|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड छिमेकी राष्ट्र भारतको ४ दिने राजकीय भ्रमण पूरा गरी आइतबार स्वदेश फिर्ता भएका छन्। स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले भ्रमण सफल भएको दावी गरे।

‘भ्रमणमा धेरै विषयहरु उठान गर्नुभन्दा नेपाल भारतबीचको सम्बन्ध असल नियतका साथ उठाई विश्वासको वातावरण निर्माण गर्ने र नेपालको हित हुने गरी यसअघि सहमतिमा पुगेका परियोजनाहरुको प्रभावकारी र कार्यान्वयनमा जोड दिनु थियो’ प्रधानमन्त्रीले भने, ‘सोही अनुसार नेपाल भारत सम्बन्धका सबै पक्ष र विषयहरुमा सौहार्दपूर्ण, गहन र खुला रुपमा छलफल भएको छ।’

प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा भारतीय समकक्षी नरेन्द्र मोदीसँग भएको सहमति र भ्रमणका उपलब्धिबारे समेत सञ्चारकर्मीलाई स्पष्ट पारे। यस्ता छन्, प्रधानमन्त्रीले सञ्चारकर्मीलाई जानकारी दिएका भारतीय समकक्षी मोदीसँगको १० सहमति र भ्रमणका ३ उपलब्धि।

१. योजनाको समीक्षा र शीघ्र कार्यान्वयन

भारतीय समकक्षी नरेन्द्र मोदीसँगको एक्लाएक्लै र प्रतिनिधिमण्डल स्तरीय भेटमा चालु सीमापार, एकीकृत र रेलवे चेकपोष्ट तथा हुलाकी सडकजस्ता महत्वपूर्ण परियोजनाहरुको प्रगतिहरुको नियमित समीक्षा गरी ठोस उपाय अपनाएर शीघ्र कार्यान्वयनका निम्ति दुबै देश सहमत भएको छ।

२. २०१६ मा परराष्ट्रमन्त्रीस्तरीय बैठक

नेपाल भारत सम्बन्धका सम्पूर्ण विषयहरुमा सन्धी सम्झौताहरुको पुनरावलोकन गर्न र आगामी दिनमा चाल्नुपर्ने कदमका बारेमा निर्णय लिन परराष्ट्रमन्त्रीय स्तरीय संयुक्त बैठक सन् २०१६ मा गर्ने सहमति भएको छ।

३. सहुलियतपूर्ण ऋण उपलब्धता

भारतले हुलाकी राजमार्गको दोस्रो चरणको काम, बुटवल जोड्ने सीमापार, ट्रान्समिटर लाइन, हेटौँडा तथा ढल्केवरमा विद्युतीय शव स्टेशनको निर्माण, कास्कीमा पोलिटेक्निक निर्माणका नयाँ सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ।

४. परामर्शदाताको नियुक्ति

भुकम्पपछिको पुनर्निर्माणका लागि भारत सरकारले घोषणा गरेको सहुलियतपूर्ण ऋण सम्बन्धी सम्झौता र घोषित ऋणको संशोधित सम्झौता र भारत सरकारको सहयोगमा निर्माण हुने हुलाकी सडक पहिलो चरण निर्माणका लागि परामर्शदाता नियुक्त सम्बन्धी सम्झौताहरुमा हस्ताक्षर भई आदानप्रदानका साथै सहमति भएको छ।

५.पीटीए कार्यान्वयनमा एकमत

जलविद्युत दुई देशको साझेदारीको प्रमुख क्षेत्र हुनुपर्ने कुरामा जोड दिँदै यस क्षेत्रमा लगानी तथा सहयोगको अभिवृद्धिको लागि सन् २०१४ मा भएको ऊर्जा ब्यापार सम्झौतालाई आवश्यक उपायहरु अवलम्बन गर्दै कार्यान्वयनमा लैजान दुवै पक्ष सहमत भएको छ।।

६. डीपीआरको अध्ययन र अन्तिम रुप

पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको विस्तृत परियोजना प्रतिवेदन डीपीआरलाई अध्ययन गरी अन्तिम रुप दिन दुवै पक्षबीच सहमति भएको छ।

७. पुनर्निर्माणका लागि उपलब्ध रकमको सदुपयोग

भुकम्पपछिको पुनर्निर्माणका लागि भारतले प्रदान गरेको सहयोगलाई प्रभावकारी रुपमा उपयोग गर्ने विषयमा दुवै देशबीच सहमति भएको छ।

८. खुला सीमा दुरुपयोगमा रोक

नेपाल र भारतबीच सुरक्षा सम्बन्धी समान चासो रहेको सन्दर्भमा दुवै पक्षका सुरक्षा निकायबीच सहयोग तथा समन्वयको विस्तार गरी अवाञ्छित तत्वबाट खुला सीमाको दुरुपयोग हुन नदिने बारेमा सहमति भएको छ।

९. व्यापार तथा पारवहन थप सुदृढ

दुवै मुलुक व्यापार तथा पारवहन व्यवस्था सहज र सुदृढ गर्नका निम्ति थप उपाय अपनाउन दुवै पक्षबीच सहमती बनेको छ।

१०. नेपालको निर्यातमा वृद्धि, निजी क्षेत्रको सहभागितामा जोड

भारतसँगको नेपालको बढ्दो व्यापार घाटा कम गर्न नेपालको निर्यात बढाउने उपायका विषयमा छलफलका साथै सहमति भएको छ। नेपालका औद्योगिकरण तथा व्यापार विस्तारमा भारतको सार्वजनिक तथा निजी क्षेत्रको सहभागिताका लागि जोड दिँदै दुवै देशको निजी क्षेत्रको सहभागितालाई प्राथमिकता दिने सहमति भएको छ।

भ्रमणका क्रममा भारतीय समकक्षी मोदीसँग भएको १० सहमतिबारे प्रकाश पारेपछि पधानमन्त्री प्रचण्डले भ्रमणबाट तीन उपलब्धि हासिल भएको बताए।

१. नाक्पा झाक्री जलविद्युत आयोजनाको अवलोकन

भारतको हिमाञ्चल प्रदेशस्थित नाक्पा झाक्री जलविद्युत आयोजनाको निरीक्षण गरेँ। यस निरीक्षणबाट उच्च पहाडमा निर्मित ठूलो जलविद्युत परियोजनाले स्थानीय विकास र राष्ट्रिय अर्थतन्त्रमा पुर्‍याएको योगदानबारे जानकारी हासिल गर्ने अवसर पाए। मैले यसलाई भ्रमणको उपलब्धिको रुपमा लिएको छु।

२. दुई देशबीच विश्वासको अभिवृद्धि

भ्रमणबाट दुई देशबीच विश्वासको अभिवृद्धि गर्न मद्दत पुगेको छ। समग्रमा यस भ्रमणले नेपाल र भारतकाबीच सदियौँदेखि रहँदै आएको घनिष्ट, मैत्रीपूर्ण एवम् बहुआयमिक सम्बन्धलाई थप सुदृढ गर्न मद्दत पुगेको छ।

३. परियोजना कार्यान्वयनमा टेवा

विगतमा भएका आर्थिक, सामाजिक विकास तथा पूर्वाधार निर्माण सम्बन्धी सहमति तथा सम्झौता लगायत चालु परियोजनाहरुको सफल कार्यान्वयन गर्न एवम् सहयोगको नयाँ क्षेत्रको पहिचान गर्न यस भ्रमणले महत्वपूर्ण योगदान पुगेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.