खेतमा जथाभावी शौच गरिएको भेटिएको छ।

शौचालय निर्माणका लागि दिइएका सामग्री घर वरपर अलपत्र अवस्थामा भेटिएका छन्। बुधबार खुला दिसामुक्त क्षेत्र घोषणा गर्न छनोट कार्यक्रमस्थल वरपर खुला रूपमा गरिएको दिसाले दुर्गन्ध फैलाएको थियो। कतिपय सहभागी शौच कुल्चिएरै कार्यक्रमस्थल पुग्न बाध्य थिए।

जिल्लामा हालसम्म ९१ प्रतिशतभन्दा बढी घरमा शौचालय बनिसकेको कागजी तथ्यांक भए पनि गाउँको वास्तविकता भने फरक छ। घोषणा कार्यक्रमका लागि संस्थाहरूले लाखौं खर्च गर्दै आएका छन्। विगतका वर्षमा अभियान सञ्चालन, अनुदान रकम तथा धेरै स्थानीय निकायले गरेको खर्चको लेखाजोखा नै छैन।

घोषणापछि बस्ती अनुगमन गर्नुपर्ने प्रावधान भए पनि संस्थाहरूले अनुगमन नगर्दा निमार्णाधीन शौचालय अलपत्र अवस्थामा छन्। एक लाख तीन हजार घर रहेको रौतहटमा ९४ हजार पाँच सय शौचालय बनिसकेको तथ्यांक छ। सबै वडामा ८० प्रतिशतभन्दा बढी नै शौचालय निर्माण भएको जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय रौतहटले जानकारी दिएको छ।

गैरसरकारी संस्थाहरूले खुला दिसामुक्त क्षेत्र बनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आए पनि प्रभावकारी देखिएको छैन। साविकका ८४ गाविसमध्ये ४८ लाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ। १६ नगरपालिकामध्ये मौलापुर नगरपालिका खुला दिसामुक्त भइसकेको छ। बाँकी नगर र गाउँपलिकाका एक सय ५९ वडामध्ये ८० वटा मात्रै खुला दिसामुक्त घोषणा भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.