|

धनुषा : एशियाली विकास बैंकको ऋण सहयोगमा जनकपुरधाममा सञ्चालित एकीकृत सहरी विकास परियोजनाअन्तर्गत सडक विस्तारका क्रममा नगर क्षेत्रका घरहरू धमाधम भत्काउन थालिएको छ। जनकपुर उप महानगरपालिकाले घर भत्काउन सूचना टाँस गरेको महिनौँसम्म अटेरी गरेपछि शनिबार डोजर लगाएर भत्काउन थालेको हो। अहिले घरधनीहरू धमाधम आफै घर भत्काउन थालेका छन्। 

जनकपुरधामको मुख्य बजार क्षेत्र मानिएको शिव चोकदेखि भानुचोकसम्मको सडकलाई परियोजनाअन्तर्गत फराकिलो बनाएर सडकलाई खनेर नाला निर्माण र सडक पिच गर्ने काम गरिने भएको छ। 

शिवचोकदेखि भानुचोक साम्मकाे सडक १६ मिटर चौडाई बनाउनुपर्नेमा १२ मिटर कालोपत्रे र दुवै साइडमा दुई/दुई मिटर गरी फुटपाथ बनाउने निर्णय भएपनि सोही अनुसार सडक फराकिलो नबनाई पाइप ओछयाउने काम सुरु गरिएको छ। सो सडक हाल १३ मिटर चौडाई मात्र रहेको छ। हाल नाला निर्माणका लागि पाइप ओछयाउने काम सुरु गरिएको छ। १६ मिटरअन्तर्गत पर्ने दुवै तर्फका घरलाई भत्काउने कार्य भइरहेको  जनकपुर उप महानगरपालिकाका उपमेयर रीता मिश्रले बताइन्।

एशियाली विकास बैंकको झण्डै १ अर्ब ऋण तथा जनकपुर उप–महानगरपालिकाको संयुक्त लगानीमा सञ्चालित एकीकृत शहरी विकास आयोजनाको निर्माण कार्य सुरु भएको झण्डै २ वर्ष भन्दा बढी समय बितिसकेको छ। सन् २०१८ फेब्रुअरी महिनाभित्र ३२ किलोमिटर नाला र ९ किलोमिटर भन्दा बढी कालोपत्रे सडक निर्माण गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ।

जनकपुरको विभिन्न स्थानमा ठेकदारले नाला तथा सडक निर्माणको क्रममा खनेको बाटो अहिले पनि जथाभावी छाडिदिएका कारण चैत बैशाखको घाम तथा हावाहुरीले सर्वसाधारणलाई हिडडुलमा समेत समस्या हुने गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.