|

  • तिलाचन पाण्डे-

गुल्मी : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कुनै वहानामा ढिलासुस्ती र भ्रष्टाचार राज्यका लागि स्वीकार्य नहुने बताएका छन्। नेपाल पत्रकार महासंघ गुल्मीले शुक्रबार तम्घासमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा ज्ञवालीले मुलुक अब नयाँ युगमा प्रवेश गरेकाले राज्यमा कुनै ढिलासुस्ती र भ्रष्टाचार कसैले गरेमा राज्यले त्यसलाई नछाड्ने बताए।

देशमा तीब्र गतिमा विकास नहुनुमा ढिलासुस्ती, भ्रष्टाचार, स्थायी सरकार नहुनु भएको र विकृति मौलाएको बताए। मन्त्री ज्ञवालीले देश नयाँ युगमा प्रवेश गरेकाले अब बाह्य हस्तक्षेप र अान्तरिक मामिलामा कुनै देशको हस्तक्षेप स्वीकार्य नरहेको बताए। आन्तरिक मामिला सुल्झाउन नेपाल सक्षम रहेको बताउँदै मन्त्री ज्ञवालीले भने, ‘अब त्यसका निम्ति स्थायी सरकार बनेको हो।’ नेपालले सबै मित्र राष्ट्रहरूसँग मित्रतालाई कायम राख्दै नेपालको हितलाई प्रथमिकतामा राखेर परराष्ट्र नीति अवलम्बन गर्ने उनले बताए। 

ज्ञवालीले नेपालले अन्य राष्ट्रहरूसँग विकासमा साझेदारी गर्न चाहेको र सोहीअनुसार अगाडि बढ्ने बताए। पछिल्लो अवस्थामा मित्रराष्ट्रहरू नयाँ सरकारसँग हातेमालो गर्न चाहेकाले ढिलै भए पनि भारतले नेपालबाट पाठ सिकेको उनको भनाइ थियो। प्रधानमन्त्रीको भारत भ्रमणमा कुनै पनि सम्झौता नहुने र सद्भावको भ्रमण हुने ज्ञवालीले बताए। मन्त्री ज्ञवालीले निर्वाचनको बेला जनतासँग गरिएका चुनावी प्रतिबद्धताहरू पूरा गरेरै छोडिने वर्तमान सरकारको संकल्प रहेको बताए। 

मन्त्री ज्ञवालीलले एमाले र माओवादी केन्द्रको एकता अन्तिम चरणमा पुगेको भन्दै बैशाख ९ गतेसम्ममा पार्टी एकता भएरै छाड्ने पनि दाबी पनि गरे। ज्ञवालीले यो सरकारले राष्ट्रिय एकता, सामाजिक सद्भाव, स्थिरता, शान्ति, तीब्र आर्थिक विकास, लोकतन्त्रलाई सुदृढीकरण गर्नेमा सरकार लागिपरेको बताए। कृषि, पर्यटन र व्यापार प्रवर्द्धन गर्न भन्दै शुक्रबारबाट सुरु हुन लागेको तेस्रो गुल्मी महोत्सवको उद्घाटन गर्न गुल्मी आएका मन्त्री ज्ञवालीले मौसम प्रतिकूलताका कारण महोत्सवको उद्घाटन गर्न भने सकेनन्। 

गुल्मी उद्योग बाणिज्य संघको आयोजनामा चैत २५ गतेसम्म चल्ने महोत्सवको शनिबार मन्त्री ज्ञवालीबाटै उद्घाटन गर्ने कार्यक्रम रहेको संघका महासचिव तारा भुसालले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.